विदेशमा रोड खन्नुभन्दा घरमै बाख्रा चराउछु

 असार २३, २०७५ शनिबार | उज्यालो सहकर्मी

खोटाङ – दिक्तेलका रामेश्वर खड्कालाई पहिले पहिले विदेश नगई त कमाउनै सकिन्न भन्ने लाग्थ्यो । गाउँको खेतबारी र डाँडापाखामा पनि पैसा छन् भन्ने उहाँले सोच्नुभएकै थिएन् ।

त्यसैले साउदी र कतारमा सात वर्ष बिताउनुभयो । जिन्दगीको अमूल्य समयको पसिना पराइ देशमा बगाएपनि सोचेजस्तो हुँदै भएन । कतारमा ‘टि ब्वाइ’को काममा गएपनि रोड खन्ने काम गर्नुपर्‍यो ।

अनि साउदीमा काम अनुसारको दाम पाउनुभएन । अहिले फर्किएर पहिले नदेखेको डाँडापाख र खेतबारीमा सम्भावना खोजिरहनुभएको छ रामेश्वर । 

उहाँको कथा उहाँकै शब्दमा

११ कक्षामा पढ्दै थिएँ । बिहे भयो । पहिले पो घुमेर खाइयो त । बिहे भएपछि त जिम्मेवारी थपियो । एक जना भन्दाइले विदेश जान्छौ त भनेर सोध्नुभयो । भाइबहिनी साना थिए । बुवाको आम्दानीको बाटो कुनै थिएन । त्यसैले २०६८ सालमा कतार गएँ । 

८५ हजार रुपैयाँ तिरेर म कतार जाने जहाज त चढें । तर कतारमा ३ वर्ष एक महिना बस्दा पनि मेरो जिन्दगीले उचाइ लिएन । ‘टि ब्वाइ’को काममा गएको थिएँ तर रोड खन्ने काम पर्‍यो ।

कतारको ५० डिग्री भन्दा माथिको तापक्रम । कसरी काम गर्नसक्नु । म त झन ज्यान सानो भएको मान्छे । एकजना दाइलाई म देखेर माया लागेछ क्यारे उहाँले त्यो काम छोड्न लगाएर आफ्नै कम्पनीमा लगेर काम लगाउनुभयो । उहाँले लगेपछि रोड त खन्नु परेन । 

२० देखि २२ हजार रुपैयाँसम्म बच्थ्यो महिनाको । कमाइ जस्तो भएपनि दुःखसुख जे भएपनि काम गर्न परिहाल्यो । घरको दुःख सम्झेर भएपनि काम गरें । कतारको कमाइले बहिनीको बिहे गरें, ऋण तिरें । डेढ लाख रुपैयाँ जस्तो बच्यो होला । ३७ महिना बसेर फर्किएँ । 

कतारबाट फर्किएको पाँच महिना भएको थियो । गाउँकै अर्का आफन्तले साउदीको फ्याक्ट्रीमा राम्रो कामको अफर आएको बताए । अब घरमा के गरेर बस्नु । पैसा छैन् । जानै पर्‍यो नि । जाने मन भन्दा पनि घरको अवस्थाले मलाई दोस्रो पटक साउदी पुर्‍यायो ।

 साउदीमा कतारमा जस्तो अर्कै काम परेन । सम्झौता अनुसारकै थियो काम र कमाइ पनि । तर मलाई कम्पनीले अरु देशका कामदारको तुलनामा नेपाली कामदारलाई गर्ने व्यवहार चित्त बुझेन ।

कम्पनीमा अरु देशका नागरिकलाई समान काम बापत चार हजार रियाल तलब हुँदा नेपाली नागरिकले १५ सय रियाल मात्र दिन्थ्यो । त्यसैले काम गरेको ३४ महिनापछि कम्पनीमा काम गर्ने नेपालीहरु मिलेर तलब बढाउने दवाव दियौं । तर कम्पनीले सुनेन । त्यसैले म घर फर्किएँ । 

अहिले म घर फर्किएको ८ महिना हुन लाग्यो । सात वर्षमा मैले जे भोगें भोगें । अब विदेश जान्न । त्यसैले गाउँघरमै केही गर्ने सोच बनाएको छु । म घर फर्किदा गाउँमा वित्तीय साक्षरता कक्षा सञ्चालन भइरहेको रहेछ । साक्षरता कक्षामा मेरो श्रीमती पनि गएकी रहिछन् । एकदुई दिन उनीसँगै म पनि गएँ । 

त्यहाँको कुरा सुनेपछि त झन मेरो आत्मविश्वास बढेको छ । अहिले पहिले नदेखेको खेतबारी र डाँडापाखामा पसिना बगाइरहेको छु । भैंसी पालेको छु । पहिला पाँच वटा मात्र बाख्रा थियो अहिले बढाएर २० वटा पुर्‍याएको छु । अनि कुखुरा पनि १५० वटा जति छन् । हामी घरमा काम बाँढेर गर्छौैं ।

भैंसी बुवा र श्रीमतीको जिम्मामा छ । म बाख्रा चराउँछु अनि घाँस काट्छु । आमाले बालबच्चा र कुखुरा हेर्नुहुन्छ । सबैको आ–आफ्नै ड्युटी छ । हामी सबैजना ब्यस्त छौं ।

बाख्रा चराउँदा न कसैको डर न कसैको दवाव । विदेशमा जस्तो मुदिरले गाली गर्ला भन्ने डर पनि नहुने आनन्द छ अहिले त । अब बिस्तारै तरकारी खेती गर्ने र अहिले गरिरहेको कामलाई नै बढाउने मेरो योजना छ । जस्तो परिस्थिती आइपरेपनि विदेश त जाँदिन ।

तपाईको प्रतिक्रिया