हातमा सीप भएपछि विदेशभन्दा स्वदेश फाप्यो जितमानलाई

 कात्तिक १९, २०७५ सोमबार | सन्जिता देवकोटा

काठमाडौं – काभ्रेका जितमान तामाङलाई केही वर्षअघिसम्म आफ्नो हात खाली झैं लाग्थ्यो । किनकी त्यतिबेला उहाँसँग काम गर्ने सीप थिएन । ‘गरीखाने हातमा काम गर्न सीप थिएन, सीप नभएको मानिसको जिन्दगी पनि खाली नै हुँदोरहेछ,’ हातमा सीप नहुँदाको अनुभव सुनाउनुभयो जितमानले । 

तर सीप भएपछि हात खाली राख्नु परेन । कमाउन उहाँ विदेश पनि पुग्नुभयो । विदेशमा कमाउन त सक्नुभएन । तर विदेशमा आल्मुनियमको काम सिकेकाले जितमानले त्यही काम स्वदेशमै गरीखाने बाटो बनेको छ । 

झण्डै १३ वर्षअघि एसएलसी दिएर काठमाडौं आउँदा न सहरको बारेमा थाहा थियो, न त सहरको कहर । काभ्रेबाट काठमाडौं आउँदा उहाँलाई पढ्नु थियो । 

तर काठमाडौं शहरमा पढ्ने रहर हराएर गए । ११ कक्षामा भर्ना त हुनुभयो, तर पढाईमा भन्दा ध्यान कमाउनमा गयो । कमाउन लाग्दा पढाई अघि बढाउन सक्नुभएन ।  

‘पढाई पनि छुट्यो, काम पनि राम्रो केही गरेको थिइनँ, सीप नहुँदा त नहुने रहेछ,’ जितमानले आफैंले भोगेको सीपको महत्व सुनाउनुभयो । 

पढाई नभए पनि त्योबेला कमाउने बाटो खुला थियो, विदेश । पढाई पनि नचाहिने, सीप पनि नचाहिने । मात्र घरपरिवार र देश छाडेर बाटो लाग्ने आँट भए पुग्ने । 
त्योबेला विदेश जान्न भन्ने कोही पनि भेटिंदैन थिए । पढाई छुटे पनि जितमानले विदेश जाने अवसर चाहिँ छुटाउनुभएन । 

हुन त जितमानले काम काठमाडौंमा पनि पाउनुभएको थियो । आल्मुनियम कम्पनीको काम । तलब १८ सय रुपैयाँ हुन्थ्यो । ‘दुई महिना भएको थियो काम गरेको, विदेश जाने चाँजो मिल्यो, कहाँको १८ सय कहाँको २०÷२५ हजार कमाउने सपना, लागियो नि विदेश नै,’ जितमानले विदेश जानुको कारण सुनाउनुभयो ।

१० वर्षअघि सन् २००८ मा बहराइन उड्नुभयो उहाँ । आल्मुनियमकै काम थियो बहराइनमा पनि । तर काठमाडौंमा दुई महिना काम गर्दाको अनुभव त्यहाँ प्रयोग भएन । 

बहराइनका अप्ठेरा

सम्झौता अनुसारकै मिल्यो काम र तलब । ‘हेल्परमा गएको हुँ, तर तीन महिनापछि त पद र पैसा दुवै बढ्यो,’ जितमानले बहराइनको काम र दाम सम्झनुभयो । 
लेवरको भिसामा गए पनि पहिलेको अनुवभ र छिट्टै काम सिकेकाले तीन महिनामै उहाँको पद र पैसा बढ्यो । 

पद र पैसा बढेसँगै जिम्मेवारी पनि थपियो । आफैंले राम्रो काम गरेर जिम्मेवारी पाउँदा खुशी भए पनि जिम्मेवारी बहन गर्न भने गाह्रो भयो, उहाँलाई । 

‘आफू त सोझो मान्छे झुटो बोल्न पनि नआउने, त्यस्तो हुँदा बिभिन्न अप्ठेरा आईपर्दो रहेछ’ जितमान भन्नुहुन्छ, ‘ंसोझो औंलाले घिउ आउँदैन भने झैं अलि बांगो गर्दा त हुन्थ्यो कि, फेरि मलाई त त्यस्तो गर्न नआउने ।’ 

ओभरटाइम समेत गर्दा महिनाको ४० हजार रुपैयाँसम्म कमाउनुहुन्थ्यो । तर उहाँको मन बहराइनको काममा दुई वर्षभन्दा बसेन । ‘सबैसँग कम्युनिकेशन गर्नुपर्ने थियो मेरो काम, कहिलेकाहीँ राम्रो बन्न झुट पनि बोल्नु पर्नेरहेछ, तर मैले त्यो गरिनँ, बरु फर्किएर आएँ,’ जितमानले सुनाउनुभयो । साँचो बोल्दा आइपरेको अप्ठेराका बारेमा भने उहाँले खुलेर बताउनुभएन ।

दुई वर्ष काम गर्नुभयो बहराइनमा । तर काम गर्ने तरिका मन परेन उहाँलाई । सन् २०१० मा घर फर्किनुभयो ।

‘दुई वर्ष विदेशमा बस्दा पैसा हैन सीप कमाएँ’

दुई वर्ष विदेश बस्दा जितमानले सीप सिक्नुभयो । ‘पैसा त त्यस्तै हो, खान लगाउन पर्‍यो, फेरि त्योबेला उमेर पनि अल्लारे, अहिलेजस्तो भए बचाइन्थ्यो कि,’ जितमानले हाँस्दै भन्नुभयो, ‘पैसा नभए पनि मैले सीप कमाएँ, विदेशमा ।’

