विदेशबाट फर्किएपछि परिवारको साथले मिल्यो बाँच्ने आधार

विदेशमा बिग्रिएर फर्किएको आरोप लाग्छ

 फागुन २४, २०७५ शुक्रबार १०:२५:३७ | सन्जिता देवकोटा

मोरङ – कानेपोखरीकी गायत्रा ओझा विदेशबाट फर्किएको एक हप्ता पनि बितेको थिएन । विदेशमा बिरामी भएर काम नगरी फर्किएको थाहा पाएदेखि घरमा छिमेकी आवतजावत गरिरहन्थे । सबैले हालखबर नै सोध्थे । 

दुःखमा परेर फर्किएका बेला मिलेको साथले पीडा आधा कम भएको थियो गायत्रालाई । उहाँले सोच्नुभएकै थिएन, पीडामा मल्हम लगाउन आएझैं गर्नेहरुले पछाडिबाट छुराले रोप्छन् भनेर ।

‘जस्तो अवस्था भए पनि बुहारी मान्छे, चिया पकाउदै थिएँ, सासुलाई छिमेकी र आफ्नैहरुले विदेश गएर आएकी बुहारीले पकाएको खान्छौ भनेको फ्याट्ट कानमा पर्‍यो,’ अर्काको देशमा तीन महिना अनेकन दुःख सहेर फर्किएकी गायत्रालाई आफ्नैले भनेको सुन्दा अघिपछि कहिले नभएको पीडा भयो । बचनरुपी छुरा त्यति तीखो होला भन्ने कुराको अनुभव उहाँले तीन महिना लेबनानमा बिताउँदा पनि गर्नुभएको थिएन । जुन घर फर्किएपछि सुन्न पर्‍यो । 

‘गाउँलेले यसो भनेपछि सासुले के जवाफ दिनुहोला भनेर एकछिन त फोक्सो फुल्याथ्यो, तर मेरो सासुले उनीहरुलाई मुखभरीको जवाफ दिनुभयो, मेरो बुहारी उही हो, उसले पकाएको नखाएर सधै तिमीहरुले दिन्छौं त भन्दिनुभयो,’ गायत्रा त्यो क्षण सम्झनुहुन्छ । सासुले दिएको जवाफ गायत्राका लागि आँट बन्यो । 

विदेशबाट फर्किएकी बुहारी भन्दै सासुलाई मात्र हैन उहाँका श्रीमानलाई पनि धेरैले धेरैथरि कुरा सुनाए । नराम्रो भने, तर अरुले भनेको र ठानेको नराम्रोले गायत्राको परिवामा नराम्रो भित्रिएन । परिवारको साथ र सहयोगले नै घरेलु काममा लेबनानमा पाएका दुःखलाई भुल्दै अघि बढ्न सजिलो भयो । 

अनि विदेश गएँ

खेतीपाती थिएन । मुन्टो लुकाउने बास भए पनि गाँसको जोहो गर्न सधैंको मुस्किल । गायत्राका श्रीमानले विदेश जाने निधो गरे । तर मिलेन । के कारणले मिलेन थाहा छैन गायत्रालाई । तर पटक पटक प्रयास गर्दा पनि विदेशको मेसो मिलेन ।

घरमा आम्दानीको स्रोत केही पनि थिएन । गाह्रो सारो पर्दा आम्दानीको बाटो नभएकाले नै कसैले सरसहरयोग गर्दैनथे । 

‘आफ्नो दाजुभाइसँग सरसापटी माग्दा तलाईँ पैसा दिनुभन्दा कुकुरलाई मासु दिन बेस भन्ने, कस्तो कस्तो समस्यामा पनि हामीले कसैबाट सहयोग पाएनौं,’ गायत्रा त्यो असहज परिस्थिति सम्झनुहुन्छ ।

केही सीप नलागेपछि गायत्रा आफैंले विदेश जाने निधो गर्नुभयो । सासु र श्रीमानसँग आफै विदेश जाने प्रस्ताव राख्दा उहाँको निर्णयमा परिवारका सदस्यले साथ दिए । 

तीन छोराछोरी छाडेर गायत्रा आफैले विदेश जाने आँट गर्नु सहज थिएन । कान्छो छोरा त तीन वर्षका मात्रै थिए । गायत्रालाई विदेश जानु त्यो बेला कमाउने रहर भन्दा पनि घर चलाउनुपर्ने बाध्यता थियो । 

‘कमाउने उपाय केही भएन, छोराछोरी तीन वटा उनीहरुलाई पनि त पढाउन पर्‍यो के गर्नु,’ गायत्रा भन्नुहुन्छ, ‘गरिबीले थिचिएको बेला त त्यसै अत्यास लाग्दो रहेछ।’ 

आफू नहुँदा छोराछोरीलाई के होला सोच्ने फुर्सद नै भएन गायत्रालाई । विदेशमा आफूले गर्ने काम र कमाइ, साथै जाने देशको बारेमा पनि सोच्नुभएन । गाउँका आफन्तले नै काठमाण्डौको म्यानपावरसम्म पुर्‍याइदिए । मेडिकल रिपोर्ट फिट आयो । लेबनानको भिसा लाग्यो । 

विदेश पुगेपछि जे होला तर जतिसक्दो चाँडो जाउँ र कमाउँ, यही दुई कुरालाई पछ्याउँदै गायत्रा २०६४ सालमा लेबनान पुग्नुभयो । २०६४ साउनको पहिलो साता, लेवनानको एउटा घरमा काम थालेको दुई दिन भएको थियो । अनि लेबनान पुगेको चाहिँ चार दिन । 

घरको काममा लेबनान पुगेकी गायत्रालाई साहुनीले तरकारी पकाउने काम लगाइन् । तरकारी थियो मासु । मासु पकाउने तयारी गर्दै गर्दै गायत्रालाई सहन गाह्रो भयो । पेट हुँडलियो । जुरुक्क उठ्नुभयो, तर ठेगानमा पुग्न सक्नुभएन । भान्सामा नै बान्ता भयो । आन्द्रै चुँडिएला जस्तो भयो । तर बान्ता रोकिएन । गायत्रा छाद्दा छाद्दै रुनुभयो ।

‘मैले कसरी काम गर्छे भनेर हेरेर बसेकी थिइन् होला साहुनी, मैले छादेको देखेपछि उसले कति महिनाको भयो तेरो पेट मात्र भन्छिन्, म उसलाई बुझाउन खोज्छु तर सम्भव भएन,’ गहभरी आँखु पार्दै गायत्राले त्यो क्षण सुनाउनुभयो ।

साहुनी र गायत्राबीचमा भाषा बाधक बन्यो । न उहाँले साहुनीले बोलेको बुझ्नुभयो न साहुनीले उहाँले बोलेको बुझिन् । ‘पेट लिएर किन मेरो घरमा काम गर्न आइस्’ साहुनीले साँकेतिक रुपमा यही प्रश्न निरन्तर गरिरहिन । बेलाबेला कुट्न झम्टिइन् । 

माछा मासु नखाने भएकाले मासुको गन्धले आएको गायत्राको वान्ता रोकिएको थिएन । ‘रिँगटा लागेर ढल्छु जस्तो भइसक्यो, होइन भन्छु, खाली पेटमा हातले थिच्दै कति महिनाको हो, किन आइस् मात्र भन्ने, भाषा नबुझ्दा त्यस्तो हुनेरहेछ,’ गायत्राले भन्नुहुभयो, ‘त्यस्तो दिन त कसैलाई नपरोस् ।

साहुनीले जेठो छोरालाई बोलाइन् । अंग्रेजी भाषामा छाद्नुको कारण सोधे । गर्भवती भएर होइन, मासु नखाने भएर छाद आयो भनेर जानी नजानी बुझाउन खोज्नुभयो गायत्राले । छोराले मेडिकल रिपोर्ट पनि चेक गरे । मेडिकल रिपोर्ट राम्रो देखेपछि आमालाई कुरा बुझाउन खोजे । तर उनले बुझिनन् । काममा नराख्ने ढिपी गरिन् ।

