यूएईमा बस दुर्घटना : ३ नेपालीकाे ज्यान गयाे, घाइते १४ जनाको पहिचान खुल्याे

 माघ ३, २०७६ शुक्रबार ६:४६:४२ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा परि अहिलेसम्म ६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये तीन जना नेपालीकाे ज्यान गएकाे छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको यूएईमा रहेकाे नेपाली दूतावासले जनाएको छ ।

यूएईको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने महिला कामदार बोकेको मिनिबस बिहीबार बिहान आबुधाबीको अल रहा क्षेत्रमा लरीमा ठोक्किएर दुर्घटना हुँदा तीन जना नेपाली महिलासहित ६ जनाको ज्यान गएको हो । अन्य ज्यान गुमाउनेमा बसका चालक एक पाकिस्तानी पुरुष, एक जना श्रीलङ्काली र एक जना अफ्रिकन महिला कामदार रहेका छन् ।

दुर्घटना गम्भीर भएकाले शव पहिचान गर्न ढिलाइ भएको हो ।

काममा जान २४ जना कामदार चढेको बस दुर्घटना हुँदा घाइते भएका अन्य १४ जनाको पनि नाम र ठेगाना खुलेको छ । घाइते १४ जनामध्ये पाँच जनाको आबुधाबीको खालिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको छ । सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा र पवित्रा गुरुङ तथा ईलामकी सिता सुब्बाको एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै घाइते पाँच जनाकाे माफ्राक अस्पतालमा उपचार भइरहेको छ । मकवानपुरको टिस्टुङ पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, झापाकी मुना राई, दाङ घोराहीकी आशा घर्ती मगर र सुजला विश्वकर्मा (ठेगाना नखुलेको) छन् । त्यही अस्पतालमा उपचारत चितवनकी निर्मला प्रजा सामान्य उपचारपछि बिहीवार साँझ नै कम्पनीको क्याम्प फर्किनु भएको छ ।

त्यस्तै अलरहा अस्पतालमा मकवानपुर हेटौँडाकी मिना सिंह, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा उपचाररत हुनु हुन्छ । घाइते १२ जनाको अवस्था सामान्य रहे पनि नुवाकोटकी सरिता तामाङको अवस्था भने चिन्ताजनक रहेको अस्पताललाई उद्धृत गर्दे दूतावासले जनाएको छ ।

अस्पतालमा राजदूतसहित दूतावासको टोली

बिहीबार बिहान साढे ५ मा भएको दुर्घटनाबारे दूतावासले जानकारी पाए लगत्तै घटनास्थल र घाइतेहरुको अवस्था बुझ्न दूतावासका उच्च अधिकारीको टोली अस्पताल पुगेको थियो ।

राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्कीलगायत दूतावासका स्थानीय कर्मचारी घाइते उपचाररत अस्पताल पुगेका थिए । बिहीबार राति अबेरसम्म पनि दूतावासका प्रतिनिधि अस्पतालमै थिए ।

अस्पतालमा ट्रमा सेण्टरका चिकित्सक तथा कम्पनीका प्रतिनिधिसँग भेटेर राजदूत ढकालले घाइतेको अवस्थाबारे जानकारी लिनु भएको थियो । घाइते कामदारको उपचारसम्बन्धमा कम्पनीले कुनै कसुर बाँकी नराख्ने जनाएको श्रम काउन्सुलर भेषबहादुर कार्कीले बताउनु भयो ।

कम्पनीले दुर्घटनाबारे अन्य कामदारलाई नआत्तिन र सामाजिक सञ्जालमा जथाभाबी नलेख्न अनुरोध गरेको छ । कम्पनीले स्थानीय प्रशासन, अस्पताल तथा सम्बन्धित कामदारका देशका यूएईमा रहेकाे दूतावाससँग समन्वय गरिरहेको जनाएको छ । कामदार गुमाउँदा कम्पनी पनि शोकमा डुबेको छ ।

गएको असोज दोस्रो हप्ता दुबइ्कोई फर्स्ट सेक्युरिटी कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने कामदार बोकेको बस दुर्घटना हुँदा ६ जना नेपालीसहित आठ जनाको ज्यान गएको थियो । 

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Suraz Babu Poudel

    Jan. 17, 2020, 7:52 p.m.

    म पनि अबुधाबी मै छु यो खबर ले म चिसो बनायो । मृतक को आत्माले शान्ती पाओस अनि घाइते हरु प्रती सिग्र स्वास्थ्य लाभको कामना । के गर्ने स्वदेस मै केही गर्न सके हामी नेपाली यसरी अर्काको देशमा कुकुर बिराला जस्तो मर्नु त पर्दैन त्यो कि..😥😥

तपाईको प्रतिक्रिया