पाँचथरमा विदेशबाट फर्किएका एक तिहाइ क्वरेण्टीन बाहिर, तनहुँमा स्वास्थ्य स‌ंस्थाकाे सम्पर्कमा

 चैत १८, २०७६ मंगलबार ९:२९:३० | रासस

पाँचथरमा विदेशबाट फर्किएका एक तिहाइभन्दा बढी मानिस क्वरेन्टीन तथा होम क्वरेण्टीनभन्दा बाहिर रहेका छन् भने तनहुँमा विदेशबाट घर फर्किएका पाँच सय १० जना स्वास्थ्य कार्यालयको सम्पर्कमा आएका छन् । 

विदेशमा तथा यात्राका क्रममा कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने आशङ्कामा चैत महिनाभित्र नेपाल आएका व्यक्तिलाई क्वरेण्टीनमा राख्ने भनिए पनि पाँचथरमा त्यस्ता करीब ३३ प्रतिशत मानिस कुनै पनि प्रकारको क्वरेण्टीनमा नरहेको तथ्याङ्कले देखाएको हाे । 

भारत सहित अन्य विदेशी देशबाट आएका मानिस तथा उनीहरुको परिवारका सदस्य क्वरेण्टीनमा नरहँदा कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने सम्भावना हुनाका साथै ग्रामीण क्षेत्रमा सङ्क्रमण फैलिने भयसमेत सिर्जना भएको छ ।  कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा प्रतिकार्य जिल्ला समन्वय समितिको सोमबार साँझसम्मको तथ्याङ्कानुसार चैत शुरु भएयता १४९ जना विदेशबाट आएका छन् । आएकामध्ये ५४ जना क्वरेण्टीनमा बसेका छन् भने ३५ जना होम क्वारेन्टाइनमा  छन् । तीन जना आइसोलेशनमा तथा चार जना मोरङको मिक्जालुङमा रहेको क्वरेण्टीनमा छन् । बाँकी सरकारी निकायको सम्पर्कभन्दा बाहिर छन् । उनीहरुले सतर्कता  अपनाए/नपनाएको तथा कोरोना भाइरसबारे सचेत रहे/नरहेको प्रष्ट छैन् ।

प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले विदेशबाट आएका सबैलाई क्वारेण्टीनमा राख्न नसक्नु चिन्ताको विषय भएको बताउनुभयो । 'सबैलाई पक्राउ गरेर क्वरेण्टीनमा राख्ने कुरा पनि भएन', प्रजिअ शर्माले भन्नुभयो, 'सबै पक्ष लाग्दासमेत सबैलाई क्वरेण्टीनमा ल्याउन सकिएको छैन ।'

तनहुँमा विदेशबाट आएकाहरु स्वास्थ्य कार्यालयको सम्पर्कमा

तनहुँमा विदेशबाट घर फर्किएका पाँच सय १० जना स्वास्थ्य कार्यालयको सम्पर्कमा आएका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार उनीहरूमा कुनै समस्या देखिएको छैन र सामान्य अवस्थामा पाइएकाले अहिले होम क्वरेण्टीनमा सुरक्षित रहन भनिएको छ । 

उनीहरू करीब दुई हप्ताकाे अवधिमा भारत, संयुक्त अरब इमिरेट्स, कतार, अमेरिका, जापान, अष्ट्रेलिया, मलेसियालगायत विभिन्न देशबाट फर्किएका हुन् ।जिल्लाका १० वटै स्थानीय तहमा गठन गरिएको शीघ्र प्रतिकार्य समूहको सहयोगमार्फत आइतबारसम्म उनीहरूको तथ्याङ्क सङ्कलन गरिएको होे । समयसमयमा चिकित्सकद्वारा घरमै क्वरेण्टीनमा रहेका उनीहरूको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ । 

विदेशबाट फर्किएकाहरकाे लागि भनेर तनहुँमा ५३ शय्याको आइसोलेशन वार्ड पनि निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया