क्रिकेट खेल्दा त धेरैपटक जितें, तर विदेशको दुःखलाई जित्न सकिन

 भदौ २८, २०७५ बिहिबार | मेरो कथा मेरो भोगाई

नौसद अहमद/तौलिहवा,कपिलवस्तु ।

मेरो नाम नौसद अहमद । नौसद अर्थात राम्रो, हँसमुख मान्छे । म आफूलाई यसै भनेर चिनाउन चाहन्छु । मेरो जीवनमा सबैथोक नौसद नै रह्यो । पढाई र क्रिकेट पनि नौसद थियो । 

क्रिकेट खुव राम्रो खेल्छस् भन्थे । धेरै प्रतियोगिता जितियो पनि । खेल खेलेर केही भएन । न सरकारले हामीलाई सहयोग गर्‍यो, न त सधंैभरी खेलेरै जीवन बिताउने सक्ने घरको अर्थिक अवस्था थियो । 

त्यसैले विदेश जाने निर्णय गरेँ । काम र कमाइको बारेमा बुझ्दा कतार जाने निधो भयो । २०७२ सालमा म कतार गएँ । कतार गएपछि यो हँसमुख मान्छेलाई भाग्यले हाँसिरहन दिएन ।

 घरमा छँदा आमाबुवा, साथीभाइको साथमा खेलेर खाएको बानी । काम नजान्नु त अर्को पाटो थियो । मलाई त काम नजान्दा भन्दा पनि पराइदेशमा आफ्नो दैनिकी नमिलेर निकै कष्ट भयो । परिवेश नयाँ, आफ्नो भन्ने कोही थिएनन् । 

कम्पनीले मेसमा राखिदियो । एउटै कोठामा धेरैजना दाजुभाइहरु हुनुहुन्थ्यो । तर भयो के भने मलाई खाना बनाउन नआउने । अब कसरी खानु ? त्यहाँ त नेपालमा जस्तो यसलाई खाना बनाउन आउँदैन भनेर भात दिनेवाला कोही थिएनन् ।

सुरुवातमा त होटलमा खाएँ । होटलमा पनि सधैं आफूले भनेजस्तो नहुने । अरुले पकाएर दिए त खान्थें भनेर कुर्नु पर्‍यो । त्यो बेलामा बुवाआमालाई सम्झेँ । साथीभाइ, चोक, बजार सबै सम्झेँ । तर के गर्नु काम गर्ने पर्‍यो । भोक लाग्थ्यो खाना खानै पर्‍यो । 

बिस्तारै बानी हुँदै गयो । खाना पकाउन पनि जाने । मेरो काम अटो पार्टस्को छ । काम र कमाईमा मलाई गुनासो छैन । मासिक १३ सय रियाल जस्तो कमाई हुन्छ । आफ्नो खर्च कटाएर महिनाको नौसय रियाल जति बुवाआमालाई पठाउँछु ।

सानोमा मैले क्रिकेट खेलेर जितेको दिन आमाबुवाले राष्ट्रिय खेलाडी बन भन्नुहुन्थ्यो । तर के गर्नु ठूलो भएपछि रुची खेलमा भए पनि बाध्यताले विदेश जानु पर्‍यो । कमाइ भएन । लगानी गरिदिने मान्छे पनि भएनन् । बुवाआमालाई पनि त हेर्न पर्‍यो । त्यसैले २१ वर्षको उमेरमा कतार लागेको हुँ ।

नेपालमा हुँदा बिताएका दिनको याद एकातिर, पैसा कमाउनु पर्ने दबाब अर्को तिर । छ दिन अरुको गुलामी गर्‍यो । शुक्रबार एक दिन चाहिँ ठूलै चाड आए जस्तै हुन्छ । अझ भनौं हप्ता त शुक्रबार कुर्दैमा बित्छ । कतारमा मेरो आफन्तहरु पनि हुनुहुन्छ । सबैजना जम्मा भएर रमाइलो गर्छौं । 

मैले त विदेश गएर पनि खेलको माया मार्न सकेको छैन । बेलाबेला हामी आफू बीचमा पनि खेल्छौं । कतारमा खेल भएका बेला हेर्न पनि जान्छौं । त्यो बेला त कति खुशी मिल्छ कति । खेलमा जित्दा मेहनतको फल पाए जस्तो लाग्छ । तर अर्काको देशमा काम गर्दा चाहिँ त्यस्तो अनुभव नहुँदो रहेछ ।

अहिले घरबिदामा आएको एक महिना भन्दा धेरै भयो । बिदामा आएका बेलामा पनि खेलें । सेमिफाइनलमा हारियो । जितेको भए १०/१५ हजार रुपैयाँ त पाइन्थ्यो होला । पाँच रुपैयाँ किन नहोस् तर खेलमा जितेको कुरा साह्रै महत्वपूर्ण लाग्छ मलाई ।

घरमा रमाइलो छ, साथ छ, माया छ । प्रत्येक दिन पूरा जीवन जिए जस्तो लाग्छ । तर विदेशमा त शुक्रबार एक दिन हो । अरु दिन त पलपल मर्नु पर्छ ।

यतिन्जेल कमाएको घरमा बुवाआमालाई दिएँ । अब चाहिँ अलिअलि बचाउनु पर्ला । खेलमा राम्रो भएको भए विदेश जाने थिइनँ । खेल, साथीभाइ र परिवारको साह्रै न्यास्रो लाग्छ । तर अब दुई चार वर्ष दुःख गर्छु अनि फर्किएर घरमै व्यवसाय गर्ने योजना बनाएको छु ।

तपाईको प्रतिक्रिया