‘तीन महिनाको आममाफी युएईले दिएको उपहार हो’

 साउन १४, २०७५ सोमबार १६:४१:७ | उज्यालो सहकर्मी

युएई – युएईले विभिन्न कारणले गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको समय दिएको छ । आममाफी बुधबारबाट सुरु हुँदैछ । 

अगष्ट १ देखि अक्टोबर ३१ सम्ममा युएईले दिएको यस अवसरमा अवैधानिक रुपमा युएईमा बसिरहेका अरु विदेशी नागरिक सहित नेपालीले पनि फाइदा लिन सक्नेछन् ।

 युएईमा रहेका अवैधानिक कामदारले सहज रुपमा आममाफीबाट फाइदा लिन सकून् भनेर त्यहाँको सरकारले तयारी गरिरहेको छ ।

भिसा अवधि सकिएका अर्थात ओभरस्टे भएर बसेका विदेशी नागरिकलाई सहयोग गर्न भन्दै दुबईको विदेश मामिला मन्त्रालयले ठूलो पालमुनी ‘वन स्टप’ सेन्टर स्थापना गरेको छ । 

सेन्टरमा दुबई प्रहरीका प्रतिनिधि, मानव संसाधन मन्त्रालयका प्रतिनिधिहरुसहितको टोलीले सहयोग गर्नेछन् ।

काम गर्नका लागि चाहिले कागजपत्र नभएका विदेशी कामदारले आवश्यक प्रक्रियाका लागि अल अविर सेन्टरबाट सहयोग लिन सक्नेछन् । कागपत्र नभएपनि यो आममाफीबाट फेरि जान पाउनेगरी जरिवाना बिना नै स्वदेश फर्किन सक्नेछन् । 

आममाफीबाट यस्तो छ फाइदा :

युएईमा भिसा अवधिभन्दा धेरै बसेकाहरुले काम खोज्नका लागि ६ महिनाको समय पाउनेछन् । स्वेच्छाले स्वदेश फर्किन चाहेमा युएईले ‘नो इन्ट्री छाप’ बिना नै स्वदेश फर्कने अवसर दिनेछ ।

युएईमै बैधानिक हैसियतमा काम गर्न चाहेमा पनि सेन्टरमा गएर निवेदन दिन सकिन्छ । दुबईमा मात्रै आममाफीको समयमा सहयोगका लागि ४३ वटा यस्ता केन्द्र छन् । यी केन्द्रहरुले आवश्यक सबै सेवाहरु उपलब्ध गराउने छन्  ।

युएईको विदेश मामिला मन्त्रालयका निर्देशक मोहम्मद अहमद अल मेरीले गैरकानुनी रुपमा बसेका भएपनि उनीहरुले आफ्नो अवस्थालाई सुधारेर नयाँ जिन्दगी सुरुवात गर्न सक्ने बताएका छन् ।

‘यो युएईको महत्वपूर्ण उपहार हो, जो युएईमा ओभरस्टे बसेका छन्, कोही कोहीलाई गल्ती बिना नै परिस्थितीले अवैधानिक बन्न बाध्य बनाइरहेको हुन्छ, त्यसैले त्यस्ता मानिसका लागि हामीले नयाँ जीवन सुरु गर्न दिएको अवसर हो’ उनकाे भनाईलाई उदृत गर्दै  गल्फ न्युजले जनाएको छ । 

ओभरस्टे बस्नेलाई फाइदा

ओभरस्टे अथवा भिसा अवधिभन्दा धेरै समय युएईमा बस्नेहरु घर फर्किदा धेरै रकम जरिवाना तिर्नपर्छ भनेर डराउने गरेको भन्दै निर्देशक मोहम्मदले योपालिको आममाफीमा कुनै जरिवाना नलिएर उनीहरुलाई आफ्नो कागजपत्र सच्याउन वा फेरि युएई फर्किन मिल्ने गरी स्वदेश फर्किन प्रेरित गर्ने बताएका छन् । 

प्रक्रियामा कुनै समस्या नहोस भनेर ४० वटा काउन्टरमा भाषा सहजिकरणको पनि व्यवस्था गरिएको युएईले जनाएको छ । युएई सरकारका अनुसार कागजपत्र नभए पनि महिला र बालबालिकाको सहयोगका लागि छुट्टै स्थानको व्यवस्था गरिएको छ । 

यसअघि युएईले सन् २०१३ मा पनि आममाफी दिएको थियो । जसबाट ६१ हजार ५ सय जना भन्दा धेरैले फाइदा लिएको युएईले जनाएको छ । सन् २००७ को तुलनामा ३०१३ मा थोरैले आममाफीको फाइदा लिएका थिए । २००७ मा झण्डै साढे तीन लाखले आममाफीबाट फाइदा लिएका थिए । 

यो पनि पढ्नुहोस्

युएईका अवैधानिक कामदार जरिवाना नतिरी स्वदेश फर्किन पाउने

गैरकानुनी कामदारलाई युएईले दियो ३ महिनाको आममाफी


 
 

तपाईको प्रतिक्रिया