गायत्रा भन्नुहुन्छ, ‘त्यसपछि घर परिवर्तन गरें, दोस्रो घरमा पनि खानै नदिने, खाना खान नपाएर हो कि किन हो, मेरो आफ्नो पुरानो रोग बल्झियो ।’

यतै मरिस भने लाश पठाउन पैसा तिर्नुपर्छ भन्थे

त्यो घरको साहुनीले निकालेपछि उहाँले अर्को घरमा काम गर्नुभयो । दोस्रो घरमा खटाइ बढी थियो । खान भने मुस्किलले पाइन्थ्यो । धेरै काम तर कम आराम भएपछि उहाँलाई पुरानो रोग बल्झियो । 

‘हुन त मलाई विदेश जानुअघि पनि पाठेघरको समस्या थियो, महिनावारी भएको बेला धेरै रगत बग्ने, लगातार बगिरहने भइरहन्थ्यो, पछि औषधी खाएपछि निको भएको थियो,’ गायत्रालाई लाग्छ, ‘लेवनानमा खाना खान नपाएर र काम बढी भएपछि फेरि पुरानो रोग बल्झियो ।’

बिमारको बारेमा थाहा पाएपछि उहाँले दोस्रो घरमा पनि काम छाड्न पर्‍यो । बिरामी मान्छेलाई काम नलगाउने भन्दै उहाँलाई एजेन्टकोमा पुर्‍याइदिए ।

उहाँले तेस्रो घरमा भने काम राम्रो पाउनुभयो । घरको बगैँचामा फूलहरु गोड्ने र पानी हाल्ने थियो उहाँको काम । काम राम्रो परे पनि उहाँको स्वस्थ्य अवस्था बिग्रँदै भयो । लगातार ‘ब्लिडिङ’ भयो । काममा जानुअघि उहाँले आफ्नो अवस्थाको बारेमा बताउनुभएको थिएन । तर गायत्रालाई निकै गाह्रो भएपछि घरको साहुनी आफैले थाहा पाइन । 

‘त्यो कुरा लुकाएर लुक्ने हैन, देखीहाले उनीहरुले, त्यसपछि मैले सबै भनें,’ गायत्रा भन्नुहुन्छ, ‘म लगातार बिरामी भएपछि उनीहरुले घर गैहाल, यही मरिस भने लाश पठाउन बेकारमा हामीलाई झन्झट हुन्छ, पैसा तिर्नुपर्छ भने, त्यो बेला मलाई अति नरमाइलो लाग्यो !’

गायत्रा काम गर्दै हुनुहुन्थ्यो । बिमार पनि बढ्दै थियो । उपचार पाउनुभएन । उहाँको साथमा फोन थिएन । घरमा फोन गरेर आफ्नो अवस्था बताउने माध्यम पनि केही भएन । 

गायत्रालाई लाग्थ्यो औषधी खाएपछि रोग निको हुन्छ, काम गर्नु सक्छु । तर साहुसाहुनीले उहाँको उपचारमा भन्दा पनि घर फर्काइदिन नै हतार गरे । 

‘मैले जाँदिनँ अहिले, निको हुन्छ, कमाएर फर्किन्छु भनेकी थिएँ, के गर्नु आफ्नो घरको अवस्था त्यस्तो थियो, तर उनीहरुलाई भने म मरे भने लाश पठाउन झन्झट हुन्छ भन्ने पीर रहेछ,’ आफ्नै लाश पठाउने झन्झटको कुरा सुन्नु पर्दाको क्षण सुनाउनुहुन्छ गायत्रा । 

विदेशमा कमाएर गरिबीलाई पुर्ने सपनाले गलेको जिन्दगी सम्झदा गायत्रालाई लाग्थ्यो, घर त मरिगए पनि जान्न, मरे भने दुःख त देख्न पर्दैन, यतै मरिदिन्छु ।

फेरि सोच्नुहुन्थ्यो – म मरें भने छोराछोरीले के गर्लान्, यिनीहरुले लाश पठाउन झन्झट मान्लान्, उता कति पीडा होला । छोराछोरीको मायाले मन केही गर्नुपर्छ भन्ने आँट पलाउँथ्यो उहाँलाई । 

बिरामी नभइदिएको भए काम पनि राम्रो हुनेवाला थियो । तलब पनि महिनाको ५० दिनार अथवा त्यो बेला नेपाली १० हजार रुपैयाँ दिने भनेका थिए साहुसाहुनीले । तर मनमा कमाउने सपनालाई दुई महिनादेखि नरोकिएको रगतले बगाइदियो । 

विदेशमा बिग्रिएर फर्किएको आरोप लाग्छ

तीन महिनामा तीनवटा घरमा काम गरे पनि रित्तो हात घर फर्किनुभयो । ५० हजार रुपैयाँ तिरेर ५० औं सपना बोकेर परदेश पुगेकी गायत्राले कमाएर जीवनमा बहार ल्याउनु त परको कुरा, फर्किँदा सानो छोरालाई एउटा उपहार पनि ल्याउन पाउनुएन । 

घर फर्किए पछि सुरुमा ऋण खोजेर उपचार गराउनुभयो । औधषी खान थालेपछि बिस्तारै बिमार कम हुँदै गयो । तर बिमारीको घाउमाथि विभिन्न आरोप लगाएर नुनचुक लगाउन थाले आफन्त र छिमेकीले । 

‘विदेश गएर के के गरी अनि त्यस्तो भएको भन्ने, सासु र बुढोलाई त्यति पनि स्याहारेर बसिस् भन्ने, ओहो कुरा त कति कति,’  गायत्राले यस्ता आरोप त १० वर्षपछि पनि सुन्न पर्छ । जसले जे भने पनि सुखमा होस् या दुःखमा उहाँलाई श्रीमान् र सासुले दरिलो साथ दिए । 

अरुले कुरा काट्दा सासु र श्रीमानले प्रतिकार गरे । गायत्राले भोगेको तीता मीठा क्षणलाई आफ्नै ठानेर अघि बढ्न हातमा हात मिलाए श्रीमान् र सासुले । अलिअलि तङग्रिएपछि गायत्राले केही व्यवसाय गर्ने योजना बनाउनुभयो ।

घरसल्लाहमै सानो किराना पसल खोल्नुभयो । पसलमा तरकारी पनि बेच्नुभयो । किराना पसलबाट भन्दा तरकारीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँले तरकारी मात्र बेच्न थाल्नुभयो । हिजोआज, हरेक दिन एक हजारदेखि १२ सय रुपैयाँसम्मको तरकारी बेच्नुहुन्छ । थोक मूल्य सस्तो भएको बेला त्यसबाट अलिबढी फाइदा हुन्छ। 

श्रीमान पनि गाउँघरमै मजुदुरी गर्छन् । श्रीमान श्रीमतिको कमाईले घर चलाउन सघाउँछ । तीन बालबच्चालाई महङ्गो स्कुलमा पढाउन नपाए पनि दुःखजिलो पढाउनुभएको छ । घर चलाउनुभएको छ । 

४० वर्षीया गायत्राको रोग अहिले पनि पूर्ण रुपमा निको भएको छैन । बेला बेला औधषी खाइरहनु पर्छ । चिसोको समयमा अलि बढी गाह्रो हुन्छ । तर, विदेशको सुखदुःख भोगेर फर्केपछि दुःखलाई सामना गर्ने तरिका फेरिएको छ । 

विदेश गएपछि त कमाइन्छ भन्ने मानसिकता फेरिएको छ । तर अझै पनि गाउँमा विदेशमा बिग्रिएर आइ भन्ने, कुरा काट्ने, गिज्याउने र हेलाहोचो गर्नेहरु टोल छिमेक र वरपर जताततै छन् । तर जस्तो परिस्थिति आइपरोस् गायत्रा डराउनुहुन्न । भन्नुहुन्छ – आफ्नाको साथ हुँदा जस्ता दुख र विपद्सँग पनि लड्ने आँट आउँदो रहेछ !’
 

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया