परदेशमा हुने तपाईँहरुको पीडासँग सरकार साथमा छ, नआत्तिनुहोस्, कुनै जोखिम नउठाउनुहोस्

 चैत १८, २०७६ मंगलबार १४:४३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

मलाई परदेशमा रहनुभएका तपाईँहरुको अवस्थाबारे जानकारी छ । खाडी र जापान, दक्षिण कोरिया, मलेसिया लगायतका देशमा रहेका नियोग प्रमुखसँग नियमित कुराकानी गरेर मैले उहाँहरुमार्फत त्यहाँको अवस्थाबारे जानकारी लिइरहेको छु । 

खाडीका देश र मलेसिया हाम्रो प्रमुख श्रम गन्तव्य देशका राजदूतहरुलाई त्यहाँ रहेका नेपाली श्रमिकसँग नियमित सम्पर्कमा रहन सरकारले प्रष्ट निर्देशन दिएको छ।२४ घण्टे हटलाइनको व्यवस्था गर्न र कुनै पनि खालको समस्या श्रमिकलाई पर्छ भने आवश्यक सुविधाहरु उपलब्ध गराउनु भनेर भनेका छौं ।

लाखौंं श्रमिक रहका खाडीका देश र मलेसियामा अहिलेसम्म बहराइनमा तीन र यूएईमा चार नेपाली मात्र सङक्रमित भएका छन् । अरु श्रमिक सुरक्षित हुनुहुन्छ । सङ्क्रमितको अवस्था पनि सामान्य रहेको त्यहाँ रहेका नियोगले बताएका छन् । यो संकटका बेला सबै देशले आफ्नो नागरिक सरह विदेशी श्रमिकलाई पनि उपचार दिने व्यवस्था गरेका छन् । यो एक सुखद पक्ष हो । 

कतिपय ठाउँमा हाम्रा श्रमिकहरुले करार अवधि सकिएर, कहीँ भिसा सकिएर केही अप्ठेराहरु भोगिरहनुभएको छ । तर सम्बन्धित देशका सरकारहरुसँग हाम्रा दूतावासहरुले समन्वय गरेर भिसा र करारकै कारणले भोलि कुनै कानुनी झण्झट खेप्न नपर्ने र अहिलेको अवस्थामा त्यहाँ बस्न समस्या नहुने गरी समन्वय गरिरहेका छन् । 

कतिपय ठाउँमा जागिर खोसिने हो कि, जागिरबाट निकालिदिने पो हो कि भन्ने चिन्ता पनि परेको छ । तर यो संकट फैलनुमा श्रमिकको त कुनै हात छैन । श्रमिकका कारण कम्पनी संकटमा परेको त हैन, त्यसैले पनि श्रम कानुन अनुसार जागिरबाट जबरजस्ती यो संकटका बेला निकाल्न मिल्दैन । यो कुरामा दूतावासबाट समन्वय भैरहेको छ । 

यी क्षेत्रमा रहने श्रमिक साथीलाई भिसा र करारको अवधि सकियो भनेर नआत्तिन म आग्रह गर्छु । यस्तो संकटका बेला दूतावासहरुले यहाँहरुलाई आवश्यक सहयोग गर्नेछ । त्यहाँको सरकारले जारी गरेका आदेशहरु कडाइका साथ पालना गर्नुहोला । कहिलेकाहीँ यसो नगर्दा पनि कारबाहीमा परिन्छ । यस्तो संकटका बेला कतारबाट केही साथीहरु देश निकाला हुनु पर्‍यो । यो हाम्रो लागि राम्रो भएन । 

उहाँहरुले जानेर नजानेर निषेध गरिएका ठाउँमा जानुभयो या सूचनाको अभावले भयो । तर आवश्यक नियम पालना नहुँदा कानुनी कारबाहीमा पर्ने अवस्था भयो । त्यसैले अब त्यो नहोस् भन्नका निम्ति तपाईँ जहाँ हुनुहुन्छ, त्यस देशले जारी गरेका नियम पालना गर्नुहोला । अहिले यति गर्दागर्दै पनि तपार्इँलाई समस्या पर्‍यो भने दूतावासले सहयोग गरिरहेका छन् ।

खाडी र मलेसियासँगै यो बेला भारतमा काम गर्ने नेपालीहरु पनि समस्यामा पर्नुभएको छ । नेपालीको सङ्ख्या थोरै होला । तर भारतीय मिडियाले ज्याला मजदुरी गर्नेहरु काम बन्द भएपछि लाम लागेर हिँडेरै घर फर्किन थालेको खबरहरु दिइरहेका छन् ।  तर बसहरु बन्द छन् र उहाँहरु बसपार्कमा लाखौंको सख्यामा लाम लागेको हामीले देखेका छौं । मेरो एउटै आग्रह छ, भातबाट आउने या अरु तेस्रो देशबाट आउने दाजुभाइ दिदीबहिनीहरुलाई अहिले जोखिम मोलेर घर फर्कन नखोज्नुहोस् ।

बाटोमा हामी कोही पनि सुरक्षित हुँदैनौं । बाटो हिँड्दाहिँड्दै झन सङ्क्रमणको जोखिम बढी हुन्छ । अहिले नेपालमा देखिएका सबै सङ्क्रमणहरु प्रायः यात्राको दौरानमा, या त ट्रान्जिटमा या त जहाजमै भएको अवस्था हो । 

तपाईँहरुको पीडा सरकारलाई थाहा छ । एकदमै सङ्कट परेका बेला सरकारले केही न केही उपया त खोज्छ । तर अहिले हतार गरेर, जोखिम मोलेर नेपाल नै फर्कनुभन्दा पनि जो जो जहाँ छौं त्यहाँ नै दुःखकष्ट गरेर सुरक्षित साथ बसौं । 

नजिकको दूतावासमा सम्पर्क गर्नुहोस् र सक्दो सहयोग दूतावासले पनि पुर्‍याउने छन् । अवस्था अलिकति अनकूल हुनसाथ तपाईँहरु देश फर्कने बाटोको बारेमा पनि हामी सोच्ने छौं । तपाईँहरुको पीडासँग नेपाल सरकार साथमा छ । यो खतराको समयमा जोखिम मोल्ने काम चाहिँ नर्गनुहोस् भन्ने मेरो बिनम्र अनुरोध छ ।

(परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीसँग गरिएको कुराकानीमा आधारित ।)
 

3 Comments

  • गोविन्द प्रसाद न्यौपाने

    April 1, 2020, 8:18 a.m.

    हाम्रो कम्पनी मा धेरै नेपालि काम दार हरु छौ। अब कम्पनी ले तलब नदिने हो भने त हजारौं हामी काम दार भोकै मर्नु पर्ने स्थिति आआउछ। कृपया मन्त्री जीउ संकट आउनु भन्दा पहिलै एहाको सरकार सङ अनुरोध गरि बेवस्था मिलाउन हुन अनुरोध गर्द्छु। uae जबेल अलि

  • Ishwor Acharya

    March 31, 2020, 3:29 p.m.

    सर नमस्कार म ईश्वरी प्रसाद आचार्य अहिले भियतनाम को हो ची मिन्हा मा छु। नेपाल मै केही गर्नुपर्यो भनेर विगत पाँच वर्ष पहिले काठमाडौंमा कुखुरा पालन शुरू गरेको थिए । रोग लागेर खुकुरा मरेको कारणले ऋण बढ्दोई जाँदा व्यवसाय निरन्तर गर्न सकिन अनि फेरि taxy चलाउन थाले यसबाट पनि साहु को ब्याज र घरखर्च धान्न गाह्रो परेको ले विदेश जाने सोच बनाएर वर्षौं धाउँदा पनि सफल हुन सकेको थिएन यसै बीचमा नेपालकै एउटा साथी जो भियतनाममा हुनुहुन्छ वहाले यता काम मिलाउछु भिजिट भिसामा मिलाएर आउनुस् भन्नुभएको कारण यहाँ आएको हुँ। यहाँ आएदेखि नै यही विश्वव्यापी कोरोना को कारणले काम पाउन सकिन पैसा नभएर साथीसँग बसेको थिए कम्पनी को क्वाटर मा बस्न पाइदीन भनेर कम्पनी ले एक हप्ताको lockdown छ त्यसपछि यहाँ बसे मेरो साथी सहित मलाईनै निकालिदिने भनेको छ। कता जाऊ सर नेपालमा ७० वर्ष को आमा अनि २ ओटा बच्चा र श्रीमती छन् २० लाख जति ऋण को ब्याज पनि तिर्न नसक्दा आफ्ना सबै पराई भइसके। कोठा मा दैनिकी खर्च को अभवहुदा श्रीमती र बच्चाबच्ची माइती मा बसेका छन् यस्तो अवस्था मा म के गर्ने भनेर सोच्न पनि सक्दिनँ सोच्दा सोच्दै डिप्रेसन हुन्छ टाउको दुखेर फुट्ला जस्तो हुन्छ सारो समस्या भयो। हजुरले केही सुझाव दिनुहुन्छ कि,,,,,

  • मिलन शर्मा बस्याल

    March 31, 2020, 3:15 p.m.

    केवल लकडाउन गरेर जनतालाइ घर भित्र थुनेर यो संक्रमणको अन्त्य होला जस्तो लाग्दैन।सरकारले युद्द्स्तरमा काम गरोस। सरकारका सबै संयन्त्र परिचालन गरोस। विपदको घडीमा सबै दलसँग सहयोग लिएर सहकार्य गरोस । जनतालाई हाम्रो लागी रास्ट्र छ सरकार छ भन्ने अनुभूती होओस् । कोरोना भन्दा नि भोक अनि असुरक्षाको शोकले धेरै नेपालीको ज्यान जाने भो ।

तपाईको प्रतिक्रिया