विदेश जानेलाई दिइने अभिमुखीकरण पर्याप्त हुँदैन

 असार ११, २०७५ | मेरो कथा मेरो भोगाई

परशुराम बस्नेत/हलेसी तुवाचुङ नगरपालिका, खोटाङ ।

२०६६ सालमा एसएलसी पास गरेँ । प्लस टु पढ्दै थिएँ । गाउँका साथीहरु पढ्दा पढ्दै विदेश हिँडे । अरु गएको देशेपछि मलाई पनि रहर लाग्यो । रहरै रहरमा मलेसिया पुगें । 

२०६८ सालमा हो मलेसिया गएको । जानु अघि सात सय रुपैयाँ तिरेर दुई घण्टाको अभिमुखिकरण तालिम लिएको थिए । जानेबेलामा कसरी जाने, त्यहाँ रहँदा सावधान हुनुपर्ने विषयमा दुई घण्टा जानकारी दिइयो । तर त्यो दुई घण्टाको अभिमुखीकरणमा भनिएको भन्दा निकै जटिल थियो मलेसिया र त्यहाँ हुँदा अपनाउनु पर्ने सावधानीहरु । 

अभिमुखीकरणमा भनेको भन्दा दोस्रो कुरा थाहा थिएन । हुन त २ घण्टाको समयमा सबैकुरा जानिने पनि होइन रहेछ । मलेसिया जानेबेलामा मलाई पढाइको महत्व थाहै भएन । तर पढाइ त्यागेर कमाउन लागेपनि पढाइको मूल्य चुकाउन परेन ।

 टायल उत्पाद गर्ने कम्पनीको काम थियो । काम गाह्रो नै हो तर कम्पनी र त्यहाँ काम गर्ने सुपरभाइजरहरु राम्रा भएकाले मैले दुःख पाइन । मेरो त मलेसियामा भाग्यले नै साथ दियो भन्नुपर्ला ।

किनकि म मलेसिया पुगेको केही समयमा नै बेसिक तलब ९ सय रिंगिट पुग्यो । अनि काम पनि १२ घण्टा गर्न पाइने । त्यसो हुँदा दिनमा ओभरटाइमको पैसा धेरै आउँथ्यो । 

मेरो सुरुसुरुमा त बेसिकमा अलिकती मात्रै बढी हुन्थ्यो तलब तर पछि प्रमोसन भएपछि दुई हजार रिंगिटसम्म कमाइहुन्थ्यो । कम्पनीले मलाई लेबरबाट सुपरभाइजरसम्म बनाइदियो । त्यो ३ वर्षको अवधिमा मैले पाएको ठूलो सफलता थियो । 

थोरै बिरामी हुँदा पनि आराम गर्ने समय पाइने । अस्पताल पठाउने कम्पनीले नै गथ्र्यो । तर कम्पनीमा गलत काम गर्नेलाई भने काम जस्तै कडा नियम थियो । 
काम ठग्ने र जाँडरक्सी खानेहरु कम्पनीमा धेरै समय टिक्दैन थिए ।

जाँड रक्सी खाएर झैझगडा गर्नेलाई कम्पनीले माफी दिने भन्ने नै हुन्न थियो । फेरि मेरो काम तिनीहरुमाथि निगरानी राख्ने थियो । कहिलेकाही त सही र गलत छुट्याउन साह्रै गाह्रो हुन्थ्यो । 

मलेसियामा ३ वर्ष बिताउँदा सबै कुरा राम्रो भयो । मलेसियाको वतावरण एकदमै राम्रो थियो । तर त्यहाँको सुरक्षा चाहिँ खत्तम नै हो । एकदिन त म बस्ने होस्टलमा छिरेर मोवाइल चोरेर लगेछन् ।  म बस्ने होस्टल भन्दा पल्लो ब्लकका तीन जान नेपालीलाई नै चोरहरुले छुरी रोपेको पनि देखेँ । त्यो दृश्य सम्झिदा त अहिले पनि सिरिङ्ग हुन्छ ।

तीन वर्षमा ११ लाख रुपैयाँ जति कमाएँ । एउटा घडेरी किने । केही ब्याजमा लगाइयो तर फिर्ता पाएको छुइन । तीन वर्षमा घर फर्किएर बिहे गरें । त्यसपछि विदेश जाँन मन लागेन । अहिले फर्किएको पनि तीन वर्ष नै भयो । 

सामी परियोजना अन्र्तगत स्वयमसेवकको रुपमा काम गरिरहेको छु । पहिले आफू जाँदा सूचना पाइएन । दुई घण्टाको अभिमुखीकरणको कहिल्यै नजानेको देश पुगियो, दुःख सुख भोगियो । अब चाहिँ विदेश जानेहरु नबुझी नजाउन भन्ने लाग्छ । 

परशुराम बस्नेतसँग सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित ।

तपाईको प्रतिक्रिया