विदेश जाँदा आल्मुनियमको काममा दुई महिनाको मात्रै अनुभव थियो उहाँसँग । फर्किंदा दुई वर्षको अनुभव लिएर फर्किनुभयो । विदेशमा काम गरेको अनुभवले उहाँले काठमाडौंमा सजिलै जागिर पाउनुभयो । 

‘एउटा आल्मुनियम कम्पनीमा विदेशमा काम गरेर फर्किएकै जागिर पाएँ, दुई वर्षअघि बालाजुको एउटा आल्मुनियम कम्पनीले १८ सय तलब दिएको थियो, तर दुई वर्षपछि विदेशबाट सीप सिकेर फर्किंदा २० हजारको जागिर पाएँ,’ जितमान सुनाउनुहुन्छ । विदेशबाट फर्किने बित्तिकै पाएको जागिरको कुरा सुनाउँदा उहाँको अनुहार पनि उज्यालो भयो । 

त्यो बेला जितमानलाई लाग्यो,  ‘सीपभन्दा ठूलो त केही रहेनछ ।’ दुई वर्षअघि त्यही काम महिनाभरी गर्दा १८ सय रुपैयाँ आउँथ्यो । दुई वर्षको बीचमा त निकै फरक पर्‍यो कमाईमा । 


‘मानिसको मूल्याङ्कन त सीप र क्षमताले हुने रहेछ नि, मेरो सीपले मैले दुई वर्षमा नै २० हजार रुपैयाँ कमाउने हैसियत राखें,’ त्यो क्षण सम्झँदा अहिले पनि उहाँको मन फुरुङ्ग हुन्छ । 

‘अहिले अरुलाई रोजगारी दिन्छु’

हातमा सीप थियो । जस्तो पनि काम गर्ने आँट थियो । जितमानले ११ महिनापछि २० हजार रुपैयाँको जागिर छाडेर आफ्नै काम सुरु गर्नुभयो । ‘अरुको काम जति गरे पनि केही नहुने रहेछ जस्तो लाग्यो, अनि आफैंले ठेक्का लिएर काम गर्न थालेको हुँ,’ जितमान भन्नुहुन्छ । 

भएको जागिर छाडेर आफैंले काम सुरु गर्ने हिम्मत गर्दा मनमा डर थिएन । किनकी जितमानलाई आफ्नो हातको सीपसँग भर थियो । आल्मुनियमको काम गर्न थालेको १२ वर्ष भयो जितमानले । आफैले ठेक्का लिएर काम सुरु गरेको पनि ९ वर्ष भैसक्यो । 

यी ९ वर्षमा धेरै कुरा परिवर्तन भइसकेको छ । प्रविधि र काम गर्ने तरिका पनि अलिअलि बदलिएको छ । अनि आफैंले गरेको कामले जितमानको जिन्दगी पनि बदलेको छ । 

देशमा भन्दा विदेशमै कमाई हुन्छ भन्ने सोच लिएर विदेश पुगेका जितमान अहिले अरुलाई महिनाको ४० हजार तलबसहित काम दिन सक्ने हुनुभएको छ । उहाँको सीपले अरुलाई पनि काम र दाम मिलेको छ ।

‘काम भएको बेला त १२, १३ जनालाई काम दिन्छ, सामान्य समयमा पनि ६, ७ जनालाई त काम दिएको छु,’ जितमान गर्वका साथ सुनाउनुहुन्छ । 

मासिक ५० हजार रुपैयाँको हाराहारीमा छ उहाँको कमाई । कमाई अनुसारको बचत नहुँदा चाहिँ जितमानलाई बेलाबेला दिक्क लाग्छ । 

‘कमाई नहुने हैन, तर बचत हुँदैन, यहाँ जे गरे पनि हुन्छ, विदेशमा पो पैसा खर्च गर्ने दिन कुर्न पर्छ, तर पनि म सन्तुष्ट छु, परिवारको साथ र सहयोग छ,’ जितमान चित्त बुझाउनुहुन्छ । 

देशमा काम छ तर काम गर्ने बानी छैन भन्नुहुन्छ,  जितमान । विदेशमा जस्तो नेपालमा पेशागत सुरक्षा नहुँदा काम गर्न असहज भएको उहाँले गुनासो गर्नुभयो । 

‘त्यहाँ जस्तो यहाँ सुरक्षा छैन, दुर्घटना हुने सम्भावना हुन्छ, सरकारले काम गर्ने वातावरण मात्र बनाएर हुँदैन काम अनुसारको सुरक्षा पनि दिनु पर्छ,’ सरकारसँगको आफ्नो अपेक्षा सुनाउनुहुन्छ जितमान ।

देशमा काम नदेखेर कमाउने विकल्प विदेश नै रोज्नेकाहरुलाई सरकारले सीप सिकाएर मात्रै पठाउने भनिरहेको छ । तर सीप सिकेर विदेशिनु भन्दा पनि जितमानले जस्तै देशमै केही गर्ने आँट गर्ने हो भने असम्भव के नै छ र ! 

परदेशकोभन्दा घरदेशकै कामले राम्रो आम्दानी गरिरहेका जितमानको अनुभवले पनि भन्छ, ‘नेपालमा गर्न सकिन्छ, असम्भव छैन, विदेशमा जस्तो खटिन पर्दैन, थोरै मेहनतमा विदेशकै जति कमाउन सकिन्छ, तर सीप चाहिँ हुनपर्छ ।’ 


 

सन्जिता देवकोटा

वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउने सन्जिता देवकोटालाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया