यूएईमा भिसा क्यान्सिल गरेका र भिजिट भिसामा आएकाहरु समस्यामा, सम्पर्क गर्न दूतावासको अनुरोध

 चैत १२, २०७६ बुधबार १३:१६:४९ | उज्यालो सहकर्मी

यूएई – यूएईमा कार्यरत लमजुङका दिपक शाही ठकुरीले कानुन अनुसार चैत २५ गतेभित्र नेपाल फर्किसक्नुपर्छ । हुन त उहाँले ९ गते नै नेपाल फर्कनका लागि टिकट पनि काटिसक्नुभएको थियो । तर ७ गतेदेखि नै सरकारले कोरोनाको जोखिम रहेका खाडी र मलेसिया लगायतका देशबाट नेपाल आउन प्रतिबन्ध लगाएपछि उहाँ यूएईमै रोकिनुभयो । 

‘काम छाडेर बसेको छु, भिसा पनि क्यान्सिल भइसक्यो, अप्रिल ६ भित्र यूएई छाडिसक्नपर्छ के गर्ने, तनावमा बसेको छु,’ दिपक आफ्नो समस्या सुनाउनुहुन्छ । भिसा अवधिभन्दा बढी बस्दा ओभरस्टे वापत धेरै रकम तिर्न पर्ने भएकाले पनि उहाँलाई चिन्ता छ । भन्नुहुन्छ, ‘यस्तै अवस्था रहे यहाँ बस्न खान त समस्या हुन्छ अब कसरी ओभरस्टे बापतको पैसा तिर्नु । उहाँले नेपाल फर्कन टिकट काटेको यअरलाइन्स यअर अरेबियाले पनि उडानका विषयमा यसै भन्न सकेको छैन ।

दुबईमै कार्यरत इटहरीका दिपक क्षेत्रीको भिसा गएको फ्रेबुअरी २३ मा सकिएको हो । भिसा सकिएपछि कम्पनीले उहाँलाई समयमै पासपोर्ट दिएको भए घर फर्किसक्नुहुन्थ्यो । कम्पनीले भिसा क्यान्सिल गरेर पासपोर्ट दिन ढिला गर्दा नेपाल सरकारले रोक लगाइदियो । भिसा सकिएको एक महिनाभित्र यूएई छाडिसक्नुपर्ने सरकारी नियम छ । तर नेपाल सरकारले बाटो बन्द गरेको छ । अब दैनिक ओभरस्टे अर्थात नियम अनुसार अबैध रुपमा बसेको ठहर्छ । दिपकलाई कोरोनाको त्राससँगै अर्को चिन्ता थपिएको छ ।

‘काम गर्न भिसा छैन, कम्पनीले क्यान्सल गरिसक्यो,’ दिपक सोध्नुहुन्छ, ‘यस्तो अवस्थामा के गर्नु कोरोनाको जोखिमसँगै अर्को चिन्ता पनि थपियो ।’
यूएईको क्यारिफोरमार्केटमा काम गर्ने काठमाण्डौ हाडीगाउँका राम धितालसहित उहाँका ३ जना साथी कम्पनीको भिसा रद्द गरेर नेपाल फर्किने तयारीमा हुनुहुन्थ्यो। तर कम्पनीबाट पास्पोर्ट नपाउँदै नेपाल र यूएईले आउने जानेबाटो बन्द गरेपछि उहाँलाई डरमाथि समस्या थपिएको छ । 

‘महँगो टिकट काटेर भए पनि घर जाने भनेको हो तर पाइएन, के गर्नु, यताको न उताको भइयो, काम पनि छाडिसकियो, कसरी बस्नु यहाँ,’ राम समस्या सुनाउनुहुन्छ । 

भिसा क्यान्सिल भएका र घर फर्कन लागेकालाई एउटा समस्या त छदै छ । भिजिट भिसामा आएर काम खोज्दै गरेका धेरै नेपालीहरु अहिले यूएईमा समस्यामा परेका छन् । 

नेपाल फर्की जान उडान छैन, बसी रहन पुग्ने पैसा छैन । कोरोनाको जोखिमबाट बच्न सतर्कता अपनाउनु त परको कुरा उनीहरुलाई खानाको जोहो गर्न समेत समस्या छ । रुपन्देही खैरेनिका दिनेश क्षेत्री दुई महिना अघि यूएई आउनुभएको हो । भिजिट भिसामा आएर काम खोज्दै गर्दा उहाँले एउटा कम्पनीलाई आफ्नो पासपोर्ट पनि बुझाउनुभयो । तर कोरोनाको जोखिम बढ्दै जाँदा कम्पनी नै बन्द भयो । अहिले सम्पर्कसमेत छैन । पासपोर्ट पनि कम्पनीले नै राखेकाले उहाँ अहिले अलपत्र नै पर्नुभएको छ ।

‘कम्पनीले सम्झौता पत्र पनि दिएको थियो, तर काम सुरु हुने बेलामा कम्पनी बन्द भयो,’ दिनेश भन्नुहुन्छ,’ ‘म त अहिले अलपत्र जस्तै भएको छु, हामी जस्तालाई दूतावासले के सहयोग गर्छ होला ।’

भिजिट भिसामा आउने सबै काम खोज्दै मात्र आउँदैनन् । स्याङ्जाका गोपाल पराजुलीले भिजिट भिसामा आफ्नो परिवारलाई यूएई घुमाउन ल्याउनु भएको थियो । उहाँहरुको भिसा सकिन अब दुई दिन मात्रै बाँकी छ । तर फर्कन पाउने छैनन् । परिवारलाई घर फर्काउने तयारी गरिरहेकै बेला आफू र परिवार समस्या परेका उहाँ बताउनुहुन्छ  ।

दूतावासमा सम्पर्क गर्नुहोस्

यस्तै समस्या पर्ने नेपाली श्रमिकलाई सम्पर्क गर्न यूएएमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । यूएई सरकारले कोरोनाको कारण उत्पन्न परिस्थितीले कुनै पनि देशका नागरिकलाई समस्या पर्न नदिने र परेकालाई सम्बन्धित देशको दूतावासमार्फत समस्याको सम्बोधन गर्ने बताएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभयो ।

दूतावासले त्यसरी समस्यामा परेका नेपाली नागरिकसँग विभिन्न माध्यममार्फत सम्पर्क गर्ने, उनीहरुको तथ्यांक राख्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने गरी श्रम काउन्सिलर निर्मला थापालाई सम्पर्क व्यक्ति तोकिएकाे राजदूत ढकालले बताउनुभयो । 

कोरोनाका कारण उत्पन्न कुनै पनि परिस्थितीले समस्यामा परेको भए दूतावासको सम्पर्क नम्बर, दूतावासको फेसबूक पेज, सामाजिक संघसस्था तथा जुनसुकै माध्यममार्फत पनि सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सकिन्छ ।

यूएईमा घुम्न आएका र भिसा अवधि सकिंदा पनि स्वदेश फर्कन नपाएकालाई कानुन अनुसार नै बस्न पाउने यूएईले बताएको छ ।

अहिले कोरोना भाइरसको सङक्रमणका कारण विभिन्न देशले उडान रद्द गरेका छन् । प्रवेशमा पनि प्रतिबन्ध लगाएका कारण नेपालीसहित अरु देशका नागरिक पनि आफनो देश फर्कन सक्ने अवस्था छैन ।

त्यसैले यस्तो अवस्था हुने विदेशी नागरिकलाई समय थप गरिदिने र कानुनअनुसार नै बस्न पाइने यूएईको सरकारी निकायले जनाएको छ । यसका लागि केही दिनमै नयाँ प्रावधान जारी गर्ने भएकाले नआत्तिन यूएईले आग्रह गरेको छ । 

तपाईको प्रतिक्रिया