युएईमा आममाफी : सम्पर्कमा आउन अवैधानिक कामदारलाई नेपाली दूतावासको आग्रह

 साउन १५, २०७५ मंगलबार १६:१:२५ | उमाकान्त पाण्डे

युएई – अवैधानिक रुपमा रहेका नेपालीलाई आममाफीमा सहभागी हुन नेपाली दूतावास युएईले अनुरोध गरेको छ । 

दूतावासले युएईमा अवैधानिक रुपमा रहेका सबै नेपालीलाई आममाफीको प्रक्रियामा सहभागी हुन जतिसक्दो चाँडो दूतावासको सम्पर्कमा आउन आग्रह गरेको छ । युएईले दिएको तीन महिनाको आममाफीको समय भोलीदेखि सुरु हुँदैछ ।

भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर काम नपाई ओभर स्टे भएका, पासपोर्ट नभएका कामदारले दूतावासको सहयोगमा आवश्यक कागजात मिलाएर नेपाल फर्कन पाउनेछन् । 

आफूलाई पाएक पर्ने ठाउँको अध्यागमन कार्यालयबाट यात्रा अनुमति पत्र लिने र दूतावासबाट आउटपास लिएर नेपाल फर्किन पाइने दूतावासले जनाएको छ । यात्रा अनुमती पत्र पाएको एक हप्ता भित्र युएई छाडिसक्नुपर्नेछ । 

आममाफी प्रक्रियाबाट लिन सकिने फाइदा

युएईमा भिसा अवधिभन्दा धेरै बसेकाहरुले काम खोज्नका लागि ६ महिनाको समय पाउनेछन् । तर उनीहरुको हकमा ६ महिनासम्मको अस्थायी भिसा हुनेछ ।
६ महिनाको समयमा कामगर्ने सम्बन्धित कम्पनीको प्रायोजनमा कामदार अनुमति भिसा लगाइसक्नु पर्नेछ । 

कामदार अनुमति भिसा लगाउन नसकेमा अतिरिक्त शुल्क तिरेर फेरि अस्थायी भिसामा बस्न पाइने छ । स्वदेश फर्किन चाहेमा जरिवाना र कुनै प्रतिबन्ध लागाइने छैन ।  

पासपोर्ट नभएका तर भिसा लगाएर वैधानिक भई काम गर्न चाहने नेपालीको हकमा दूतावास मार्फत निवेदन दिएर राहदानी बनाउन सकिने दूतावासले जनाएको छ ।

दूतावासले परराष्ट्र मन्त्रालय तथा राहदानी विभागसँगको समन्वयमा युएईबाट आवेदन दिएका राहदानी फास्टट्रयाकबाट दूतावासमा आउने गरी काम गर्ने तयारी गरेको छ । 

आफ्नो देश फिर्ता हुन चाहेका नागरिकले शुल्क वा सजाय तिर्नुपर्ने छैन । यसरी स्वदेश फर्किएकाहरु फेरि युएई आउन पाउनेछन् । हवाइ टिकट भने व्यक्ति स्वयमले नै तयार बनाउन पर्छ ।

युएईमा रहेको फिलिपिन्स दूतावासले आफ्ना नागरिकलाई हवाइ टिकट समेत व्यवस्था गर्ने जनाएको छ । नेपाली दूतावासले नेपाल एयरलाइन्ससँग समन्वय गरेर सहुलियत प्रदान गर्ने प्रयास गरिरहेको जनाएको छ ।  

तर मुद्दा खेपिरहेका विदेशी नागरिकको हकमा भने यो सुविधा लागु नहुने युएईले जनाएको छ । बुधबारबाट सुरु हुने आममाफीको समय आउँदो कात्तिक १४ गतेसम्म छ । 

युएई सरकारले यस् अघि सन् २००८ र सन् २०१३ मा गरेर दुई पटक आममाफी अभियान चलाएको थियो । युएईमा कति अवैधानिक नेपाली छन् भन्ने तथ्याङक नभएको दूतावासले जनाएको छ । आममाफीको समयपछि युएईले अवैधानिक कामदार भेटे पक्राउ गर्ने र कडा कारवाही गर्न सक्ने छ । 

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया