विदेशको कमाई : खाइलाइ टुप्पी हल्लाई

 जेठ २८, २०७५ सोमबार | सन्जिता देवकोटा

काठमाडौं – २०६० सालमा साउदी जाँदा रमेश ढकालसँग धेरै सपना थिए । कमाउने, घर बनाउने अनि परिवारलाई सुखले पाल्ने । 

तर साउदीको बसाइ उहाँले सोचे जस्तो पटक्कै भएन । खानका लागि ठिक्क पारेको भात कागले खाइदियो । अनि, भात खाएर उड्ने कागसँगै रमेशका सपना पनि उडे । 

सपना पूरा गर्न उहाँले ९० हजार रुपैयाँ ऋण काढ्नु भएको थियो । तर १८ महिना कागले जुठो बनाएको भात खानु पर्यो । ऋण तिर्न सक्नु भएन । 

काममा जाँदा रमेश प्लाष्टिकको झोलामा खाना बोकेर जानुहुन्थ्यो र एक ठाउँमा राखेर काम गर्नुहुन्थ्यो । झुण्ड्याएको खाना कागले कुनबेला आएर जुठो हाल्थ्यो, थाहा हुँदैनथियो ।

ठूलो जहाज चढेर जागिर खान जानेहरुको गाउँमा शान अर्कै हुन्थ्यो । विदेश जानेका बारेमा गाउँका मानिसले सोचेजस्तो, अनि रमेश आफैंले सोचेजस्तो पटकै भएन । ‘असाध्यै दुःख, गर्मी उस्तै, खाना पनि भनेको बेला पाइएन,’ रमेश साउदीमा पाएको दुःख सुनाउनुहुन्छ । 

१८ महिना दुःख गर्दा पनि ऋण तिर्न नसकेपछि रमेश घर फर्किनुभयो । गरिखाने अरु विकल्प थिएन । श्रीमती बिमला ढकाल र रमेशले एउटा विकासे गाई किन्नुभयो । 

काम खोज्दै जाँदा साउदीबाट फर्किएको एक वर्षपछि उहाँलाई युएईमा काम गर्ने अवसर आयो । एउटा गाई र घर व्यवहार श्रीमतीले धान्ने कुरामा ढुक्क भएर रमेश २०६३ सालमा दोस्रो पटक युएई जानुभयो ।

रमेशले विदेश गएपछि कमाइन्छ नै भन्ने आशा त मारिसक्नुभएको थियो । तर एक देशमा नभए अर्को देशमा कमाइ होला भन्ने झिनो आश भने बाँकी थियो । स्काफोल्डिङको काममा जानुभएका रमेशको  युएईको बसाई पनि उस्तै भयो । कमाउन सक्नुभएन ।

गाउँमा श्रीमतीले गाईको दूध र तरकारी खेतीबाट आफूले युएईमा कमाएको भन्दा धेरै कमाएको सुन्दा उहाँलाई व्यर्थै विदेश आएछु भन्ने लाग्थ्यो । यस्तै कुराले उहाँको मन युएईमा अडिएन ।  श्रीमती बिमलालाई पनि जानकारी नै नदिई एक दिन रमेश युएईबाट काठमाडौं उत्रनुभयो ।

सल्लाहै नगरी श्रीमान् घर फर्किंदा त बिमलालाई अब के गर्ने होला भन्ने लागेको थियो । तर घर फर्केपछि गाई थप्ने सल्लाह भयो । गोठ बन्न थाल्यो । पाखोबारी हराभरा हुन थाल्यो । बारीमा तरकारी धेरै फल्न थाल्यो र कमाई पनि मज्जैले बढ्न थाल्यो । 

व्यवसायिक रुपमा २०६६ सालदेखि ढकाल दम्पतीले सुरु गरेको गाई गोठमा अहिले ३५ वटा गाई छन् । जातजातका गाईले दिनमा १ सय ५० लिटर भन्दा धेरै दूध दिन्छन् । अहिले श्रीमान् श्रीमती मिलेर काम गर्दा ढकाल दम्पतीको हातमा महिनाको चोखो ५० हजार रुपैयाँ पर्छ । 

रमेश र बिमलाको दैनिकी गाई पालन र तरकारी व्यवसायले बदलिएको छ । साउदीमा कागले जुठो हालेको भात खाएर १८ महिना कटाएका रमेश अहिले भैंसीको दूध खानुहुन्छ । गोठभरी गाई भएपनि ढकाल दम्पतीले दूध खान भैंसी पालेका छन् । रमेशलाई हिजोआज विदेश गएर समय मात्रै बर्वाद गरेछु भन्ने लाग्छ ।

अहिले बिमला र रमेशका दिन घर, गाईगोठ र तरकारी बारीमा बित्छन् । गोठभरी बाच्छाबाच्छी र गाई, महिनैपिच्छे ५० हजार नाफा कमाई ! रमेशको दिन बित्छ हिजोआज श्रीमती र छोराछोरीसित रमाई रमाई ।


 

सन्जिता देवकोटा

वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउने सन्जिता देवकोटालाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया