बाध्यताले प्रहरीको जागिर छोडेर विदेशिएका चन्द्रकुमार रहरले गाउँ फर्किए

 मंसिर १७, २०७५ सोमबार १३:५:५० | मोहन पौडेल

काठमाडौं – नेपाल प्रहरीमा नाम निस्किएपछि चन्द्रकुमारलाई लाग्यो, अब त आफ्नो मात्रै होइन परिवारको पनि समस्याका दिन सकिए । द्वन्द्वका बेला प्रहरीमा नाम निकाल्न जति सजिलो थियो, त्यति नै गाह्रो थियो जागिर खान । 

तर सुरुमा त्यसको अड्कल कसले पो गर्छ र । खोटाङको निर्मलीडाँडाका चन्द्रकुमार राईलाई पनि पछि के हुन्छ भन्ने वास्ता थिएन । नाम निस्कियो, जागिर सुरु भयो । कहिले कता, कहिले कता आक्रमण भएका खबर ।

मारिएका र घाइते भएका कुरा मात्र सुनिरहनुपथ्र्यो । यो स्थितिले चन्द्रलाई धेरै दिनसम्म जागिर खान मन लागेन ।‘ज्यान रहे न अरु कुरा रहन्छ’ भन्ने ठानेर चन्द्रले बाँच्नका लागि प्रहरीको जागिरबाट हात धुनुभयो ।

तीन वर्ष खाएको सरकारी जागिर छोडे पनि चन्द्रकुमारलाई बेरोजगार भएर बस्ने छुट थिएन । कारण ११ जना छोराछोरीमध्येका उहाँ जेठा छोरा । उहाँका ५ जना भाइ र ५ जना नै बहिनी थिए । घरव्यवहार चलाउन भाइबहिनीको भन्दा बढी जिम्मेवारी आफ्नो थियो ।

यही जिम्मेवारीले उहाँ काठमाडौं हानिनुभयो । पहिल्यैदेखि काठमाडौं बस्ने ठूलो बुवाकी छोरी हङ्कङ् गइसकेकी थिइन् । उनले चिनेका व्यक्तिले म्यानपावर चलाउँथे । दिदीले नै उहाँलाई विदेश जाने भए भन्दिछु भनिन् । 

दिदीले भनिदिएपछि चन्द्रकुमार म्यानपावर पुग्नुभयो । यो २०५९ सालको कुरा हो । कमाउनुपर्ने जिम्मेवारीमा रहेका उहाँलाई मलेसियामा फलामको पाइपमा रंग लगाउने काम मिल्यो ।

म्यानपावरलाई ६५ हजार रुपैयाँ तिरेर उडेका चन्द्रलाई ४ सय ८० रिंगिट बेसिक तलबमा ओभरटाइम पनि हुन्छ भनेको थियो म्यानपवारले । म्यानपावरले ढाँटेन । उहाँले राम्रैसँग ओटी (ओभरटाइम) पाउनुभयो । त्यसैले यहाँ भनिएको भन्दा झण्डै चार गुणा बढी १६ सय रिंगिट कमाउनुभयो ।

त्यतिबेला एक रिंगिटको भाउ २२ रुपैयाँ थियो । उहाँले राम्ररी नै कमाइरहनुभएको थियो । तर दुई वर्ष पुगेपछि एपेन्डिक्स भएपछि मलेसियाबाट फर्किनुपर्‍यो । ‘दुई वर्षमा साढे चार लाख रहेछ’ चन्द्रले हिसाब सुनाउनुभयो ।  

उपचार गरेर ९ महिना आराम गरेपछि उहाँ काम गर्न सक्ने गरी ठीक हुनुभयो । अब त केही गर्नुपर्ला भनेर सोचिरहेका चन्द्रलाई खोटाङको पाथेकाकै एक व्यक्तिले इराक जान उक्साए । 

इराक जानेमा अरु पनि थिए । प्रहरी र  सेनाबाट अवकाश पाइसकेका अरु केही पनि सँगै इराक जाने भए । तीन वर्षको भए पनि प्रहरीको अनुभव, अनि साथमा भूपु प्रहरी  र  सेना । यसले चन्द्रकुमारलाई इराक जानु खतरा हो भन्ने लागेन ।

बरु उल्टै आफू सुरक्षित हुन जानिएकै छ भन्ने लागेपछि दलाललाई ३ लाख रुपैयाँ बुझाएर उहाँ इराकका लागि हिँड्नुभयो काठमाडौंबाट । तर पैसा दिइसकेपछि डुबिने हो कि भन्ने चाहिँ डर थियो । 

सरकारले जान रोक लगाएकाले दलालले उहाँसँगै ५२ जनालाई सुनौली नाका हुँदै दिल्ली पु¥याए । काठमाडौंबाट लिएर गएका दलालले सुनौलीमा अर्कै व्यक्तिको जिम्मा लगाए । नचिनेका तिनै व्यक्तिको साथ लागेर उहाँहरु दिल्ली पुग्नुभयो । 

केही दिनमा उडाउँछु भनेपनि ६ महिनासम्म नउडाएपछि ठगियौं भन्ने लाग्यो उनीहरुलाई । आफूलाई लिएर जाने व्यक्तिलाई समाउनु बाहेक अर्को विकल्प थिएन । तर त्यो विकल्प पनि उम्कियो । सुनौलीबाट दिल्ली पु¥याउने व्यक्ति पनि भाग्यो । 

चन्द्रकुमारले काठमाडौंबाट हिँड्दै गर्दा सोचेको जस्तै भयो । उहाँसँगै सबै ठगिए, इराक पुगेर धेरै कमाउने सपनामा । दिल्लीबाट फर्किएर चन्द्रकुमार खोटाङ जान सक्नुभएन । कारण, एकातिर जाँदा लिएको ३ लाख ऋण अनि त्यसमाथि परिवारको जिम्मेवारी ।

त्यतिबेला पनि हङकङमा भएकी उनै दिदीले सहयोग गरिन् । काठमाडौंमै ९ महिना बस्नुभयो । धेरै कमाउने सपना ठगिए पनि कमाउनुपर्ने जिम्मेवारी पूरा भएको थिएन । उहाँले ६ महिना काठमाडौंको गौशालामा रहेको एउटा म्यानपावरमा खट बाँध्ने काम अथवा स्काफोल्डिङको तालिम लिनुभयो । 

त्यसको ३ महिनापछि २०६६ सालमा उहाँ स्काफोल्डिङकै भिसामा दुवई पुग्नुभयो । एक दिर्हामको २४ रुपैयाँ भएको त्यो बेलामा चन्द्रकुमारलाई एकहजार दिर्हाम तलब हुन्छ भनिएको थियो । यहाँ पनि चन्द्रलाई ओभरटाइमले साथ दियो । उहाँले महिनामा १९ सय दिर्हामसम्म कमाउनुभयो । 

त्यो कमाईले उहाँले महिनामा ३० हजार रुपैयाँ बचाउनुहुन्थ्यो । तीन वर्ष बस्दा दिदीबाट लिएको ऋण तिरेर अनि घरमा खर्च पठाएर चन्द्रले ५ लाख रुपैयाँ बचाउनुभयो । 

मलेसियाको दुई वर्ष, इराक जान खोज्दाको ठगी अनि दुवईको तीन वर्षको बसाईपछि भने चन्द्रलाई गाउँ फर्किने रहर जाग्यो । ‘यत्तिको दुःख गर्ने हो भने त गाउँमै पनि त गर्न सकिन्छ नि भन्ने लाग्यो’ चन्द्र भन्नुहुन्छ । 

अलिअलि पैसा कमाएपछि चाहिँ विदेशभन्दा गाउँ नै राम्रो लागेको ? भन्ने प्रश्नमा चन्द्रको उत्तर छ, ‘त्यस्तो पनि होइन । विदेशमा कमाएको पैसा घर चलाउँदा चलाउँदै सकिने रहेछ अनि परिवार चलाउनकै लागि त के विदेशमा दुःख गर्न जस्तो लाग्यो’

चन्द्रकुमारले विदेशको दुःखको विकल्प गाईं भैंसीमा देख्नुभएको थियो । गाई भैंसी नै पाल्ने भन्दै उहाँ २०६९ सालमा घर फर्किनुभयो ।  सुरुमा दुईवटा भैंसी र एउटा राँगो किनेर पाल्नुभयो । अहिले चाहिँ दुईवटा भैंसी, एक हल राँगा अनि एउटा गाई छ ।

अहिले चन्द्रकुमार गाई भैंसीको दूधबाट घ्यू बनाएर बेच्नुहुन्छ । गाउँमै काम गरेर घर चलाउनुभएको छ । 

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया