विदेश जान चाहिने प्रहरी रिपोर्ट प्रदेशबाटै पाइने, इमेलबाटै दिने व्यवस्था पनि गरिदै

 कात्तिक २०, २०७५ मंगलबार १२:१२:३५ | रासस

काठमाडौं –  विदेश जान चाहिने प्रहरी रिपोर्ट अब विभिन्न केन्द्र र प्रदेशबाटै पाइने भएको छ । 

प्रहरी रिपोर्ट छिटो र सहज रुपमा उपलब्ध गराउन अहिलेलाई विभिन्न केन्द्र र प्रदेशबाटै उपलब्ध गराइने र छिट्टै अनलाइन सेवा समेत प्रदान गर्ने तयारी गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो । 

विदेश जानेलाई विभिन्न केन्द्र र सातै प्रदेशबाट आवेदन लिने तथा प्रमाणपत्र दिने व्यवस्था मिलाएका छौँ,’ उहाँले भन्नुभयो, ‘अझै छिटोछरितो र सहज हुने गरी उपलब्ध गराउन भविष्यमा इमेलबाटै आवेदन लिने र इमेलबाटै रिपोर्ट दिने तयारी छ, प्राविधिक तयार गर्ने प्रक्रिया अगाडि बढाएको छ ।’

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल महानिरीक्षक भएसँगै उपत्यकामा प्रहरी रिपोर्ट दिने चार ठाउँ थप गरेका थिए । अहिले काठमाडौँको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, कालिमाटी, गौशाला, महानगरीय प्रहरी परिसर भक्तपुर र परिसर ललितपुर तथा सातै प्रदेशबाट प्रहरी रिपोर्ट लिने व्यवस्था छ ।  

प्रवक्ता सुवेदीले काठमाडौँ उपत्यकाभित्र भरेको फाराम तीन दिनभित्र, प्रदेश कार्यालयबाट एक हप्तामा र विदेशी नागरिकका लागि एक हप्तामा रिपोर्ट लिन मिल्ने व्यवस्था गरिएको बताउनुभयो । 

प्रहरीले चालू आर्थिक वर्ष २०७५/७६ को तीन महिनामा ६२ हजार ६८४ जनालाई विदेश जानका लागि आवश्यक प्रहरी रिपोर्ट प्रदान गरेको छ । गएको वर्ष वर्षमा दुई लाख ७७ हजार ४९५ जनाले प्रहरी रिपोर्ट लिएका थिए । 
 

तपाईको प्रतिक्रिया