मलेसियाकाे आफ्नै व्यवसाय छोडेर नेपालमा बाख्रापालन

 असार २५, २०७६ बुधबार १२:४०:१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – भनिन्छ नि, जहाँ गए पनि स्वदेशको मायाले तानेरै छाड्छ । गुल्मीका टिकाराम श्रीसलाई पनि त्यस्तै भयो । उहाँलाई पनि आफ्नो जन्मभूमिको मायाले स्वदेश फर्काएरै छाड्यो । मलेसियामा चल्दै गरेको आफ्नै व्यवसाय छाडेर उहाँ स्वदेश फर्किनुभयो ।

झण्डै तीन दशकसम्म मलेसियामा बसेर व्यवसाय सञ्चालन गर्दै आउनु भएका गुल्मी सत्यवती गाउँपालिका अन्तर्गत भार्सेका टिकाराम श्रीस यतिबेला स्वदेशमा फर्केर बाख्रा पालन सुरु गर्नु भएको छ । टिकारामले मलेसियामा आफ्नै निजी कृषि फर्म सञ्चालन गरेर दुई दर्जनभन्दा बढी नेपाली युवाहरुलाई रोजगारी दिनुभएको थियो । आफूले सञ्चालन गर्दै आएको व्यवसाय आफन्तहरुलाई जिम्मा लगाएर उहाँ डेढ वर्ष अगाडि स्वदेश फर्कनु भयो ।

मलेसियामा टिकारामले ‘लिटिल भार्से’ नाम राखेर फर्म सञ्चालन गर्नुभएको थियो । ‘कृषि पेशा मलाई सबैभन्दा मन पर्ने पेशा हो, त्यही भएर विदेशमा पनि कृषि नै गरे’, टिकारामले भन्नुभयो, ‘गाउँमा बसेर केही गर्नुपर्छ भनेर अहिले बाख्रा पालन सुरु गरेको हुँ ।’

मलेसियामा सबै ठिकठाक चल्दै थियो । आम्दानी राम्रै थियो । आफ्नै नेपाली दाजुभाइलाई रोेजगारी दिनुभएको थियो । जे होस्, आफ्नो व्यवसायप्रति टिकाराम सन्तुष्ट हुनुहुन्थ्यो । तर मान्छेलाई कतिबेला के आइपर्छ थाहा हुँदैन । टिकाराम मातृशोकमा पर्नुभयो । घरमा आमाको निधन भएपछि परिस्थितिले उहाँलाई नेपाल पुर्‍यादियो ।

फर्मको जिम्मेवारी आफन्तलाई सुम्पेर उहाँ आमाको काजक्रियाको लागि नेपाल फर्किनुभयो । डेढ वर्ष पहिले नेपाल आउनुभएका श्रीस त्यसपछि नेपालमै अडिनुभयो । आमाको काजक्रिया सकेर पनि उहाँलाई विदेश फर्किन मन लागेन । मलेसियाको आफ्नो व्यवसायको माया मर्दै गयो । अब नेपालमै व्यवसाय गर्नुपर्छ भन्ने जाँगर चल्यो ।

मलेसियामा गर्ने काम नेपालमै किन गर्न सकिँदैन भन्ने प्रश्नले श्रीसलाई घोचिरह्यो । आमाको काजक्रियाको समयभरी उहाँको मनमा व्यवसायका अनेकथरी आइडिया फुरे । अन्त्यमा त्यहाँ गर्ने काम यहीँ पनि गर्न सकिन्छ भन्ने लाग्यो टिकारामलाई । त्यसपछि उहाँले निर्णय गर्नुभयाे, बाख्रा पालन गर्नेे ।

दुई दशक लामो विदेशको अनुभव । मनमा केही गर्छु भन्ने आँट । शरिरमा जाँगर । टिकारामलाई काम अगाडि बढाउन कुनै गाह्रो नै भएन । उहाँले आफ्नै लगानीमा नमुना बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्म दर्ता गर्नुभयो । अनि व्यवसायीक तरिकाले आधुनिक खोर निर्माण गरेर सुरु गुर्नुभयो, बाख्रा पालन ।

उहाँले आफ्नै लगानीमा करिब १० लाख रुपैयाँ खर्च गरेर आधुनिक बाख्राको खोर निर्माण गरेर जिल्लामै पहिलो पटक व्यवस्थित रुपमा बाख्रापालन सुरु गर्नुभएको हो । अहिले उहाँको घरमा पुग्ने जो कोही पनि यति व्यवस्थित खोर  र उहाँको मेहनत देखेर दंग पर्ने गर्छन् ।

टिकारामको खोरमा सबै गरेर ९५ वटा बाख्रा छन् । व्यवसाय सुरु गरेको डेढ वर्ष मात्र भएकोले उत्पादन भने भएको छैन । 

‘अहिले बाख्राहरुलाई हुर्काएर बढाउने काम भइरहेको छ’, उहाँले उत्साहित हुँदै भन्नुभयो, ‘खोरमा केही बाख्राहरु बेच्नको लागि तयार भइसकेका छन्, अब चाँडै व्यवसायिक उत्पादन सुरु हुन्छ ।’

टिकाराम आफ्नो व्यवसायलाई बढाउदै लैजाने सोचमा हुनुहुन्छ । यसलाई आधुनिक र अझै बढी व्यवसायिक बनाउन तर्फ उहाँ लागि पर्नुभएको छ । ‘जिल्लामा बाख्राको श्रोत केन्द्रको रुपमा विकास गर्ने उद्देश्य छ’, आफ्नो तत्कालैको योजना बताउँदै भन्नुभयो, ‘अहिले १ सयदेखि १ सय ५० सम्म माउ बाख्रा पाल्ने सोच बनाएको छु ।’

आधुनिक र सुविधायुक्त खोरमा बाख्राहरुलाई व्यवस्थित तरिकाले राखिएका छन् । ती खोरहरुमा उमेर समूह र जात अनुसार बाख्राहरुलाई बस्नका लागि व्यवस्था मिलाइएको छ ।

‘यसरी मिलाएर राख्दा बाख्राहरुको वृद्धिविकास राम्रोसँग हुन्छ’, उहाँले भन्नुभयो ।

बाख्रा पालनका लागि श्रीसले प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था तथा कृषि मन्त्रालयद्वारा कृषि ज्ञान केन्द्रमार्फत ६ लाख रुपैयाँ अनुदान पाउनुभएको छ । पछिल्लो समय जिल्लामा किसानहरु विस्तारै विस्तारै व्यवसायिकता तर्फ उन्मुख बन्दै भएको भन्दै गुल्मी जिल्लालाई बाख्राको स्रोत केन्द्रको रुपमा विकास गर्न सकिने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख अमरराज शर्मा घिमिरेले बताउनुभयो । 

‘हामीले उहाँले पालेका बाख्राहरुको अनुगमन गर्दा निकै राम्रो लाग्यो, जिल्लामा भार्सेलाई बाख्राको स्रोत केन्द्रको रुपमा विस्तार गर्ने सोच बनाएका छौँ’, घिमिरेले भन्नुभयो । 

सत्यवती गाउँपालिकालाई बाख्राको मासुमा आत्म निर्भर बनाउनका लागि गाउँपालिका पनि लागि परेको छ । व्यवसायिक कृषकहरुलाई अनुदान समेत उपलब्ध गराउँदै उनीहरुलाई थप व्यवसायिक बनाउँदै लैजाने पालिकाको योजना रहेको  सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले  बताउनु भयो । 

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया