एनआरएनएद्वारा यूएईमा समस्यामा परेका झण्डै ४ हजार नेपालीलाई सहयोग

 जेठ १६, २०७७ शुक्रबार १४:४०:५३ | उज्यालो सहकर्मी

काठमाण्डौ – गैरआवासीय नेपाली संघ एनआरएनएले कोरोना महामारीको कारण यूएईमा समस्यामा परेका झण्डै चार हजार नेपाली श्रमिकलाई राहत सहयोग प्रदान गरेको छ । मे महिनाको तेश्रो हप्तासम्म ८५ हजार दिर्हाम अर्थात २७ लाख ८९ हजार २७६ बराबरको राहत यूएईका ७ वटै प्रान्तमा रहेका नेपालीलाई सहयोग गरिएको एनआरएनए यूएईले जनाएको छ ।

समस्यामा परेका नेपालीलाई सहयोग गर्न एनआरएनएले आफ्नो कोषबाट २० हजार दिर्हाम

केन्द्रको सहयोग २० हजार दिर्हाम र अरु विभिन्न संस्थाबाट २५ हजार दिर्हाम र व्यक्तिगत सहयोग २० हजार दिर्हाम गरी जम्मा ८५ हजार दिर्हाम बराबरको सहयोग गरेको एनआरएनएले जनाएको छ ।

समस्यामा परेका नेपालीलाई यूएईमा रहेको नेपाली दूतावासले पनि खाद्यान्न सहयोग गरिरहेको छ । राजदूतावासले वितरण गरेको १ हजार प्याकेट खाद्यान्नमध्ये चारसय प्याकेट नेपाली एसोसियसनले र तीनसय प्याकेट कोभिड १९ सूचना संकलन तथा राहत उद्धार समितिका माध्यमबाट वितरण गरिएको छ । बाँकी तीनसय प्याकेट खाद्यान्न भने दूतावासमै राखिएको र अप्ठेरोमा परेर अबुधाबीस्थित दूतावासमा पुगेका नेपालीहरुलाई दिने गरिएको दूतावासले जानकारी गराएको छ ।

समस्यामा परेका नेपालीको सहयोगका लागि यूएईमा रहेको नेपाली दूतावासकै प्रतिनिधिलेसमेत रकम सहयोग गरेका छन् । दूतावासकी प्रथम सचिव शिवानी बस्नेतले कोरोनाको चपेटामा परेका नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यले आफ्नो व्यक्तिगततर्फबाट एनआरएनएलाई १५०० दिर्हाम सहयोग गरेको एनआरएनएले जनाएको छ ।

यूएईमा कोरोना सङ्क्रमणबाट दिनहुँ नेपाली श्रमिकमा समस्या बढ्दो छ । यसरी समस्यामा पर्ने नेपालीलाई एनआरएनए बाहेक अन्य संघसंस्थाले समेत सहयोग र राहत उपलब्ध गराउँदै आएका छन् ।

खाद्यान्नका लगायत कतिपय नेपालीलाई बस्ने भाडा, भिसा सकिएकाहरुको भिसा नवीकरण शुल्कसँगै अति आवश्यक परेकाहरुलाई टिकटको रकमसमेत उपलब्ध गराइको एनआरएनको भनाइ छ ।

अन्तर्राष्ट्रिय कम्पनी डाबरले पनि समस्यामा रहेका नेपालीलाई एनआरएनएमार्फत सहयोग गरेको छ ।

पहिलो चरणमा ३० हजार र दोस्रो चरणमा ८० हजार दिर्हाम बराबरको च्यवनप्रास, दाँत माझ्ने मन्जन, ब्रस वा इम्युनिटी पावर बढाउने भनिएका आफ्ना उत्पादनहरु नेपालीहरुमा वितरण गर्नका लागि एनआरएनएलाई जिम्मा दिएको छ ।

योबाहेक नगद तथा खाद्यान्नमा एनआरएनएलाई विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया