दिलबहादुर घर्ती बचाउन साउदी अरबबाट आठ लाख सहयोग, अब २५ लाख अपुग

 असार २६, २०७५ मंगलबार १७:४३:२ | उषा तामाङ
unn.prixa.net

काठमाडौं – ब्लड मनी तिर्न नसकेर साउदी अरबको जेलमा रहनुभएका रोल्पाका दिलबहादुर घर्ती मगरलाई मृत्यदण्डबाट बचाउन साउदी अरबबाट आठ लाख रुपैयाँ संकलन भएको छ । 

आदिवासी जनजाति महासंघ, साउदीका पूर्व अध्यक्ष तथा समाजसेवी हुम सुनारी मगरको नेतृत्वमा साउदीमा क्रियाशील संस्थाहरु पारिवारिक समाज नेपाल, नेपाली प्रवासी समाज, एनए मिडियालगायत साउदीमा रहेका नेपालीहरुले दिलबहादुर घर्तीको जीवन रक्षाका लागि आठ लाख २७ हजार एक सय १८ रुपैयाँ संकलन गरेका हुन् ।

साउदी अरबमा संकलित रकम नेपाल मगर संघले मंगलबार पत्रकार सम्मेलन गरेर ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लड मनी संकलन अभियान–२०७५’ मूल समितिलाई हस्तान्तरण गरेको छ । संकलित रकम मगर संघका अध्यक्ष नवीन रोकामगर र नेपाली प्रवासी समाजका पूर्व अध्यक्ष रामप्रसाद सापकोटाले ‘दिलबहादुर घर्ती बचाउनका लागि ब्लड मनी संकलन अभियान’ मूल आयोजक समितिका सदस्य तथा दिलबहादुरकी पत्नी मनिका बुढालाई हस्तान्तरण गरेका हुन् । 

रोल्पा नगरपालिका–१०, रोल्पा घर भएका दिलबहादुर विगत दुई वर्षदेखि साउदीको जेलमा हुनुहुन्छ । उहाँले चलाएको ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन आउँदा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाई मृतकका परिवारलाई २ लाख २५ हजार रियाल (करिब ६५ लाख रुपैयाँ) क्षतिपूर्ति दिन फैसला गरेको छ । साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गएको चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई ६५ लाख तिर्नैपर्ने भएको हो ।

पत्रकार सम्मेलनमा नेपाली प्रवासी समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार रामप्रसाद सापकोटाले दिलबहादुरको जीवन रक्षाका लाथि आर्थिक संकलन गरी हस्तान्तरण गर्न पाउँदा आफू खुशी रहेको बताउनुभयो । 

४० लाख जम्मा भयो

दिलबहादुरको जीवन रक्षाका लागि मूल समितिको नाममा खोलिएको खातामा ४० लाख रकम जम्मा भएको छ । सोमबार साउदी अरबबाट प्राप्त रकमसहित बैंक खातामा ४० लाख पुगेको मनिका बुढाले जानकारी दिनुभयो । 
 

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया