वैदेशिक रोजगारीबाट फर्केका युवालाई एनएमबी बैंकको १० लाख कर्जा

 बैशाख २५, २०७६ बुधबार १२:२०:५३ | उज्यालो सहकर्मी

काठमाण्डौ – एनएमबी बैंकले वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवालाई उद्यम सञ्चालन गर्न १० लाख रुपैयासम्म ऋण दिने भएको छ । यस सम्बन्धी सम्झौतापत्रमा एनएमबी बैक, काठमाण्डौमा राष्ट्रिय युवा परिषद र रिटर्र्नी माईग्रेन्ट नेपालबीच हस्ताक्षर भएको छ । 

वैदेशिक रोजगारी फर्किएका व्यक्तिलाई नेपालको मौलिक पहिचान, कृषि, पर्यटन, वन, जडिबुटी, खनिज तथा जलस्रोत र विज्ञान तथा प्रविधि क्षेत्रमा काम गर्ने गरी सहुलियतपूर्ण कर्जा दिन र युवा उद्यमशिलता प्रवद्र्धन गर्न बैंकले ऋण दिने सम्बन्धी सम्झौतामा  एनएमबी बैँकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल र रिटर्नी माईग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । 

बैंकले तत्कालका लागि परियोजना धितोमा १ अर्ब रुपैयाँसम्म ऋण प्रवाह गर्ने पनि समझदारी पत्रमा उल्लेख छ । बैंकका अध्यक्ष पवनकुमार गोल्यानले कर्जाको माग र आवश्यकताका  आधारमा थप गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

समझदारी अनुसार विदेशबाट फर्किएका सीपयुक्त युवालाई राष्ट्रिय युवा परिषद, एनएमबी बैंक र रिटर्नी माईग्रेन्ट नेपालले उद्यम सञ्चालनका लागि आवश्यक तालिम पनि दिनेछन् ।

सम्झौता अन्तर्गत बैंक, परिषद र रिटर्र्नी माईग्रेन्ट नेपालले आपसी सहकार्यमा अर्थ मन्त्रालयको सहुलियतपूर्ण कर्जाका लागी ब्याज अनुदानसम्वन्धी एकीकृत कार्यविधि २०७५ कार्यान्वयनमा सहयोग गर्ने र उद्यमशिलताका माध्यमबाट युवालाई उत्पादनसँग जोड्नलाई रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्ने योजना छ ।

एनएमबीका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्वन्धी एकीकृत कार्यविधि २०७५ भित्र नपर्ने कर्जाको हकमा पनि बैंकले त्रिपक्षीय सम्झौता बमोजिम कर्जा प्रवाह गरिने बताउनुभयो ।

यस्तै रिटर्र्नी माईग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले कार्यविधि २०७५ बमोजिम योग्य रहेका वैदेशिक रोजगारबाट फिर्ता भएका ब्यक्तिलाई परिषद्को समन्वयमा माईग्रेन्ट नेपालको सिफारिसका आधारमा बैँकले प्रति व्यक्ति अधिकतम १० लाख रुपैयाँसम्म परियोजना धितोमा कर्जा प्रवाह गरेर अहिलेलाई एक अर्बसम्म ऋण प्रवाह गर्ने बताउनुभयो ।  

माग र आवश्यकता हेरेर यसलार्य बढाउँदै गरी सम्झौता गरिएकोे उहाँको भनाई छ । बैंकले ऋण लिन चाहनेलाई परियोजना सञ्चालनका लागि सुझाव तथा सल्लाह दिने, तालिम दिने र बजारको पहुँचलाई सहजिकरण गराउनेतर्फ केन्द्रीय स्तरमा छुट्टै डेस्कको स्थापना गरी बैंकका शाखाहरुमार्फत सेवा दिइने बताएको राष्ट्रिय युवा परिषदका उपसचिव धु्रवराज पौडेलले जानकारी दिनुभयो । 

सहुलियतपूर्ण कर्जाका लागि सरकारले बनाएको कार्यविधि अनुसार नै ऋण 

एनएमबी बैंकले सरकारले सहुलियतपूर्ण कर्जाका लागि सरकारले बनाएको कार्यविधि अनुसार नै ऋण दिने बताएको छ । सहुलियतपूर्ण कर्जाका लागि सरकारले बनाएको कार्यविधिमा ५ प्रकारका कामका लागि सहुलियतपूर्ण कर्जा दिने उल्लेख भएकोमा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई ऋण दिने एउटा योजना हो ।

यही आधारमा बैंकले एक वर्षमा १ हजार जनालाई युवालाई १० लाखका दरले ऋण दिने बताएको छ । विदेशबाट फर्किएका युवालाई सरकारले सहुलियतपूर्ण ऋण दिने भनिए पनि नपाएको गुनासो आएपछि सरकारको योजना कार्यान्वयन गर्न नीजि क्षेत्रलाई झक्झक्याउन युवा परिषदले पहल थालेको भन्दै परिषदका उपसचिव पौडेले एनएमबी बैंकले निर्णय कार्यान्वयनमा अग्रसरता देखाएको बताउनुभयो । 

सरकारको कार्यविधिमा युवाले ऋणका लागि निवेदन दिएको २१ दिनभित्रमा ऋण पाउने भए परियोजना स्वीकृत हुनुपर्ने र ऋण नपाउने भए लिखित कारण दिनुपर्ने उल्लेख छ । एनएमबी बैँकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैंकले सरकारको कार्यविधिमा उल्लेख भएको भन्दा पनि चाँडै ऋण दिने÷नदिने निक्र्यौल गरेर निर्णय दिने बताउनुभएको छ । 

यसअघि वैदेशिक रोजगार बोर्डले पनि वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सहुलियतपूर्ण ऋणका लागि आवेदन माग गरेको थियो । २१ हजारभन्दा धेरै युवाले आवेदन दिएकोमा १८ हजारभन्दा धेरै युवा सहुलियतपूर्ण कर्जाका लागि योग्य भएको विभागले ठहर गरेको छ ।

योग्य भएका युवाले बोर्डबाट सिफारिस लिएर बैंकबाट ऋण लिन सक्ने बोर्डको भनाई छ । अहिलेको सम्झौता अनुसार दिइने भनिएको ऋण बोर्डले घोषणा गरेको भन्दा छुट्टै भएको राष्ट्रिय युवा परिषदले स्पष्ट पारेको छ । 

1 Comments

  • प्रेम प्रसाद गुरागाइ

    May 9, 2019, 10:39 a.m.

    what is the procedure and requirements to apply for the loan

तपाईको प्रतिक्रिया