कुलपूजामा भएको एकैछिनको भेटले यसरी डुब्यो २४ लाख

 जेठ ११, २०७६ शनिबार १२:०:९ | मोहन पौडेल

काठमाण्डौ – लमजुङका शम्भुराज गौली झण्डै दुई वर्षअघि कुलपूजाका लागि तनहुँ जानुभएको थियो । कुलपूजामा उहाँको भेट धनुषाका प्रवेश थपलियासँग भयो । थपलिया उहाँको मावली थर । प्रवेश थपलियासँग मावलीको साइनो गाँसिएपछि केहीछिनको गफमै घर व्यवहारका कुरा साटासाट भए ।

घर व्यवहारका कुरामा सञ्चोसुविस्ताका भन्दा कमाइका कुरा बढी भए । शम्भुराजले कमाउनलाई राम्रो काम गर्न नसकेका कुरा सुनाउनुभयो प्रवेशलाई । प्रवेशले उतिबैले आफू वैदेशिक रोजगारीमा पठाइदिने व्यक्ति भएको सुनाए । उनले पठाउँथे कि पठाउँदैनथे शम्भुले सोध्नुभएन । प्रवेश खाडी र मलेसिया पठाउने होइनन्, युरोपका देश पठाउने व्यक्ति थिए । 

यी कुरा सुनेपछि शम्भुराजलाई आफूले समस्याबाट पार तर्ने डोरी भेटे जस्तै लाग्यो । प्रवेशले चाहिँ ग्राहक फेला पारे । मावलीको साइनो गाँसिइसकेको थियो । धेरै कुरा भएन । प्रवेशले शम्भुलाई युरापेली देश अजरबैजान पठाइदिने भए । 

प्रवेशको भनाइ अनुसार अजरबैजानमा काम फलफूल टिप्ने अनि कमाइ महिनाको एक लाख रुपैयाँ । देश पनि युरोपको अनि कमाइ महिनाको लाख । यही कुराले शम्भुराजसँगै दाजु हरिप्रसाद गौली अनि भिनाजु खेमराज सिलवाललाई पनि तान्यो । 

केही दिनमै फेरिए प्रवेशका कुरा 

युरोपेली देश अनि कमाइ लाख भनेपछि तीन जनालाई अरु धेरै कुरा बुझ्नुपर्छ जस्तो लागेन । तर जहाँ जाँदा पनि देशकै विमानस्थल प्रयोग गर्नुपर्छ भन्ने चाहिँ थाहा थियो । प्रवेशले पनि उहाँहरुलाई काठमाण्डौकै विमानस्थलबाटै उडाउने आश्वासन दिए । 

देशको नाम र कमाइ सम्बन्धी चिल्ला कुरा सुनाएर फकाएका प्रवेशले तीनैजनासँग ८ लाख रुपैयाँ दरले पैसा लिए । २४ लाख रुपैयाँ हात परेपछि प्रवेशका कुरा फेरिए । उनले भारतबाट जानुपर्ने बताए ।

प्रवेशका कुरा सुनेपछि तीनैजनाले प्रश्न गरे अनि खै त हाम्रो श्रम गरेको ? यत्तिकै त हामी जान्नौं । प्रवेशले तीनै जनाको श्रम भइसकेको र पासपोर्ट भारतमै रहेको बताए । 

नजाउँ २४ लाख अर्काको हातमा परिसक्यो, जाउँ कहाँ पुगेर अलपत्र भइने हो भन्ने डर । दोधार र डरकै बीचमा उहाँहरुले आफ्नो ८ लाख रुपैयाँ माया मार्ने ठाउँ देख्नुभएन । प्रवेशले जसो भने त्यसै गर्दै भारतमो मुम्बई पुग्नुभयो । प्रवेशले उहाँहरुलाई मुम्बई पुगेपछि मान्छे लिन आउने अनि उसैले उडाउने बताएका थिए । 

तर मुम्बई पुगेपछि न प्रवेशले भनेका मान्छे लिन आए न उहाँहरु अजरबैजान उड्न पाउनुभयो । दुई दिनभन्दा धेरै बस्ने ठाउँ र खर्च पनि थिएन । तीनै जना दुई दिन त्यहीँ बसेर घर फर्किनुभयो । 

कुलपूजामा भेट भएका मावली तीन जनाबाट पैसा लिएर बेपत्ता भए । उहाँहरुले जनकपुरमा सोधपुछ गर्नुभयो । अनि काठमाण्डौमा प्रवेश बस्ने ठाउँमा पनि पुग्नुभयो । तर प्रवेश फेला परेनन् ।

अहिले उहाँहरुले वैदेशिक रोजगार विभागमा निवेदन दिनुभएको छ । विभागले प्रहरीमार्फत प्रवेशलाई खोजिरहेको छ । उहाँहरुलाई चिनजान भएको केहीछिनमै नातागाँसेका व्यक्तिले मिठा सपना देखाएर ठगे । ‘हामीले धेरै विश्वास गर्दा उसले ठग्यो’ शम्भुराज भन्नुहुन्छ । 

युरोप जाने सपनामा ठगिने क्रम बढ्यो 

शम्भुराज र हरिप्रसाद गौली अनि खेमराज सिलवाल जस्तै सयौं युवा अहिले खाडी र मलेसिया बाहेकका देश जाने र धेरै कमाउने लोभमा ठगिइरहेका छन् । यसरी मलेसिया र खाडीका देश बाहेक युरोप र अरु देश जान खोज्दा ठगिनेहरु बढेको वैदेशिक रोजगार विभागको भनाई छ ।

विभागमा उजुरी दिन आउनेहरु प्रायः निःशुल्क कानुनी सहायताका लागि मानव अधिकारका लागि जनमञ्च पिपुल फोरममा पुग्छन् । पिपुल फोरमको २०७५ मंसिर १ गतेदेखि फागुन ३० गतेसम्मको तथ्याङ्क हेर्दा एक हजार १२ वटा उजुरी परेको छ ।

जसमध्ये टर्कीको १ सय ७९, रसिया ५, साइप्रस २ , मोरिसस २ र पोल्याण्ड पठाइदिने बहानामा ठगेको भन्दै २ जनाले उजुरी लेखाएर विभागमा दर्ता गराएका छन् । 

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया