नेपालको विकासका कुरामा यूएईमा नेपालीबीच विवाद, चक्कु प्रहारबाट एकको ज्यान गयो

 बैशाख ७, २०७६ शनिबार १७:३८:५६ | उमाकान्त पाण्डे

यूएई – यूएईको रसअलखेमामा एक नेपालीको चक्कु प्रहारबाट नेपालीकै ज्यान गएको छ । एउटै कम्पनीमा कार्यरत सँगै बस्ने दुई नेपालीबीचको भनाभनले ठूलो रुप लिँदा चक्कु प्रहारबाट पाल्पा तानसेनका तिलक चौधरीको ज्यान गएको हो । 

रसअल खेमामा सरसफाइ गर्ने कामदार सप्लाई गर्दै आएको बेस क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईकाे चक्कु प्रहारबाट चौधरीको ज्यान गएको हो । 

गएको सोमबार दिउँसो रक्सी खाएका बेला उनीहरुबीच नेपालका आफ्नो गाउँमा भएको बिकास बारे भनाभन भएको थियो । भनाभनका क्रममा राईले तिलकलाई चक्कु प्रहार गरेको उनीहरु सँगै काम गर्ने साथीले बताएका छन् । 

‘कामगर्ने ठाउँबाट खाजा खान कोठामा आउँदा उनीहरु बसेर रक्सी खाँदै थिएँ, प्रत्यक्षदर्शी ती साथीले भन्नुभयो,‘ तिलकले पाल्पामा ठूल्ठूला गाडी चल्ने बाटो रहेको र देशकै नमुना जिल्ला भएका भने, अनि रमेशले आफ्नो गाउँको मान्छे देशको राष्ट्रपति भएको र पाल्पामा भन्दा भोजपुरमा  विकास भएको भन्दै भनाभना गरिरहेका थिए ।’ 

भनाभनै क्रममा युगेन्द्रले तिलकलाई चक्कु प्रहार गरेका हुन् । घटनापछि स्थानीय प्रशासनले अनुसन्धानका लागि ३ जना नेपालीलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये दुई जना नेपाली छुटेर काममा फर्किएका छन भने राईलाई थप अनुसन्धानका लागि जेल चलान गरिएको छ । 

कम्पनीको क्याम्पमा ९ जना नेपाली बस्दै आएका थिए । राई र चौधरी एक वर्षदेखिसँगै बस्दै आएका थिए । 

घटनास्थल आबुधाबीबाट झण्डै २ सय ५० किलोमिटर टाढा पर्छ । घटना घटेको ५ दिन बित्दा पनि कम्पनीले अधिकारिक रुपमा दूतावासलाई जानकारी नगराएको दूतावासकी द्वितीय सचिव तथा सुचना अधिकारी बिष्णुकुमारी अधीकारीले बताउनुभयो । कानूनी प्रक्रिया पूरा गरेर दूतावाससँग समन्वय गर्ने कम्पनीले जनाएको छ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया