नेताका शुभकामनाले मन पोलेको परदेशीको दसैं

 कात्तिक ७, २०७५ बुधबार १२:२३:१८ | मेरो कथा मेरो भोगाई

हरि थापा/दोलखा ।

राजनितिक शब्दमा भन्नुपर्दा यो दसैं सम्बृद्धिवाला दसैं हो । लामो समयपछि राजनितिक संक्रमण को अन्त्यसँगै देशले संविधान पाएको छ । कानुनी राज्य बनेको छ । नीतिनियमहरु बनेका छन् । सिंहदवार गाउँ गाउँ पुगेको छ ।

अब निकास र विकासका नारा मज्जाले घन्किएका छन् । देशमा रोजगारीको सिर्जना गर्ने विषय सकरात्मक भए नतिजाका लागि केही समय पर्खिनु पर्नेछ । तर राजनितिज्ञहरुले यो वर्षको दसैंमा दिएको शुभकामनाले मन भतभती पोलेको छ । 

कारण, उनीहरुले दिएका शुभकामना फिक्का छन् । यस्ता शुभकामना दिएर नागरिकलाई भुल्याउने त संस्कार जस्तै भइसकेको छ । राजनीति बाहेक अन्य प्रयासले देश विकास हुने छाटकाट देखिँदैन । हामी परदेशमा हुनेहरु नेताहरुले बोलेको जस्तै देशमा सम्बृद्धि आओस भन्ने आशमा छौं ।

यसो भइदिए कुनै पनि नेपाली आफ्नो देश छोडेर काम खोज्दै परदेश जानु पर्दैनथ्यो । यो पीडा राजनीति गर्नेहरुले उनीहरुका सन्तान परदेश जानु नपरेसम्म सायद बुझ्दैनन होला । 

यो वर्षको दसैंले बिदा लिँदै छ । दसैं प्रत्येक वर्ष आउँछ अनि जान्छ । यो वर्षको दसैंपछि युवाहरुले काम खोज्नकै लागि देश छोड्नु नपरोस् । आफ्नै माटोमा रमाउने वातावरण बनोस् । देशमा रोजगारीको सिर्जना होस् । सबैको परिवारमा खुशी फर्कियोस् । समुद्र पारीबाटै शुभकामना । 

टिका जमारा त छँदैछ, त्यसभन्दा अगाडि परदेशिएका हजारौं खाली निधारहरुलाई सम्झिरहेको छु । अनि उनीहरुको परिवारको चमक हराएको अनुहार आँखा अगाडि आइरहेको छ । परिवार पाल्न परदेशिएकामध्ये केही हजारले यो संसारलाई सधैंका लागि छोडिसकेका छन् । उनीहरुलाई चाडबाड के लाग्ला र ।

उनीहरुका लागि चाडबाड, चाडबाड जस्तो कहिल्यै पनि हुन्न होला । यो परिस्थिती सधैंका लागि अन्त्य होस अनि देश सम्बृद्धिको बाटोमा लम्कियोस् । आम नागरिकको अहिलेको चाहना यही नै हो । परदेशबाट साथीहरुले दसैं मनाएर फोटो फेसबुकमा हालेको देख्ता पखेटा भए अहिले नै उडेर देश पुगौं, घर पुगौं जस्तो लाग्छ । तर मन बाँधेर आफूलाई थुमथुम्याएर राख्नु परेको छ । 

परिवारका सदस्यबिचको भेटघाट र रमाइलो नै दसैं हो । तर सबैलाई दसैं कहाँ आएको छ र । बुवा विदेश गएर फर्किन नपाउँदै छोरो विदेशिन्छ अनि छोरा फर्किने बुवाको पालो आइहाल्छ । त्यसैले हामी नेपालीले साँच्चै खुशी भएर दसैं नमनाएको वर्षौं भइसक्यो ।

त्यसैले चाडबाडमा नेताहरुले दिएका सम्बृद्धिका भाषण सार्थक बनोस् । अनि अर्को वर्षको दसैंमा हामी परदेशीले फेरि पनि पुरा नहुने यस्ता भाषण मात्रै सुनेर खल्लो दसैं मनाउनु नपरोस् । 

तपाईको प्रतिक्रिया