साउदीबाट 'मलाई लिन एयरपोर्ट आउनु है' भनेर जहाज चढेका प्रेमबहादुर यूएईमा अस्‍ताए

 असार ८, २०७६ आइतबार ११:५६:३० | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – असार ३ गते । साउदीबाट पर्शुराम लिम्बूलाई काकाको फोन आयो । फाेनमा काका प्रेमबहादुर लिम्बूले भन्नुभयाे  'म भोलि (असार ४ गते) को जहाज चढेर ५ गते काठमाण्डाै आउँदै छु, मलाई लिन एयरपोर्ट  आउनु है ।'

त्यही फोनका भरमा असार ५ गते पर्शुरामले एयरपोर्ट पुगेर आफ्ना काका प्रेमबहादुर आङबुहाङ लिम्बूलाई पर्खि बस्नु भयो ।

साउदी अरबबाट यूएई ट्राण्जिट हुँदै बिहानै नेपाल आउने भनेका काका आउनु भएन । विदेशबाट उड्दै आएका जहाज त कति आए आए । सायद काकाले चढ्छु भनेको जहाज पनि आयो होला तर पर्शुरामका काका चाहिँ आउनुभएन । 

साँझ अबेरसम्म पनि प्रेमबहादुर नआएपछि कुरेर बसेका पर्शुराम कोठा फर्किनुभयो । 

प्रेमबहादुर काका अर्को दिनसम्म पनि काठमाण्डौमा नझरेपछि पर्शुरामले सोधीखोजी सुरु गर्नुभयो । साउदीबाट आफू चढेकाे जहाज उड्न लागेपछि प्रेमबहादुरले भन्नुभएको थियो ' जहाजको ट्रान्जिट दुबईमा छ, भोलि भेटौँला ।' पर्शुरामलाई काकाले भनेकाे याे कुरा  झलझली याद आयाे । 

तुरुन्तै यूएईमा कार्यरत छिमेकी ल‌ंक आङबुहाङलाई काकाका बारेमा जानकारी गराउनुभयो । साउदीबाट आएको यअर अरेबिया सारजाह विमानस्थलमा ट्रान्जिटमा परेकाले त्यहीँबाट उहाँका बारेमा जानकारी प्राप्त भयो । बुधबार एयरअ रेबियामार्फत नेपाल फर्कदै गर्नुभएका प्रेमबहादुरले सारजाह विमानस्थलको प्रतिक्षालयमा अचानक रगतसहितको बान्ता गर्नुभएको रहेछ ।

त्यसपछि सारजाह अध्यागमनले प्रहरीलाई खबर गरेपछि प्रेमबहादुरलाई कुवेती अस्पतालको आइसीयू कक्षमा राखेर उपचार सुरु भयो । त्यतिबेलासम्म जन्डिसको संक्रमणले अन्तिम अवस्थामा पुगेकाले प्रेमबहादुरका दुवै मृगौलाले काम गर्न छाडेका रहेछन् । 

५ वर्षअघि श्रीमतीको निधन भएपछि घरेलु कामदारको रुपमा साउदी अरब उड्नुभएका ६० वर्षीय प्रेमबहादुर पहिलो पटक नेपाल विदामा फर्किदै हुनुहुन्थ्याे । उहाँका दुई छोरीमध्ये जेठी छोरी पनि गएकाे वर्ष वितेकी थिइन् । कान्छी छोरीको विवाह भइ अहिले इलाममा बस्दै आउनुभएको छ । 

घर फर्किने क्रममा बाटोमै बिरामी पर्नुभएका आफ्ना काकाकाे बारेमा भतिज पर्शुरामले नियमित जानकारी लिइरहनु भएको थियो । सारजाहको कुवेती अस्पतालमा उपचार भइरहेको भन्ने जानकारी पाएपछि ताप्लेजुङ सेवा समाज र संघीय लिम्बूवान सामाजिक मञ्च यूएईका प्रतिनिधीले अस्पतालमै पुगेर प्रेमबहादुरको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिनुभयो । 

तर उपचाररत प्रेमबहादुरको शनिबार बिहान यूएईको सारजाहमा ज्यान गयो । त्यही अस्पतालमा कार्यरत नेपाली सुरक्षागार्डले खबर पाएलगतै शनिबार साँझ आफन्तलाई खबर गरेकाे थियाे । प्रेमबहादुरको शव अहिले पोष्टमार्टमका लागि राखिएको छ ।

शव नेपाल फर्काउनका लागि आइतबार दुतावासलाई जानकारी गराउने र थप समन्वय गर्ने ताप्लेजुङ समाजसेवा यूएईका महासचिव भवानी लिम्बूले उज्यालोलाई जानकारी दिनुभयो ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया