अप्ठेरोमा परेका नेपाली कामदारको लागि महत्वपूर्ण जानकारी

 चैत १५, २०७६ शनिबार १०:४९:२३ | उज्यालो सहकर्मी

काठमाण्डौ – तपाईँ खाडीका देश र मलेसियामा हुनुहुन्छ र कोरोनाका कारण भिसाको म्याद थप्न, आइडीकार्ड नवीकरण गर्न, करार सकिएपछि पनि नेपाल फर्कन नपाएर अप्ठेरोमा पर्नु भएको छ ? कोरोनाका कारण कम्पनीमा काम बन्द भएर घरमै बस्नु परेको छ अथवा कागजात बिहीन हुनुहुन्छ ? यस्तो समस्यामा हुनुहुन्छ भने नआत्तिनुहोस् ।

किनकी यो समस्या संसारभरि फैलिएको कोरोना भाइरसका कारणले भएको हो । तपाईँले काम गर्ने कम्पनी, विमान कम्पनी, सरकार र दूतावासहरुले तपाईँ जस्ता अप्ठेरोमा परेका कामदारका लागि सहयोग गर्ने प्रयास गरिरहेका छन् ।

विदेशमा कामबिहीन भएका र खान बस्न समस्या भएका श्रमिकलाई खाने बस्ने व्यवस्था मिलाउन नेपाल सरकारले नेपाली दूतावासलाई निर्देशन दिईसकेको छ । तलका जानकारीहरु लिनुहोस् र यहाँ नभएको समस्या आई परे जानकारी, सल्लाह र सहयोग लिन नेपाली दूतावासहरुमा सम्पर्क गर्नुहोस् । 

 

- नेपाल फर्कने टिकट काट्नुभएको छ, तर सरकारले यात्रामा रोक लगाएको कारण देश फर्कन पाउनुभएन भने एअरलाइन्स कम्पनीसँग सम्पर्क गर्नुहोस् । आफ्नो समस्या बताउनोस् । अहिले धेरै एअरलाइन्स कम्पनीले बिना शुल्क यात्रा मिति सारिदिन्छन् । 

-  कतारको भिसा वा कतारको आईडीको म्याद सकिएको छ भने सबैभन्दा पहिला आफ्नो कम्पनी, रोजगारदातासँग समन्वय गरी नवीकरण गर्नुहोस् । 

-  भिजिट भिसामा कतार जानुभएको छ भने आफन्त वा स्पोन्सरमार्फत कतारको अध्यागमन कार्यालयमा सम्पर्क गरी अवधि बढाउने प्रकृया सुरु गर्नुहोस् । 

-  छुट्टीमा घर आएको बेला कतारको भिसाको म्याद सकिएर काममा फर्कन नपाए पनि चिन्ता नगर्नुहोस् । आफूलाई परेको समस्या कतारमा रहेको आफ्नो रोजगारदातालाई जानकरी दिनुहोस् । थप जानकारीका लागि दूतावासमा सम्पर्क गर्नुहोस् वा बेलाबेलामा वेबसाइटमा आउने जानकारी हेर्ने गर्नुहोस् ।

-  छुट्टीमा घर आएको बेला कतारको भिसाको म्याद सकिएर काममा फर्कन नपाए पछि फर्कन पाईन्छ । यात्रामा रोक लगाएको बेला आईडीको म्याद सकिएकाहरुको लागि स्थिति सामान्य भएपछि कतार सरकारले कुनै न कुनै व्यवस्था गर्ने कुरामा विश्वास गर्नुहोस् ।  

-  पटक पटक सामान किन्न निस्कंदा दुःख पाइने संभावना बढी हुन्छ । त्यसैले आफूलाई चाहिने सामान लिस्ट बनाएर एकैपल्ट किन्न बाहिर निस्कनु होस् । 

 

-  बिदामा घर आएका बेला उडान बन्द भयो । काममा फर्कन नपाउँदै भिसा सकिन लागेको छ भने आफ्नो रोजगारदातालाई खबर गर्नुहोस् । 

-  तपाईँको उपस्थिति नभए पनि रोजगारदाताले कुवेतको भिसाका लागि अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था गरेको छ । 

-  भिसा नवीकरणका लागि रोजगारदाता कम्पनीले www.moi.gov.kw मा गई युजर नेम बनाई कुवेतको आवासीय भिसा नवीकरण गरिदिनेछन् । बरु यो जानकारी तपाईँ आफैं रोजगारदातालाई दिनुहोस् ।

-  तपाईँ कुवेतमै हुनुहुन्छ र भिसा सकिन लागेको छ । तर कोरोना भाइरसका कारण नवीकरण भएको छैन भने आफ्नो रोजगारदातालाई भन्नुुहोस् ।  रोजगारदाता कम्पनी वा व्यवस्थापकले  www.moi.gov.kw मा युजरनेम बनाई अनलाइनबाटै भिसा नवीकरण गरिदिनेछन् ।

-  काम गर्ने भिसा – १८ र घरेलु श्रमिक भिसा– २० दुवै खालको भिसा यही प्रक्रियामार्फत नवीकरण गर्न सकिन्छ । 

-  अहिले कुवेत सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि कर्फ्यु लगाएको छ । यस्तो बेला बाहिर नहिँड्नुहोस् । कुवेत सरकारले जारी गरेको सुरक्षा सतर्कता अपनाउनुहोस् र कम्पनीको नियम पनि पालना गर्नुहोस् ।

-  साउदी अरेवियाले फाइनल एक्जिट भिसा, एक्जिट भिसा, र रि इन्ट्रि भिसा लागेका विदेशी नागरिकलाई यस्तो भिसा क्यान्सिल गरी लाग्नसक्ने जारिबानाबाट बच्न अनुरोध गरेको छ । 

-  त्यसैले यस्तो छाप आफ्नो पासपोर्टमा लागेको भएमा साउदीको आन्तरिक मन्त्रालयको वेवसाइट Absher वा Muqeem बाट यो छाप हटाउने प्रक्रिया अघि बढाउनुहोस् ।

-  यो पोर्टलबाट सेवा लिन समस्या भएमा दूतावासको हटलाइन ०५५९३८९६०० नम्बरको ह्वाट्एपमार्फत आफ्नो विवरण पठाउनुहोस् । प्रक्रिया अघि बढाउन तपाईँलाई दूतावासले सहयोग गर्छ ।

-  साउदीमा अहिले केही सहरमा रात्रीकालीन र रियाद, मक्का र मदिनामा स्थानीय समयअनुसार दिउँसोको तीन बजेदेखि नै कर्फ्यु लागिरहेको छ । सबैभन्दा पहिला कर्फ्युको पालना गर्नुहोस् ।

-  कोरोनाको जोखिमबाट बच्न सुरक्षा सतर्कता अपनाउनुहोस् ।

-  यूएईमा उडान रद्द भएका कारण भिसा अवधि सकिएकाको हकमा भिसा तथा श्रम स्वीकृति नवीकरण गर्न सकिन्छ ।

-  छुट्टीमा नेपाल आएर हवाइ उडान रोकिएका कारण यूएई फर्कन पाउनुभएको छैन भने युएइको अवस्था सामान्य नहुञ्जेल नेपालमै सुरक्षित र ढुक्क भएर बस्नुहोस् । आफ्नो अवस्था र परिस्थितिबारे रोजगारदाता कम्पनीलाई जानकारी गराउनुहोस् । 

-  पर्यटक भिसामा घुम्न यूएई जानुभएको थियो, भिसा पनि सकिन लागेको बेला यात्रा प्रतिबन्धले उतै रोकिन पर्‍यो भने पनि नआत्तिनुहोस् । यूएईले पर्यटक भिसामा यूएईमा गएका र फिर्न नपाएका विदेशी नागरिकलाई समय थप गरिदिने भएको छ । 

-  यस्ता समस्या छन् र दूतावासको सहयोग चाहिएको छ भने यूएईमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न सकिन्छ । कोरोनाका कारण उत्पन्न परिस्थितीले समस्यामा परेको भए आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५ नम्बरमा सम्पर्क गरेर सहयोग लिनुहोस् । 

-  ओमानमा पनि भिसा, आइडी वा करार अवधि सकिन लागेको छ भने ओमानमा रहेको नेपाली दूतावासका द्वितीय सचिव सुमेश थापालाई ७१५३०८४० मा सम्पर्क गर्नुहोस् ।

-  यस्तै कोरोनाका कारण कुनै समस्या उत्पन्न भएमा दूतावासको हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन सकिन्छ । 

कोरोनाको शंका लागेमा ओमानको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर २४४४१९९ मा सम्पर्क गर्न सकिन्छ । 

-  घर फर्कन टिकट काटिसक्नु भएको थियो, तर कोरोनाका कारण उडान रद्द हुँदा घर फर्कन पाउनुभएन र त्यहीँ अड्किनु परेको छ भने दूतावासमा सम्पर्क गर्नुहोस्। बहराइनमा रहेको नेपाली दूतावासले नै यस्ता समस्या समाधान गर्न सहयोग गर्छ । 

-  ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा तुरुन्त सम्पर्क गर्नुहोस् । आफ्नो स्वास्थ्यसँग सम्झौता नगर्नुहोस् ।

-  जस्तोसुकै समस्या परे पनि बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३ मा सम्पर्क गरेर आफ्नो समस्या जानकारी गराउनोस् । 

-  रोजगारदाता कम्पनी र बहराइन सरकारले जारी गरेको सुरक्षा सतर्कता अपनाउनुहोस् । कोरोनाको जोखिमबाट बच्नुहोस् ।

-   नेपाल फिर्ता हुने टिकट थियो, तर क्यान्सल भयो अनि भिसा पनि सकिंदै छ भने सबैभन्दा पहिला कम्पनीलाई जानकारी गराउनुहोस् । 

-  भिसा सम्बन्धी समस्या समाधानका लागि मलेसियाको अध्यागमन विभागमा सम्पर्क गर्नुहोस् ।

-  घर बिदामा नेपाल आउनुभएको छ तर कोरोनाका कारण तोकिएको समयमै फर्कन पाउनुभएको छैन भने रोजगारदातालाई सो कुराको स्पष्ट जानकारी दिनुुहोस् । अवस्था सामान्य नहुँदासम्म सुरक्षित भएर कोरोनाबाट जोगिन घरमै बस्नुहोस् । 

-  कुनै समस्या परेमा अथवा थप जानकारी र सहयोगका चाहिएमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्नुहोस् ।

 

2 Comments

  • Ishwor Thapaliya

    March 31, 2020, 12:08 a.m.

    I want to request Nepalese government please let us entry on Nepal as soon as possible.no matter we will be ready to stay on quarantine and follow rules and regulations.even we die on Nepal it’s fine at least we can be together with our family🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • बिश्वप्रताप सिं तामाङ

    March 28, 2020, 11:51 a.m.

    हामि युरोपमा घुम्न आएको सन्दर्भमा के छ प्रक्रिया?? मेरो भिसा सकिदैछु ... म अहिले फ्रान्समा छु

तपाईको प्रतिक्रिया