बर्दियामा भारतलगायतका देशबाट आएका व्यक्तिको लगत राखिँदै

 चैत १४, २०७६ शुक्रबार १३:२१:१३ | भावुक योगी
unn.prixa.net

बर्दिया - कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिन नदिन बर्दियाका पालिकाहरुले भारत लगायत बाह्य देशबाट घर फर्केकाहरुको लगत संकलन गर्न सुरु गरेको छ । 

नेपालमा 'लकडाउन' नहुँदै र 'लकडाउन'कै बेला अन्य देशबाट घर फर्केका व्यक्तिहरुको खोजी सुरु गर्न ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाले तदारुकता देखाएका हुन् । 

बिहीबारबाट सुरु गरिएको अभियानमा ठाकुरबाबा नगरपालिकाले एक जना स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सुरक्षाकर्मी गरी प्रत्येक वडामा ४ जनाको टोली खटाएको स्वास्थ्य शाखाका इन्द्रराज राजबंशीले जानकारी दिनुभयो । 

टोलीले बाहिरबाट आएका व्यक्तिको पहिचान गरी घरमै पुगेर स्वास्थ्य जाँच गर्ने, परामर्श दिने र घरमा सुरक्षित भएर बस्न आग्रह गर्ने गरेको छ । स्वास्थ्य जाँचका क्रममा कोरोनाको कुनै पनि लक्षण देखिए तुरुन्त क्वरेन्टीनमा लगेर राखिने स्वास्थ्यकर्मी विष्णुप्रसाद ज्ञवालीले बताउनुभयो । 

स्वास्थ्य जाँच तथा परामर्श टोली ठाकुरबाबा नगरपालिकाका ९ वटै वडामा परिचालन गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिनुभयो । टोलीले २ देखि ४ दिनभित्रै काम सक्ने नगरपालिकाले जनाएको छ  । 

'यो महामारीविरुद्धको लडाइँ हो, यसलाई रोक्न सबैले सजगता अपनाउनै पर्छ, यस्तो अवस्थामा नगरवासीको स्वास्थ्यप्रति स्थानीर निकै संवेदनशील छ’, नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।

सरकारले आह्वान गरेको लकडाउनलाई पूर्ण रुपले पालना गर्न पालिकाहरुले सामाजिक सञ्जालमार्फत तथा माइकिङ गरी दिनहुँजसो अनुरोध गर्ने गरेका छन् । बारबर्दिया नगरपालिकाले आफ्नो पालिकामा प्रवेश गर्ने एउटा झोलुगें पुलमा ताला लगाएर आवागमन बन्द गरेको छ । सरकारले लकडाउन गर्दागर्दै पनि मानिसको आवतजावत नरोकिएको भन्दै बारबर्दिया नगरपालिकाले चैत्र १८ गतेसम्मका लागि कुसुम्बाघाटको झोलुंगे पुल बन्द गरेको छ ।

ठाकुरबाबा नगरपालिकाको त्रिभुवन माध्यमिक विद्यालयमा क्वरेण्टीनको व्यवस्था गरिएको छ । गुलरिया, बारबर्दिया, मधुवन र बाँसगढी नगरपालिकाले क्वरेन्टीन र आइसोलेसन बनाइसकेका छन् भने राजापुर नगरपालिका, गेरुवा गाउँपालिका र बढैयाताल गाउँपालिकाले निर्माण कार्यलाई अघि बढाएका छन् ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया