नेपाल र यूएईबीच नयाँ श्रम समझदारी गर्ने सहमति, १२ वर्षअघिको समझदारी खारेज हुने

 बैशाख १२, २०७६ बिहिबार १७:२८:२१ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल र यूएईबीच नयाँ श्रम समझदारी गर्ने सहमति जुटेको छ । पुरानो श्रम समझदारीलाई खारेज गर्दै कामदारको सुरक्षाको प्रत्याभूत हुनेगरी नयाँ श्रम समझदारी गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

यूएईबाट आएको प्रविधिक टोलीसँग बुधबार र बिहीबार भएको छलफलबाट श्रम समझदारीको अन्तिम मस्यौदामा हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ ।

मस्यौदामा नेपालबाट कामदार जाँदा शून्य लागतमा जान पाउने, म्यानपावरको सेवा शुल्क पनि रोजगारदाताले नै व्यहोर्ने, बीमाको व्यवस्थासहित सामाजिक सुरक्षाको पनि ग्यारेण्टी हुने व्यवस्था रहेको श्रम मन्त्रालय स्रोतले जनाएको छ । साथै करारपत्र कस्तो हुने भन्ने विषयमा पनि दुई देशबीच सहमति जुटेको छ । 

नयाँ समझदारीमा काममा रहँदाको बीमा र स्वाथ्य बीमा हुने प्रावधान राखिएको छ । कामदारको लापरवाहीका कारणले हुने दुर्घटना बाहेक अरु दुर्घटना काममा रहँदाको बीमाले समेट्ने छ ।

अब दुबै देशको मन्त्रिपरिषद बैठकले समझदारीको मस्यौदालाई पारित गरेपछि औपचारिक हस्ताक्षरका लागि मिति तय गरेर मन्त्री स्तरमा हस्ताक्षर हुनेछ । श्रम समझदारीमा  कामदारलाई आर्थिक भार नपर्ने गरी आधारभूत अधिकारका साथै सुरक्षाको सुनिश्चितता गरिने उल्लेख छ । 

यसअघि नेपाली टोलीले माघ १६ र १७ गते यूएईसँग श्रम समझदारीबारे छलफल भएको थियो । यूएईसँग दुई चरणमा श्रम समझदारीका लागि मस्यौदा आदानप्रदान भसकेको थियो ।

पहिलो चरणमा यूएईले पठाएका मस्यौदामा नेपालले चाहेजस्ता विषय उल्लेख नभएकाले नेपाली टोली नै यूएई गएर आफ्ना एजेन्डा स्पष्टसँग राखेको थियो । यूएईसँग यसअघि २००७ मा श्रम समझदारी भएको थियो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जिम्मेवारी सम्हालेपछि मलेसिया र जापानसँग श्रम सम्झौता भइसकेको छ । कतार र ओमानसँग पनि सरकारले छिट्टै श्रम समझदारी गर्ने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ । 

तपाईको प्रतिक्रिया