कुखुराको ‘सेडुअल’ मा चल्ने तारा, श्रीमान् विदेशबाट फर्केपछि आम्दानीसँगै खुशी थपियो

 मंसिर १९, २०७५ बुधबार | मोहन पौडेल

काठमाडौं – घरमा लिपपोत सकेर तारा ढकाल खुकुराको फार्ममा पुग्नुहुन्छ, बिहान ७ नबज्दै । फार्मको एक पटकको सरसफाई सकेर कुखुरालाई चारो हाल्दा साढे ८ बज्छ । यो ताराको चिया पिउने समय हो । 

नवलपरासी कुखुण्डेकी ताराले चिया पिइसक्दा कुखुराका लागि चारो मिलाउने समय हुन्छ । दोस्रो पटक खोर पुगेर केही समय बसेपछि खाना खाने बेला हुन्छ । छोराहरुलाई खाना खुवाएर स्कुल पठाउनुपर्छ । भात सासुले पकाउनुहुन्छ, तर छोराहरुलाई तयार पारेर पठाउने स्कुल काम ताराकै हो । 

छोराहरुलाई स्कुल पठाएर ११ बजे फेरि फार्म पुग्नुहुन्छ । त्यतिबेला कुखुरालाई दाना हाल्ने भाँडो उचाल्ने समय हुन्छ । ११ बजे कट्यो भने कुखुराले दाना धेरै खाइदिन्छ । धेरै दाना खाँदा अड्कियो भने कुखुराले पानी खान जान सक्दैन अनि मर्छ । 

दिउँसो भैंसीलाई कुँडो खुवाउन फेरि एकपटक घर पुग्नुपर्छ । परिवारका सदस्यसँगै आफूले पनि त्यतिबेलै खाजा खानुहुन्छ । खाजा खाइसक्दा कुखुरालाई पनि चारो मिलाउने समय भइहाल्छ । त्यसैले तारा घरभन्दा केही पर रहेको कुखुराको खोरमा ओहोरदोहोर गरिरहनुहुन्छ । 

कहिलेकाहीँ त ग्राहक फार्ममै पुग्छन् कुखुरा किन्न । उनीहरुलाई कुखुरा दिनुहुन्छ । कुखुरा पाल्ने हो भने कुखुरालाई मान्छेको सेडुअलमा चलाउने होइन, कुखुराको सेडुअलमा मान्छे चल्नुपर्छ भन्ने कुरा ताराले माइतमा हुँदै थाहा पाउनुभएको थियो ।

तर आफैंले कुखुराको स्याहार गर्नुभएको थिएन । अहिले यिनै कुखुराको स्याहारबाट ताराको दैनिकी मात्रै चलेको छैन, मनग्य आम्दानी पनि भइरहेको छ । 

कसरी सुरु भयो कुखुरा पालन ?

ताराका श्रीमान् कमाउने योजना बनाएर विदेश पुग्नुभएको थियो । उहाँले कमाएर पठाएको पैसा ताराले बचत गरेर राख्नुभएको थियो । श्रीमानको कमाईले केही न केही त गर्नुपर्‍यो भन्ने सोचेर ताराले ६ लाख रुपैयाँ लगानी गरेर कुखुराका लागि खोर बनाउनुभयो । अनि सुरु भयो कुखुरा पालन । 

तर यसका लागि चाहिने जति ज्ञान पुगेन । धेरै कुखुराका चल्ला मर्थे । कुखुरा पालेर पनि हुने रहेछ भन्ने आँट दिन सकेको थिएन कामले । त्यतिनै बेला ससुरा बिरामी पर्नुभयो । घरको कान्छो छोरा समेत रहेका ताराका श्रीमान्लाई ससुराले घरमा बोलाउनुभयो । ताराका श्रीमानलाई ससुराले फेरि विदेश फर्किन दिनुभएन ।

ससुराको निर्णयले ताराको काममा श्रीमानको साथ थपियो । काम गर्ने ज्यान थपिए पनि ज्ञान उस्तै थियो । त्यसैले सुने र सोचे जसरी कमाउन सक्नुभएको थिएन ताराले कुखुराबाट ।

त्यही समयमा गाउँमा वैदेशिक रोजगारीमा गएर फर्किएका र विदेशमा रहेका व्यक्तिका परिवारलाई लक्षित गरी वित्तीय साक्षरता कक्षा सुरु भयो । कक्षामा तारा पनि सहभागी हुनुभयो । कक्षाको बसाईले उहाँलाई कमाई बढाउने काइदा सिकायो । ‘केही कुरा थोरै गर्दैछौं भने त्यसलाई अलिक बढायो भने कमाई बढ्ने रैछ भन्ने कुरा सिकें’ तारा भन्नुहुन्छ । 

कुरा बुझेपछि ताराले अर्को खोर थप्नुभयो । त्यो खोर थप्ने पैसा पहिल्यैको खोरमा पालिएका कुखुराको बिक्री गरेर जम्मा गर्नुभएको थियो ताराले । लगानी बढेपछि आम्दानी पनि बढ्यो । ताराले केही दिन अघिको मात्रै हिसाब सुनाउनुभयो । ‘त्यो पहिलो खोरका कुखुरा बेच्दा ८० हजार हजार रुपैयाँ कमाइ भयो ।’

ताराले सुनाउनुभयो । अहिले त उहाँले खोरमा समय मिलाएर चल्ला हाल्ने गर्नुभएको छ । जसले गर्दा एउटा खोरका कुखुरा बेचेको १५ दिन भित्रमा अर्को खोरका कुरा बेच्नलाई तयार हुन्छन् । 

ताराको दैनिकी यस्तो व्यस्त छ कि एकछिन टुसुक्क बसेर कसैसँग धेरैबेर बोल्न भ्याउनुहुन्न । तर खुशीले गरेको काम भएकाले उहाँलाई दिनभरी बस्न पाइएन भन्ने चाहिँ पटक्कै लाग्दैन । 

आम्दानीका कुरा 

ताराका भनाईमा कुखुराका चल्लाको भाउ सुनको जस्तै हो । कहिले घट्छ, कहिले बढ्छ । किनकी ताराले कहिलेकाहीँ त्यही चल्लालाई एकसय रुपैयाँसम्म हाल्नुभएको छ भने धेरैजसो  ३५ रुपैयाँ गोटामा किन्नुभएको छ । 

३५ रुपैयाँ गोटामा किनेको चल्ला ३५ दिनमा बेच्दा ४ सय रुपैयाँको हुन्छ । चल्लाबाट बेच्ने बेलाको हुँदासम्म त्यसका लागि गरिएको सबै लगानी कटाएर एउटा कुखुराबाट एक सय पचास रुपैयाँसम्म बचत हुने ताराले सुनाउनुभयो । 

त्यही भएर त कुखुरा पाल्न सुरु गर्दा एक पटक ६० हजार रुपैयाँ घाटा व्यहोर्नुभएकी ताराले त्यसपछि अहिलेसम्म घाटा व्यहोर्नु परेको छैन । 

विदेशमा हुँदा कमाई मात्रै, घरमा खुशी समेत 

श्रीमानले विदेश गएर केही भएन भन्नुहुन्न तारा । किनकी उहाँकै कमाईले घडेरी किन्नुभयो  अनि त्यही घडेरीमा कुखुराको खोर बन्यो । तर श्रीमान विदेशमा हुँदाको भन्दा अहिले खुशी भएको पाउनुहुन्छ तारा । ‘उहाँले त त्यो विदेशभन्दा त यही ठीक पनि राम्रो पनि भन्नुहुन्छ’ ताराको अनुहारमा खुशी देखियो ।  

सुरुमा त दुवै जना कुखुराकै लागि खट्नुहुन्थ्यो, तर चारो हालेपछि कुखुराको रेखदेख ताराले मात्रै पनि गर्न सक्न थाल्नुभयो । आफू एक्लैले कुखुराको स्याहार गर्न सक्ने भएपछि ताराकै सल्लाहमा श्रीमानले अटो कुदाउन थाल्नुभयो ।

अटोबाट दिनमा १५ सय रुपैयाँ कमाइ हुन्छ । आइतबार र बुधबार त हाट बजार लाग्ने दिन । त्यसैले ती दिन अरु दिनको भन्दा दोब्बर नै कमाइ हुन्छ । ‘अरु दिन हजारदेखि १५ सय रुपैयाँ हुन्छ भने आइतबार र बुधबार तेलको खर्च कटाएर ३५ सय रुपैयाँसम्म हुन्छ ।’ ताराले भन्नुभयो । 

कुखुराबाट भएको कमाइले उहाँले एउटा सहकारीमा एक लाख रुपैयाँको शेयर पनि हाल्नुभएको छ । त्यहाँबाट ६ महिनामा ११ हजार रुपैयाँ आउँछ । तारालाई अहिले सही समयमा सही निर्णय गरिएछ भन्ने लाग्छ । 
 

मोहन पौडेल

भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेका मोहन पौडेल वैदेशिक रोजगारका विभिन्न पाटामा कलम चलाउनु हुन्छ । उहाँलाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया