मलेसियामा दैनिक एक जना नेपालीको मृत्यु, गैरकानुनी कामदारको शव पठाउन समस्या

 मंसिर २६, २०७५ बुधबार १४:२१:४२ | रासस

काठमाडौं – मलेसियामा प्रत्येक दिन एक नेपालीको ज्यान जाने गरेको एक तथ्याङ्कले देखाएको छ । 

सन् २०१८ मा अहिलेसम्म ३२२ जना नेपाली कामदारको ज्यान गएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । अघिल्लो वर्ष सन् २०१७ मा यो संख्या ३६४ थियो । 

यो वर्ष सबैभन्दा बढी आत्महत्या गरी ४३ जना, सडक दुर्घटनाबाट २५ जना, कडा रोगका कारण ३९ जना र औद्योगिक दुर्घटनाका कारण १७ जनाको मृत्यु भएको मलेसियाका लागि कार्यबहाक राजदूत कुमारराज खरेलले बताउनुभयो । 

सुतिरहेको अवस्था, रक्सी खाएर, आपसी झगडाजस्ता विभिन्न कारणले १९८ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एक जना महिला र बाँकी पुरुष छन् । 

सन् २०१७ मा मृत्यु भएकामध्ये ६५ जनाले आत्महत्या गरेका थिए । कडा रोगका कारण ६३ को मृत्यु भएको थियो भने सडक दुर्घटनामा २७ र औद्योगिक दुर्घटनामा परी १४ को मृत्यु भएको थियो ।

अन्य कारणले मृत्यु हुनेको सङ्ख्या १९५ भएको दूतावासले जनाएको छ । कार्यबहाक राजदूत खरेलका अनुसार क्षयरोग, कलेजोको खराबी, डेङ्गु, मष्तिष्कघात, एपेण्डिसाइटिस, मेनेन्जाइटिसजस्ता रोगका कारण नेपाली कामदारको मृत्यु हुने गरेको छ ।

रेलको ठक्करबाट, बसबाट खसेर, करेन्ट लागेर, हत्या, सुतिरहेको अवस्थामा, छातीको खराबी, अग्लो घरबाट लडेर पनि कामदारको मृत्यु हुने गरेको उहाँले बताउनुभयो । 

मलेसियामा पछिल्लो तथ्याङ्कअनुसार तीन लाख ८३ हजार नेपाली कामदार कार्यरत छन् । प्रवेशाज्ञाको मिति सकिएर लुकेर काम गर्नेको सङ्ख्या एक लाखको हाराहारीमा रहेको अनुमान गरिएको खरेल बताउनुहुन्छ । 

गएको जेठ २ गतेदेखि सरकारले मलेसियाको रोजगारी बन्द गरेको छ । नेपाली कामदारमा आवश्यक सीप, क्षमतासँगै यहाँको वस्तुस्थितिका बारेमा ज्ञान नहुँदा विभिन्न कारणले मृत्यु हुने गरेको कार्यबाहक राजदूत खरेलले बताउनुभयो ।

मलेसियामा रहेका र आउन चाहने कामदारले यहाँको वस्तुस्थिति, कानून, भाषालगायतका विषयमा राम्रो ज्ञान लिनुपर्ने उहाँको सुझाव छ । 

दैनिक २ सय गुनासो आउछ दूतावासमा

उहाँका अनुसार दैनिक २ सय जना कामदारले राजदूतावासमा लिखित र मौखिक गुनासा गर्ने गरेका छन् । अधिकांशले मौखिक रूपमा आफ्ना समस्या राख्ने गरेको उहाँले बताउनुभयो ।

तोकिएको तलब नपाएको, आउँदा तोकिएभन्दा फरक काम गर्नुपरेको, नेपाल फर्किन चाहेकोजस्ता गुनासो गर्ने गरेको उहाँले बताउनुभयो । 

अवैधानिक कामदारको शव पठाउन समस्या

नेपालबाट वास्तविकता नबुझी आउने कामदारले मलेसिया पुगेपछि सोचेजस्तो नहुँदा नेपाल फर्किन चाहने गर्दछन् । नेपाल फर्किन नपाए आत्महत्यासमेत गर्ने गरेको पाइएको छ । 

दूतावासका जनसम्पर्क अधिकृत रवि भट्टका अनुसार कामदारको मृत्युपछि शव पठाउनसमेत समस्या हुने गरेको छ । अवैधानिक रूपमा बसेकाको मृत्यु भएमा उनीहरूको परिवारलाई सम्पर्क गरी शव पठाउने गरेको उहाँले बताउनुभयो ।

वैधानिक रूपमा काम गरिरहेकाको हकमा कम्पनीले शव पठाउन खर्च गर्ने र खर्च अभाव भएकाको हकमा दूतावासले नै अर्थिक सहयोग गर्ने गरेको जनसम्पर्क अधिकृत भट्टले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया