असार १५ देखि तालिम लिएको प्रमाणपत्र पेश नगरी विदेश जान श्रम स्वीकृति नपाइने

 जेठ १, २०७६ बुधबार १३:२:४६ | उज्यालो सहकर्मी

काठमाण्डौ – आउँदो असार १५ गतेदेखि सीपमुलक तालिम लिएको प्रमाणपत्र पेश नगरी अन्तिम श्रम स्वीकृती नपाइने भएको छ । 

१२ वटा काममा विदेश जान चाहने कामदारलाई पहिलो चरणमा सीप तालिम लिएको प्रमाणपत्र पेश नगरी अन्तिम श्रम स्वीकृती नदिने वैदेशिक रोजगार विभागले जनाएको छ । 

हाउस वाइरिङ/इलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेशन, स्टिल फक्चर्स, हाउस किपिङ/क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गामेन्ट/टेलरिङ र प्लम्बिङको काममा विदेश जानका लागि सीप सिकेको प्रमाणपत्र बिना अन्तिम श्रम स्वीकृती नपाइने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

न्युनतम सीप सिकाएर मात्र कामदारलाई वैदेशिक रोजगारीमा कामदार पठाउने सरकारको नीति अनुसार अहिले यी काममा जाने कामदारलाई सीप सिकेको प्रमाणपत्र अनिवार्य गरिएको र विस्तारै यो व्यवस्थालाई कार्यान्वयन गर्दै जाने उहाँले बताउनुभयो । 

सीप सिकेको प्रमाण भएका व्यक्तिको सीपको परीक्षण बोर्डले आफैं गर्नेछ । सीपमुलक तालिम लिएका र कुनै व्यवसाय वा प्रतिष्ठानमा काम गरी अनुभवको प्रमाणपत्र प्राप्त गरेकाहरुको अनुभवको प्रमाणपत्र वैदेशिक रोजगार बोर्डको सचिवालयमार्फत आधिकारिताको यकिन गर्नुपर्ने छ ।

विदेशमा कुन काममा जाने हो त्यो सीप कानुन बमोजिम अनुमति प्राप्त तालिम प्रदायक संस्थाबाट लिन पनि वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।

विदेश जान चाहने कामदारलाई न्युनतम सीप सिकाएर मात्र पठाउने उदेश्य अनुसार आउँदो वर्षदेखि सीप विकास तालिमलाई सबै प्रदेशहरुमा विस्तार गरी गुणस्तरीय प्रशिक्ष्ण दिने र सीप प्रमाणिकरण गर्ने व्यवस्था मिलाउने आवश्यक तयारी भइरहेको पनि विभागले जनाएको छ । 


 

तपाईको प्रतिक्रिया