यूएईमा नेपाली दूतावासको लापर्वाही : बिनाजानकारी दूतावास बन्द गर्दा सेवाग्राही मर्कामा

 भदौ १५, २०७६ आइतबार १७:३९:५७ | उमाकान्त पाण्डे

यूएई – यूएईको पश्चिम साउदी अरब सीमा सीलामा कार्यरत पूर्ण शाही ठकुरी लाइसेन्स प्रमाणीकरणको लागि दुई दिन लगाएर आइतबार आबुधाबीमा रहेकाे नेपाली दूतावास पुग्नुभयो । तर दूतावास बन्द भएकाले उहाँको काम भएन ।  कुनै जानकारी नै नदिएर दूतावास बन्द भएकाे देख्दा उहाँ अचम्ममा पर्नुभयो ।

यूएईमा रहेको नेपाली दूतावासले सूचना सार्वजनिक नगरी दूतावास बन्द गर्दा पूर्णशाही ठकुरी जस्तै धेरै सेवाग्रही मर्कामा परेका छन् । स्थानीय क्यालेण्डर अनुसार अगस्ट ३१ शनिबारका दिन इस्लामिक नयाँ वर्ष अल हिजरी थियो । अल हिजरीकै अवसरमा दूतावास भने आइतबार बन्द गरिँदा सेवाग्राही मर्कामा परेका हुन् । 

सेवा लिन टाढा टाढाबाट दूतावास आइपुगेका सेवाग्राहीहरुको भिडले दूतावासको प्राङ्गण भरियो तर दूतावास भने खुलेन । कुनै सूचना प्रकाशित नगरेरै दूतावास बन्द भएकोमा सेवाग्राहीहरु आक्रोशित भएका छन् ।

‘इस्लामिक नयाँ वर्षको सार्वजनिक बिदा शनिबारका दिन भएकाले आइतबार कार्यालयहरु खुल्ने विश्वासमा राहदानी संकलन गर्न दूतावास आएको थिएँ, यहाँ त बन्द रहेछ’, कास्की पोखराका अर्जुन जोशीले भन्नुभयो, ‘हिजो दूतावासको सूचना वेभसाइटमा हेरेको थिएँ, आज यहीँ आएर पनि हेरेँ तर कुनै सूचना राखिएको छैन ।’

कार्यालय बन्द भएको देखेपछि आफूले यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाललाई फोन गरेको र राजदूतले अरुलाई नभन्नु भन्दै कर्मचारी खटाएर काम गर्न लगाएको जोशीले बताउनु भयो ।

आफूले राहदानी फाँटका कर्मचारी नारायण ज्ञवालीको निवासमा गइ हस्ताक्षर गराएर राहदानी पाएको जोशीले बताउनु भयो । 

दुई दिन अघिको मिति राखेर हतारमा सूचना टाँसियो

सूचना सार्वजनिक नभएको गुनासो बढेपछि गल्ती लुकाउन हतार-हतारमा दूतावासले आफ्नो कार्यलयभित्रको सूचना पार्टीमा सूचना टाँसेको छ । त्यस्तै दूतावासको वेवसाइटमा पनि दूई दिनअघिको मिति राखेर सूचना प्रकाशन गरिएको छ । 

यसअघि दूतावासका विभिन्न गतिविधि र सार्वजनिक सूचनाबारे वेवसाइट, सूचनापाटी र सामाजिक सञ्जालमा राखिने गरिन्थ्यो । तर नकारात्मक टिप्पणी आउने कारण दूतावासले केही महिनायता सामाजिक सञ्जालमा सूचना प्रकाशन गर्न छोडेको छ । 

दूतावासकै सूचना अधिकारीलाई बिदाबारे थाहा छैन 

आइतबार दूतावास बन्द रहने जानकारी दूतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीलाई समेत जानकारी थिएन । 

उहाँ शनिबारमात्रै आफ्नो बिदा सकेर यूएई फर्किनु भएको थियो । उज्यालोसँग कुरा गर्दै अधिकारीले भन्नुभयो, ‘कार्यालय जान तयार भएर बसेको थिएँ, सवारी नआएपछि फोन गरेर बुझ्दा पो आज बिदा रहेछ भन्ने थाहा पाएँ ।’   

कानुनी व्यवस्थाअनुसार विदेशमा रहेका नियोगहरुले सम्बन्धित देशको स्थानीय बिदालाईसमेत समायोजन गरेर वर्षमा बढीमा १८ दिन दूतावास बन्द गर्न पाउँछन् ।

त्यस्तै वार्षिक क्यालेण्डरमा उल्लेख भए पनि कम्तीमा कार्यालय बन्द हुने बारे १ हप्ता पहिले अलग्गै सूचना जारी गर्नुपर्ने सूचनाको हक सम्बन्धी ऐन २०६४ लाई कार्यन्वयन गर्न २०६५ मा बनेको नियमावलीमा उल्लेख उल्लेख छ ।    

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया