यूएईको इमिरेट्स ट्याक्सी क्याब कम्पनीमा ३० जना नेपाली समस्यामा

 चैत १३, २०७६ बिहिबार १९:३२:६ | उमाकान्त पाण्डे

यूएई – यूएईको सारजाहमा रहेको इमिरेट्स ट्याक्सी क्याब कम्पनीमा ३० जना नेपाली समस्यामा परेका छन् । ट्याक्सी कम्पनीमा चालकको रुपमा झण्डै एक वर्ष पहिले अएका उनीहरु काम र सेवा सुविधा नपाएपछि समस्या परेका हुन् ।

सवारी चालकको अनुमति पाएपछि आफैंले कोठा लिएर बसेको भए पनि एक महिनादेखि काम पनि नपाएको र पाउनुपर्ने सेवासुविधा नपाएपछि समस्यमा परको पीडित श्रमिकले बताएका छन् ।

समस्यामा पर्नेमा रौतहटका राजबहादुर तामाङ, मोरङका गोपाल खड्का, बर्दियाका मानबहादुर थापा, नुवाकोटका सूर्यबहादुर तामाङ, ताप्लेजुङका सुनिल कार्की, नुवाकोटका बुद्धिबहादुर तामाङ रहेका छन् ।

यस्तै मकवानपुरका पुरुषोत्तम थापा, काभ्रेका तिलक मोक्तान, उमेश सुनुवार, जयसिङ लामा तामाङ र रामचन्द्र दुनार, नवलपरासीका किस्मतनाथ कुँवर, रुपन्देहीका गोविन्द थारु चौधरी र दीपेन्द्र यादव, झापाका नैनाबहादुर बोहोरा र विकास भट्टराई, उदयपुरका निश्चल अधिकारी, नवलपरासीका इन्दुबहादुर महतो र दिपक घिमिरे क्षेत्री, खोटाङका वीरकुमार राई, तनहुँका राजकुमार नेपाली र धनुषाका डम्मरबहादुर मगर समस्यामा परेका हुन् ।

गोरखाका मोहम्मद कलिम मिया, काठमाण्डौका राजेन्द्र खड्का, चितवनका नेत्रराज सिम्खडा र नवराज गुरुङ, गुल्मीका नारायण भण्डारी, ओखलढुङाका भविराज सुनार, इलामका रमेश बुढाथोकी र रामेछापका सागर बस्नेत एक महिनादेखि समस्यामा परेका छन् ।

नेपालबाट ओशो तथा फ्युचर म्यानपावरमार्फत १ लाख ५० हजारदेखि ३ लाख ३५ हजार रुपैयाँसम्म तिरेर यूएई आएका उनीहरु धेरैले गरेको कामको पैसा समेत नपाएको बताएका छन् । यूएईमा रहेको नेपाली दूतावासमा निवेदन दिए पनि उद्दार गर्न ढिलाई भएको उनीहरुको गुनासो छ ।

श्रमिक समस्यामा परेकोबारे जानकारी पाएपछि श्रम सहचारी मोतिराम भुसाल र त्योभन्दा पहिले श्रम काउन्सिलर निर्मला थापालाई उनीहरु बसेको क्याम्पमै पठाएर अवस्थाबारे जानकारी लिएको दूतावासले जनाएको छ ।

म्यानपावर कम्पनी र यहाँको रोजगारदाता कम्पनी दुबैले समस्यामा परेका उनीहरुको समस्याबारे संवेदनशील भएर सम्बोधन नगरेको दूतावासको भनाइ छ । श्रमिकको समस्या समाधान नहुँदै कोरोना भाइरसको सङक्रमणको प्रभावले हवाइ उडान बन्द हुँदा कसैलाई पनि नेपाल पठाउन सकिएको छैन ।

अहिले बस्दै आएको कोठा भोलि शुक्रबारदेखि खाली गर्नुपर्ने भनेपछि उनीहरु थप समस्यामा परेका छन् । पटक पटक संघसस्था तथा दूतावासमा उद्दारका लागि निवेदन दिँदा पनि उद्दार नभएको भन्दै सामाजिक सञ्जालहरुमा फोटो भिडियो सार्वजनिक गर्दै सहयोगका लागि उनीहरुले अनुरोध गर्न थालेका छन् ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया