कोलम्बो प्रोसेसका श्रम सहचारीको क्षेत्रीय कार्यशाला बैंककमा

 मंसिर १९, २०७५ बुधबार १७:२०:५ | उमाकान्त पाण्डे

युएई – कोलम्बो प्रोसेस सदस्य देशका श्रम सहचारीको क्षेत्रीय कार्यशाला थाइल्याण्डको बैंककमा सम्पन्न भएको छ । श्रम सहचारीको कार्यक्षमता कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा भएको क्षेत्रीय भेलामा कोलम्बो प्रोसेसका १२ देशका ५३ जना प्रतिनिधि सहभागी थिए । 

यही मंसिर १७ र १८ मा भएको भेलामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधीकृत सुरेश सुवेदीको नेतृत्वमा युएई र मलेसियाका लागि नेपाली श्रमसहचारी मोतिराम भुसाल, सनमाया रम्तेल सहभागी हुनुभएको थियो । 

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) को समन्वयमा थाइल्याण्डको श्रम मन्त्रालयले कार्यशाला आयोजना गरेको हो । कार्यशालामा कुटनीतिक सम्बन्ध स्थापना भएका देशसँग श्रम सम्झौता गर्दा कस्ता बिषय समेट्न सकिन्छ भन्ने बिषयसहित अरु विषयमा पनि छलफल भएको युएईका लागि श्रम सहचारी मोतिराम भुसालले जानकारी दिनुभयो । 

आप्रवासी श्रमिकका साझा स्वार्थ र चासो तथा सामूहिक हितका विषयमा ‘कोलम्बो प्रोसेस’मा आबद्ध एसियाका १२ सदस्य राष्ट्रका मन्त्रीस्तरीय भेला कार्तिक २९ र ३० गते काठमाडौंमा भएको थियो । त्यही भेलाले जारी गरेका प्रतिबद्दता कार्यन्वयनका विषयमा प्राविधिक टोलीसहित श्रमसहचारीको क्षेत्रीय भेला गरिएको हो । 

कोलम्बो प्रोसेसमा नेपाल, अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, थाइल्याण्ड र भियतनाम सदस्यका रुपमा र आठ देश पर्यवेक्षकका रूपमा आबद्ध छन् । 
 

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया