विदेशबाट फर्किएकाले सीप प्रमाणिकरणमा चासो दिएनन्

 मंसिर २७, २०७५ बिहिबार १७:३७:५२ | उज्यालो सहकर्मी

काठमाडौं – विदेशबाट फर्किएकाहरुको सीप प्रमाणिकरणका लागि सरकारले अह्वान गरेपनि युवाको चासो कम देखिएको छ । सीप प्रमाणिकरणका लागि आह्वान गरेको तीन हप्ता बित्न लाग्दा एक सय जनाको पनि निवेदन नपरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । 

यस विषयमा धेरैले सोधपुछ पनि नगरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताउनुभयो । विदेशमा सिकेको सीपको प्रमाणिकरण हुँदा विदेशबाट फर्किएका युवालाई फाइदा हुने भएपनि युवाले चासो नदिएको भन्दै उहाँले आफूसँग भएको सीप प्रमाणिकरणका लागि निवेदन दिन आग्रह गर्नुभयो । 

‘युवासँग भएको सीपको प्रमाणिकरण गरिदिँदा उनीहरुलाई फाईदा पुगोस्, सिकेको सीपको प्रमाण हुँदा स्वदेश वा विदेशमा काम गर्न सजिलो होस् भनेर सरकारले आह्वान गरेको हो,’ उहाँले भन्नुभयो, ‘तर युवाले यसमा खासै चासो नै देखाएनन, निवेदन नै धेरै परेको छैन ।’

आउँदो पुस ११ गतेसम्म सरकारले तोकेको बिभिन्न ठाउँमा आफूसँग भएको सीप प्रमाणिकरणको लागि निवेदन दिन सकिने छ । 

२० वटा पेशाको सरकारले प्रमाणिकरण गर्दैछ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सीप प्रमाणिकरणको जिम्मा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, राष्ट्रिय सीप परीक्षण समितिलाई दिएको छ ।

समितिले नै फारम संकलन तथा सीप परीक्षण  र प्रमाणिकरण गराउने छ । विदेशबाट सीप सिकेर फर्किएका र सीप परीक्षण गराउन चाहने व्यक्तिले राष्ट्रिय सीप परीक्षण समितिको वेबसाइट तथा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको वेबसाइटबाट फारम डाउनलोड गरेर आउँदो पुस ११ गतेसम्म निवेदन दिन सक्नेछन् ।

समितिबाट यसरी सीप प्रमाणिकरण गराउँदा र फारम भर्दा कुनै पनि शुल्क नलाग्ने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । 

फारम संकलन केन्द्रहरु

विदेशबाट सीप आर्जन गरेर फर्किएका युवाको सीप प्रमाणिकरणका लागि सातै प्रदेशमा केन्द्रहरु तोकिएको छ । प्रदेश १ अन्तर्गत झापामा, दमक टेक्निकल एजुकेशन फाउन्डेशन प्रालि र सुनसरीमा पाथिभरा हिमालयन पोलिक्लिनक प्रालिमा सीप प्रमाणिकरणका लागि निवेदन दिन सकिनेछ । 

प्रदेश २ अन्तर्गत सिरहाको  लहान प्राविधिक शिक्षालयमा, धनुषामा विपी मेमोरियल पोलिटेक्निक इन्स्टिच्युटमा र पर्सामा बीरगंज इन्स्टिच्युटमा अफ टेक्नोलोजी बीरगंजमा निवेदन दिन सकिनेछ । 

त्यसैगरी प्रदेश ३ अन्तर्गत  मकवानपुरमा, नेपाल भारत मैत्री पोलिक्लिनिक इन्स्टिच्युटमा हेटौंडामा, चितवनमा नारायणी पोलिटेक्निक इन्स्टिच्युट भरतपुरमा, भक्तपुरमा राष्ट्रिय सीप परीक्षण समिति सानोठिमीमा र काठमाडौंमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा निवेदन दिन सकिनेछ । 

प्रदेश ४ अन्तर्गत कास्कीमा पोखरा प्राविधिक शिक्षालय फूलबारीमा र बाग्लुङमा धौलागिरी पोलिटेक्निक इन्स्टिच्युट बलेवामा, प्रदेश ५ अन्तर्गत रुपन्देहीमा कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी रामनगरमा, दाङमा राप्ती प्राविधिक शिक्षालय लालमटियामा र  बाँकेमा भेरी प्राविधिक शिक्षालय नेपालगञ्जमा निवेदन दिन सकिनेछ । 

प्रदेश ६ अन्तर्गत सुर्खेतमा घरेलु तथा साना उद्योग विकास समितिको कार्यलयमा र जुम्लामा कर्णाली प्राविधिक शिक्षालय र प्रदेश ७ अन्तर्गत कैलालीमा धनगढी कलेज अफ इन्फरमेशन टेक्नोलोजी प्रालिमा, कन्चनपुरमा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र महेन्द्रनगरमा र डोटीमा सेती प्राविधिक शिक्षालय दिपायलमा निवेदन दिन सकिने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । 

परीक्षण हुने सीपहरु 

सरकारले सीप परीक्षण तह १ का लागि २० वटा पेशाको सीप प्रमाणिकरण गर्ने भएको छ । त्यसमा विल्डिङ पेन्टर, सटरिङ कार्पेन्ट्री, असिस्टेन्ट व्युटिसियन, हाउसकिपिङ क्लिनर, रेफ्रिजेरेसन एण्ड एअर कण्डिसन जुनियर मेकानिक्स, एक्साभेटर अपरेटर, फर्निचर मेकर, स्टोन लेयर मेशन डकर्मी, असिस्टेन्ट वेटर र आर्क वेल्डरको सीप समेटिएको छ । 

त्यसैगरी स्टक्चरल फेब्रिकेटर, जुनियर प्लम्बर, विल्डिङ इलेक्ट्रिसियन, आल्मुनियम फेब्रिकेटर, सेक्युरिटी गार्ड, स्काप फोल्डर, इन्ड्रस्टियल इलेक्ट्रसियन, कमि तेस्रो र टेलरिङ पेशाको सीप प्रमाणिकरण समितिले गर्ने छ । 

फारम बुझाउँदा चाहिने कागजपत्र

नागरिकताको प्रतिलिपि

पासपोर्टको प्रतिलिपि र स्वदेश फर्किंदा अध्यागमनबाट छाप लागेको पाना समेत बुझाउन पर्नेछ । 

वैदेशिक रोजगारीमा गएको प्रमाणित हुने अन्य कागजहरु ।

हालसालै खिचेको पासपोर्ट साइजको फोटोकपी दुई प्रति । 

सरकारले सीप परीक्षण तह १ का लागि २० वटा पेशाको सीप प्रमाणीकरण गर्छ । यो वर्ष एक हजार जनाको सीप परीक्षण हुने सरकारको अनुमान छ । एक हजार जनाभन्दा माथि आवेदन आएमा श्रोतको सुनिश्चितताको पछि मात्रै सीप परीक्षण हुने बोर्डले जनाएको छ ।  


 

तपाईको प्रतिक्रिया