एक वर्षमा ७५३ नेपालीले विदेशमा ज्यान गुमाए, क्षतिपूर्ति बापत ४८ करोड ४९ लाख खर्च

 साउन ५, २०७६ आइतबार १६:४७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको आर्थिक वर्ष २०७५/०७६ मा वैदेशिक रोजगारीका क्रममा ७५३ नेपाली कामदारले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । 

सबैभन्दा बढी मलेसियामा ५ महिला सहित २२९ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । बोर्डका अनुसार साउदी अरबमा एक महिलासहित १९४ र यूएईमा १० महिलासहित ८५ जनाले ज्यान गुमाएका छन् । 

कुवेतमा २९ जना र कोरियामा २० जनाले रोजगारीको क्रममा ज्यान गुमाएको बोर्डको तथ्याँक छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको सङ्ख्या भने घटेको छ । आर्थिक वर्ष २०७४/७५ मा ८ सय २१ जना नेपाली कामदारले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका थिए ।

आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका परिवारहरुलाई सरकारले ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ क्षतिपूर्ति र मृतकका छोराछोरीलाई १ करोड ६८ लाख रुपैयाँ बराको छात्रवृत्तिको दिएको वैदेशिक रोजगार बोर्डका सूचना अघिकारी दिनबन्धु सुवेदीले जानकारी दिनुभयो । 

यस्तै वैदेशिक रोजगारीका क्रममा ३३५ जनाको अंगभंग भएको छ । अंगभंग हुनेको लागि सरकारले ९ करोड १४ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरेको बोर्डले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया