वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? ठगीबाट बच्ने सजिलो उपाय

 साउन २१, २०७६ मंगलबार १५:७:२१ | सन्जिता देवकोटा

काठमाण्डौ – नवलपरासीका ईश्वरी पौडेल साउन १० गते यूएई उड्ने तयारीमा हुनुहुन्थ्यो । घरबाट ८ गते बिदा भएर निस्कने तयारीमा रहेका ईश्वरीलाई ५ गते नै काठमाण्डौबाट एक जना साथीले फोनमा भने, विदेश उडाउने एजेण्ट त भाग्यो ।

प्रहरीबाट अवकाश लिएका ईश्वरीलाई एजेण्ट रम्तुल्ला मियाले यति विश्वास दिलाएका थिए कि आफू प्रहरी भएर पनि शंका गर्ने ठाउँ नै भेट्नुभएको थिएन । भिसा आयो भन्दै इमोमार्फत कपी पठाएका थिए । १० गते उडान हुन्छ भनेर मिति नै तोकेका थिए ।

तर यति धेरै विश्वास दिलाएका एजेण्ट ईश्वरीको पैसा लिएर बेपत्ता भए । ईश्वरी त नचिनेका एजेण्टको कुरामा विश्वास गर्दा ठगीमा पर्नुभयो । तर बाराका बर्मदेव यादवलाई त आफ्नै मामाले ठगे ।

बर्मदेवलाई उहाँका मामाले असार १२ गतेभित्र ओमान पठाइदिने भन्दै ८५ हजार रुपैयाँ मागे । मामाले नै विदेश पठाइदिन्छु भनेकाले उहाँले सयकडा पाँचका दरले ऋण काढेर मागेजति पैसा दिनुभयो ।

तर टीकाटालो गरेर पैसा दिनुपर्ने मामा उल्टै भाञ्जाको पैसा कुम्ल्याएर फरार भए । पाँचथरका भुपेन्द्र बुढाथोकी कतार जानका लागि काठमाण्डौ आउनुभएको थियो । रसियाबाट फर्किएका एक जना आफन्तसँग भेट भयो ।

उनले अष्ट्रेलिया पठाइदिने एक एजेण्टसँग भेट गराइदिए । ‘खाडीमा पाँच वर्षमा हुने कमाइ त यूरोपियन देशमा एक वर्षमै हुन्छ, खाडी नजाउ भन्नुभयो, होला भनेर पत्याएँ, तर पैसा मात्र फस्यो,’ भुपेन्द्रले भन्नुभयो ।

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ लिएपछि एजेण्ट नरेन्द्र खाती फरार भए । घर धितो राखेर एजेण्टलाई पैसा बुझाएका भुपेन्द्रलाई बेपत्ता भएका एजेण्ट खोज्नु कि घरको किस्ता तिर्न काम गर्नु ? आपत परेको छ ।

तर हिजोआज विदेश जानका लागि यसरी एजेण्टको भर पर्न पर्दैन । आफू चनाखो हुने हो भने आफूले रोजेजस्तै काममा विदेश जाने र ठगीबाट बच्ने विभिन्न उपाय छन् ।

एजेण्टको भर नपर्ने

सरकारले एजेण्टको व्यवस्था खारेज गरिसकेको छ । कुनै पनि म्यानपावरले अब एजेण्ट राख्न पाउँदैनन् । त्यसैले कसैले यो कामका लागि यो ठाउँमा लगिदिन्छु भन्दै भन्छ भने त्यो गैरकानुनी हो । कोही पनि एजेण्टले अहिले वैदेशिक रोजगारीमा लैजान सक्दैन ।

एजेण्टको व्यवस्था खारेज भएसँगै कोही पनि व्यक्तिले अब वैदेशिक रोजगारसँग सम्बन्धित काम गर्न पाउने छैनन् ।

इजाजत प्राप्त म्यानपावरले मात्रै वैदेशिक रोजगारीसँग सम्बन्धित काम गर्न पाउँछन् । त्यसैले सबैभन्दा पहिले त कसैले विदेश पठाइदिन्छु भन्दै विभिन्न आश्वासन देखाउँछ भने सचेत हुनु पर्छ ।

कुनै पनि म्यानपावरबाट वैदेशिक रोजगारीसँग सम्बन्धित काम गर्दा वैदेशिक रोजगार विभागबाट इजाजत प्राप्त हो कि होइन, उसको अवस्था कस्तो छ, विभागको कारबाहीमा पो परेको छ कि भन्ने जस्ता कुरा बुझ्नु पर्छ ।

बैंकबाट कारोबार गर्दा सावधानी अपनाउने

हिजोआज विदेश पठाइदिन्छु भन्दै पैसा लिने र फरार हुने क्रम बढ्दो छ । प्रमाण नहुँदा न्याय पाउन पनि मुश्किल हुन्छ। त्यसैले विदेश जानका लागि कसैलाई पनि पैसा दिँदा आईएमई गर्दा होस् या अरु माध्यमबाट दिँदा होस्, वैदेशिक रोजगारीका लागि दिएको भनेर लेख्नु पर्छ ।

त्यस्तै वैदेशिक रोजगारीका लागि पैसा दिँदा बैंक खाताबाट बैंक खातामा पैसा पठाउनु हुँदैन । बैंकबाट बैंकमा पठाउँदा लेनदेन हुने र लेनदेनलाई विभागले कारबाही नगर्ने विभागका सूचना अधिकारी भोलानाथ गुरागाईँले बताउनुभयो ।

सकेसम्म बैंकमार्फत कारोबार नगर्न र आईएमईमार्फत पठाउँदा पनि वैदेशिक रोजगारीका लागि लेख्न उहाँको अनुरोध छ । प्रमाण बिना विभागले कारबाही नगर्ने भएकाले आर्थिक कारोबार गर्दा आफू सचेत हुन आवश्यक छ ।

मोबाइलबाटै जानकारी

सरकारले ‘वैदेशिक रोजगारी’ नामको मोबाइल एप पनि ल्याएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित महत्वपूर्ण सूचना मोबाइल एपबाट पनि पाउन सकिन्छ । यो एपबाट विदेश जानुअघि र विदेश पुगेपछि ध्यान दिनुपर्ने महत्वपूर्ण जानकारी पाइन्छ ।

पासपोर्ट नम्बर र स्टिकर नम्बरका आधारमा श्रम स्वीकृतिको विवरण लिन, म्यानपावर कम्पनीको बारेमा, अभिमुखीकरण तालिम प्रदायक संस्था तथा स्वास्थ्य परीक्षण गर्ने संस्थाको अवस्थालगायतका विवरण पाउन सकिन्छ ।

सम्बन्धित समाचार

एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आबद्ध बीमा कम्पनी र बैंकको विस्तृत विवरणसमेत एपबाट हेर्न सकिनेछ । रोजगारीका क्रममा केही समस्या आइपरे तत्काल सम्पर्क गर्न गन्तव्य देशमा रहेका महत्वपूर्ण निकाय तथा व्यक्ति, दूतावास, श्रम काउन्सुलर तथा श्रम सहचारीको सम्पर्क विवरण एपबाटै पाउन सकिन्छ ।

त्यस्तै सार्वजनिक सूचना, विभिन्न नीति नियम, प्रतिवेदनसमेत मोबाइलबाटै अध्ययन गर्न सकिन्छ ।

विदेशमा पाइने कामको घरमै बसेर हेर्न सकिन्छ

विदेशमा पाइने काम र सेवा सुविधाको बारेमा बुझ्न म्यानपावर वा एजेण्टको भर पर्नै पर्दैन ।

आफूले गर्न चाहेका काम कुन देशमा गर्न पाइन्छ र के के सेवा सुविधा पाइन्छ, त्यो काममा कुन म्यानपावरले पठाउँछ भन्ने कुरा अब वैदेशिक रोजगार विभागको वेबसाइटबाटै जानकारी लिन सकिन्छ ।

सम्बन्धित समाचार

हिजोआज डिमाण्डमा उल्लेख भएको भन्दा पनि धेरै सेवा, सुविधा पाइने भन्दै एजेण्ट र म्यानपावरले ठग्ने क्रम बढिरहेको छ । तर अब वेबसाइटबाटै यो जानकारी लिन सकिने हुँदा एजेण्ट र म्यानपावरले भनेको कुरालाई विभागको वेबसाइटमार्फत पनि जाँच्न सकिन्छ ।

कल सेन्टरमा फोन गरेर जानकारी

तपाईँलाई कसैले बढी पैसा माग्दैछ, या कुनै समस्यामा परेको छ भने कल सेन्टरमा तत्काल फोन गर्न सकिन्छ ।

वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेकाहरुका गुनासो र समस्या, देशभित्रको श्रम र सामाजिक सुरक्षा विषयका गुनासा र समस्या सुन्न र समाधान गर्न सिंहदरबारमा कल सेन्टर छ । कल सेन्टरमा बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म सम्पर्क गर्न सकिन्छ ।

स्वदेश तथा विदेशमा रहेकाले फोन, इमेल, इमो भाइवर लगायतबाट आफ्ना सुझाव, गुनासो वा जानकारी लिन सकिन्छ । देशभित्र भएकाहरुले ११४१ र १६६००१५०००५ नम्बरमा फोन गरेर गुनासो राख्न र जानकारी लिन सकिन्छ । विदेशमा हुनेहरुले भनेर ९७७ – १–५९७०००८ मार्फत फोन गरेर गुनासो वा जानकारी लिन सक्नेछन् ।

९७७ – १–५९७०००८ नम्बरमार्फत भाइवर, इमो म्यासेन्जरमार्फत आफ्नो गुनासो सुझाव र जानकारी लिन सकिने छ । साथै वैदेशिक रोजगार विभागमा रहेको टोल फ्रिमा फोन गरेर पनि आफ्नो गुनासो राख्न सकिन्छ ।

पालिकाहरुमा रोजगार सेवा केन्द्र

अहिले ७५३ वटै पालिकाहरुमा रोजगार सेवा केन्द्रको स्थापना भएको छ । यो सेवा केन्द्रबाट पनि सुरक्षित वैदेशिक रोजगारका बारेमा जानकारी लिन सकिन्छ ।

सेवा केन्द्रबाट बेरोजगारको विवरण संकलन गर्ने, अभिमुखीकरण लगायतका तालिम सञ्चालन गर्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र सरकारलाई आवश्यक जनशक्ति केन्द्रबाट उपलव्ध गराउने योजना बनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा नै जानकारी लिन सक्ने व्यवस्था पासपोर्ट बनाउन जाने सबैलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना दिने व्यवस्था मिलाइने भएको छ ।

प्रशासन कार्यालयमा रहेको सूचना केन्द्र वा हेल्प डेक्सबाट पनि वैदेशिक रोजगारी सम्बन्धी जानकारी लिन सकिनेछ । त्यस्तै अबदेखि पासपोर्ट बनाउन जाने सबैलाई सुरक्षित वैदेशिक रोजगारीका बारेमा जानकारी दिनेगरी काम अघि बढाउने विभागका सूचना अधिकारी भोलानाथ गुरागाईँले बताउनुभयो ।

‘वैदेशिक रोजगारीको सुरुवात पासपोर्ट बनाउने प्रक्रियाबाटै सुरु हुने भएकाले हामीले पासपोर्ट बनाउन जाने प्रत्येक नागरिकलाई सूचना दिने गरी अब काम अघि बढाउँछौं,’ सूचना अधिकारी गुरागाईँ भन्नुहुन्छ, ‘सबैभन्दा पहिला त व्यक्ति स्वयंलाई सुसूचित गराउन आवश्यक छ ।’

गएको आर्थिक वर्षमा मात्रै यसरी ठगीमा परेका २०३९ उजुरी वैदेशिक रोजगार विभागमा दर्ता भएको छ ।

वैदेशिक रोजगारीका क्रममा हुने ठगीबाट बच्न आफैं सचेत हुनु र पहिले विदेश गएर फर्किएका आफन्तसँग जानकारी लिन पनि सूचना अधिकारी गुरागाईँ सबैलाई अनुरोध गर्नुहुन्छ ।

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया