म्यानपावरले भन्ने झुठा कुराबाट यसरी बच्न सकिन्छ

 जेठ ३१, २०७५ बिहिबार १४:८:४९ | मेरो कथा मेरो भोगाई

गजेन्द्र अवस्थी ‘गौरव’/बैतडी, हाल काठमाडौं  

म अहिले नेपाल लाइफ इन्स्योरेन्समा काम गरिरहेको छु । यो काम थालेको एक महिना पनि पुगेको छैन । एक महिना अघि म मलेसियाबाट फर्किएको हुँ । मलेसियामा म तीन वर्ष बसें । सन् २०१४ मा मलेसिया गएको थिएँ । त्यतिबेला विदेश नै जानुपर्ने अवस्था त थिएन । तर मसँगै पढेका साथी अनि आफन्तहरु मलेसिया धेरै थिए । उनीहरुले नै मलाई मलेसियाको एउटा कम्पनीमा ७० हजार कमाई हुन्छ भनेपछि मैले त्यो कम्पनीका बारेमा आफैं पनि बुझें ।

अहिले इन्टरनेटको जमाना छ । नेटमा कम्पनीका बारेमा सर्च गर्‍यो भने सबै कुरा हेर्न पाइन्छ मैले पनि त्यसरी नै हेरें । उनीहरुले भनेका कुरा मिलेपछि म मलेसिया गएँ । 

कम्पनी राम्रो थियो । कमाइ पनि राम्रो भयो । साथीहरु त्यही कम्पनीमा सम्झौता थपेर काम गरिरहेका छन् । तर म चाहिँ अब नेपालमै केही गर्नुपर्छ भन्ने लागेर फर्किएको हुँ । वैदेशिक रोजगारीमा जाने धेरै नेपालीहरुले यहाँ भनेको जस्तो काम र कमाइ भएन भनेर गुनासो गरिरहनुहुन्छ ।

यस्तो गुनासो सुन्दा मलाई यस्ता समस्याबाट आफैं बच्न सकिन्छ जस्तो लाग्छ । त्यसका लागि विदेश जाने तयारी गर्दैदेखि सचेत हुनुपर्छ । म्यानपावर वा त्यसका एजेण्टले कुन कम्पनीमा पठाउन लागेका हुन भनेर बुझ्नुपर्छ । त्यो बुझ्न नेटमा बसेर खोज्न सकिन्छ । धेरै हदसम्म यो आधिकारिक हुन्छ ।

त्यस्तै अर्को उपाय त्यो देशमा साथीभाई वा आफन्त छन भने उनीसँग पनि बुझ्न सकिन्छ । यसरी बुझेर गइयो भने पछि समस्यामा पर्ने सम्भावना कम हुन्छ । 
ठगिनबाट जोगिने अर्को उपाय प्रमाण हो । तपाईंलाई यदी एजेण्ट वा म्यानपावरले सरकारले तोकेको भन्दा धेरै पैसा मागे भने नदिनु सबै भन्दा राम्रो हो ।

तर विदेश जाने सुरमा धेरैले एजेण्ट र म्यानपावरसँग यसका बारेमा कुरा गरेको सुनिँदैन । विदेश पुगेपछि दुःख पाएर आएपछि मात्रै गुनासो गर्नुहुन्छ । तर सरकारले तोकेको भन्दा धेरै पैसा दिएर जानुभयो भनेपनि त्यसको प्रमाण चाहिँ राख्न भुल्नु हुँदैन ।

जसले गर्दा ठगिमा परियो वा समस्या भयो भने त्यसबाट छुटकारा पाउन सकिन्छ ।  त्यसैले विदेश जाने व्यक्ति आफैं जानु अघि नै सचेत हुनुपर्छ । 

1 Comments

  • नरेस बिस्ट बादल

    June 15, 2018, 11:25 a.m.

    जानकारी लागि धन्यवाद

तपाईको प्रतिक्रिया