‘कोलम्बो प्रोसेस’ को बैठक काठमाडौंमा हुने

 कात्तिक २६, २०७५ सोमबार १६:१३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएका राष्ट्रहरुको साझा संस्था ‘कोलम्बो प्रोसेस’ को छैंठौ बैठक काठमाडौंमा हुने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार काठमाडाैंमा पत्रकार सम्मेलन गरेर कात्तिक २९ र ३० गते कोलम्बो प्रोसेसको छैठौं बैठक काठमाडौंमा आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

वैदेशिक रोजगारीमा जानेहरुको छनोटदेखि उनीहरुको क्षमता विकासमा समेत सहकार्य गरेर अघि बढ्ने गरी बैठक आयोजना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिनुभयो ।

कोलम्बो प्रोसेसमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेशिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनामसहितका १२ वटा देश रहेका छन् । सदस्य राष्ट्रहरुबीच वैदेशिक रोजगारबाट प्राप्त रेमिटयान्सको उपयोगको विषयमा पनि बृहत छलफल हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

आउँदो २९ गते कोलम्बो प्रोसेसको छैठौं बैठक बस्नेछ भने कार्तिक ३० गते सदस्य राष्ट्रहरुको मन्त्रीस्तरीय परामर्श बैठक बस्नेछ । मन्त्रीस्तरीय परामर्श बैठकको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्नुहुनेछ ।

नेपालले अध्यक्ष राष्ट्रको हैसियतमा बैठकको अध्यक्षता गर्नेछ । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)को समन्वयमा आयोजना हुने सो बैठकमा सदस्य राष्ट्रहरुबीच वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने नीति, रणनीति र हासिल गर्ने उपलब्धिका विषयमा पनि बहस हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया