विदेशबाट फर्किएका श्रीमानबाट एचआईभी संक्रमण भएपछि सहयोगको आशामा कल्पना

 साउन २१, २०७५ सोमबार १८:५९:५८ | सुमित्रा कोइराला

उदयपुर – विदेश जानेहरु परिवारका लागि खुशी लिएर फर्किन्छन् या त आफैं खुशी बनेर । तर कल्पनाका श्रीमान न खुशी लिएर फर्किए, न खुशी बनेर नै । उहाँ त कल्पनाको जीवनमा अँध्यारो बनेर फर्किए विदेशबाट । 

कल्पनाले १६ वर्षमै बिहे गर्नुभयो । एक वर्षपछि जम्ल्याहा छोरीकी आमा बन्नुभयो । दुई जनाको परिवार चार जनाको भयो । परिवारको सङ्ख्या बढेपछि घर खर्च टार्न गाह्रो पर्न थाल्यो, कल्पना र उहाँका श्रीमानलाई । 

त्यसैले कमाउने सपना बोकेर कल्पनाका श्रीमान सुदिन ८ वर्षअघि मलेसिया उडे । त्यतिबेला कल्पना उदयपुरको एक स्थानीय रेडियोमा काम गर्नुहुन्थ्यो । तीन वर्षमा फर्किंदा बिरामी थिए सुदिन । काठमाडौंमा जाँच गर्दा रगतमा इन्फेक्सन देखियो ।

औषधी खानुभयो तर कम भएन । ज्यानमा घाउ खटिरा आउन थाल्यो । बिरामी श्रीमानसँग कल्पनाको सम्बन्ध पनि पहिलाको जस्तो रहेन । ‘उहाँ मसँग रिसाउने, झर्कने गर्न थाल्नुभयो । सम्बन्धबिच्छेदको अवस्थासम्म पुग्यो’ कल्पनाले भन्नुभयो । 

त्यतिञ्जेलमा कल्पनाका श्रीमान् लागुऔषधको दुव्र्यसनीमा पनि फस्नुभएको थियो । कल्पनाले सम्झाइबुझाई श्रीमानलाई कुलतबाट बाहिर निकाल्ने उपाय खोज्न थाल्नुभयो । 

उपाय खोज्दै जाँदा श्रीमानको लागि इटहरीमा सुन पसल खोल्नुभयो । काम त सुरु भयो, तर कल्पनाले सोचेभन्दा फरक परिवर्तन आयो उहाँका श्रीमानमा । घर नआउने अनि झगडा मात्रै गरिरहने गर्न थालेपछि कल्पना रेडियो जागिर छोडेर इटहरी नै जानुभयो । 

सँगै भएको केही समय सम्बन्ध राम्रो भयो । कल्पना इटहरीकै स्थानीय रेडियोमा काम गर्न थाल्नुभयो । दुवैको सल्लाहमा तेस्रो सन्तान जन्माउने निधो गरेर कल्पना गर्भवती हुनुभयो । 

त्यसको केही समयपछि कल्पनाका श्रीमान ज्वरोले थलिनुभयो । उहाँलाई बान्ता पनि रोकिएन । औषधीले ज्वरो नथामिएपछि रगल परीक्षण गर्दा एचआइभी देखियो । ‘डाक्टरले त्यो पनि धेरै फैलिसकेको भनेपछि त मलाई दिउँसै रात परेजस्तै भयो’ कल्पना सुनाउनुहुन्छ । 

श्रीमान् एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि केही समय अघि मात्रै गर्भवती भएकाले कल्पना पनि सङ्क्रमित हुने पक्का जस्तै थियो । भयो पनि त्यस्तै । कल्पनाको रगतमा पनि एचआइभी पोजेटिभ देखियो । ‘त्यसपछि त मलाई आफू मरे जस्तै लाग्न थाल्यो’ कल्पना भन्नुहुन्छ । 

सङ्क्रमित भएको थाहा पाएपछि एक महिना अघि कल्पना कल्पना श्रीमानलाई लिएर काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुग्नुभयो, उपचारका लागि । डाक्टरले श्रीमानको अवस्था अन्तिम भएको बताए ।

औषधीले काम नगर्ने डाक्टरको भनाईले श्रीमानको ज्यान त संकटमा छ नै श्रीमानबाटै सङ्क्रमित भएकी कल्पना र उहाँको पेटमा रहेको पाँच महिनाको बच्चाको भविष्यमा पनि अन्योलमा परेको छ । घरमै रहेका छोरीहरु बिचल्लीमा परेको बताउनुहुन्छ कल्पना । 

श्रीमान एचआईभी सङ्क्रमित हुनुको कारण 

त्यतिञ्जेल आफ्नोबारे केही नबताएका सुदिनले अहिले भने आफ्ना सबै कुरा सुनाउनुभएको छ । मलेसियामा हुँदा कल्पनाका श्रीमानले इन्डोनेसियन महिलासँग असुरक्षित यौनसम्पर्क गर्दा तिनै महिलाबाट सङक्रमण सरेको रहेछ । 

ती महिलाबाट एचआइभी सरेको कुरा कल्पनाका सुदिनले थाहा पाउनुभएनछ । ती महिलाको एचआइभीकै कारण ज्यान जाँदा पनि सुदिनले आफू सङ्क्रमित भएको छनक पाउनुभएन । कारण त्यतिबेला उहाँमा केही लक्षण देखिएको थिएन । 

तर लक्षण देखिँदासम्म श्रीमतीसँगै पेटमा रहेको बच्चालाई पनि संक्रमण भैसकेको थियो । एचआइभी सङ्क्रमित कल्पना र उहाँका श्रीमानलाई अहिले न आफन्तले हेर्छन् न अरु कसैले नै । 

इटहरीमा रहेको सुन पसलमा ताला लागेको महिनौं भइसक्यो । अहिले पैसा नभएपछि आफू काठमाडौंका गल्ली गल्लीमा भौतारिएर हिँड्नु परेको कल्पना बताउनुहुन्छ । त्यसैले उहाँ अहिले कसैले सहयोग गर्छ कि भन्ने आशमा हुनुहुन्छ ।

त्यसका लागि उदयपुरको गाइघाटमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकमा ०३५०५०८०२६४१५० नम्बरको खाता पनि खोल्नुभएको छ । आर्थिक संकटसँगै समाजले आफूलाई हेर्ने दृष्टिकोण फेरिएकोमा धेरै चिन्ताले सताउँछ कल्पनालाई ।

‘श्रीमान विदेशबाट फर्किंदा एचआइभी परीक्षण गरेको भए सायद यस्तो हुँदैनथ्यो होला’ कल्पना भन्नुहुन्छ ‘यस्तो कुरामा विदेश जानेहरुसँगै परिवार पनि सचेत हुनुपर्ने रहेछ ।’  

(समाचारमा उल्लेख गरिएका पात्रको परिचय गोप्य राख्न नाम परिवर्तन गरिएको छ । )

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया