कतारबाट फर्किएर पालेको खरायोले उन्नति गरायो

 असार ३, २०७५ आइतबार ११:४७:१८ | राधेश्याम खतिवडा

चितवन – विदेशमा महिनाको ४० हजार कमाउने काम छाडेर नेपाल आएर खरायो पाल्न थाल्दा रवि श्रेष्ठलाई सबैले मुर्ख भने । बिग्रिने मेसो भनेर व्यङ्ग्य गर्नेहरु पनि कम थिएनन् । तर उतिबेला खिसीट्युरी गर्नेहरु नै अहिले आफैसँग सिक्न आउदा उहाँलाई खुसी लाग्छ । 

चितवनको कालिका नगरपालिका – २ पदमपुरका रवि श्रेष्ठ ३ वर्ष कतार बस्नुभयो । स्नातक तह पढ्दा पढ्दै उहाँ विदेश जानुभएको थियो । विदेशिने रहर त थिएन । तर गर्दै गरेको कुखुरापालन व्यवसायलाई व्यवसायिक बनाउन सक्नुभएन । गाउँघरमा कमाउने अर्को कामको मेलो पनि देख्नुभएन । 

त्यसैले कतार पुगेका रवि नेपाल फर्किएर गर्न सकिने काम बारे सोधिखोजी गरिरहनुहुन्थ्यो । ‘युट्युब र सामाजिक सञ्जालहरुमा हेर्थें’ रविले सुनाउनुभयो । युट्युब र सामाजिक सञ्जालमै हो उहाँले खरायो पालन सम्बन्धी कुरा हेर्नुभएको । त्यही कुरा गाउँमा गएर गर्ने सोच बनाएर उहाँ नेपाल फर्किनुभयो । 

डेढ वर्ष भयो उहाँ कतारबाट फर्किएको । पाँच वटा खरायोबाट काम थालेका रविका खोरमा अहिले ४ सय वटा खरायो छन् । अहिले उहाँका दिन यिनै खरायोको स्याहारमा बित्छ । एकातिर खरायोको स्याहार अनि खरायोका बारेमा बुझ्न आउनेलाई जानकारी दिँदा दिँदे बित्छन् रविका दिन । 

व्यस्तता जस्तै रविको कमाई पनि बढ्दै गएको छ । २० वटा खरायो पाल्दा महिनामा ३० हजार कमाउन सकिने बताउने श्रेष्ठ १ लाख रुपैयाँ लागनी गरेमा महिनामा ३० हजार कमाउन विदेश जानु नपर्ने बताउनुहुन्छ । ‘मैले सिक्नका लागि सुरु गरेको थिएँ अहिले यसैबाट महिनाको ५० हजार रुपैयाँ कमाउन कुनै गाह्रो छैन’ रविले भन्नुभयो ।  

खरायोको मासु अहिले एक किलोको ८ सय रुपैयाँमा बिक्री हुन्छ । एउटा वयस्क खरायो एक किलो २ सय ग्रामसम्मको हुन्छ । खरायो वयस्क हुन ४ देखि ५ महिना लाग्छ । एउटा खरायोले वर्षमा ६ पटकसम्म बच्चा जन्माउँछ । एक पटकमा सरदर ५ देखि ८ वटासम्म बच्चा जन्माउँछ ।

जन्मिएका खरायोमध्ये १० प्रतिशत मरे भने पनि १५ वटा पोथी र ५ वटा भाले राख्दा त्यसबाट महिनाको ३० हजार रुपैयाँ भन्दा धेरै कमाउन सकिने उहाँको भनाई छ । समान्यतया पोथी खरायोले भाले लागेको एक महिनामा बच्चा जन्माउँछ ।

खरायोको १५ दिनको एउटा बच्चा आठ सय रुपैयाँसम्ममा बिक्री हुन्छ । वयस्क भएको खरायो प्रतिगोटा १५ सय रुपैयाँमा बिक्छ । व्यावसायिक रुपमा खरायो पाल्नेलाई प्रवद्र्धन गर्न सके खरायोको बच्चा बेचेर पनि आम्दानी गर्न सकिने श्रेष्ठले बताउनुहुन्छ । 

अहिले उहाँले खरायो पाल्न ८ लाख रुपैया भन्दा बढी लगानी गर्नुभएको छ । भविष्यमा यसलाई बढाउने लक्ष्य रहेको बताउँदै उहाँले चितवनमा खारायो पाल्ने गर्ने नमुना कृषकको रुपमा काम गर्ने लक्ष्य लिएको बताउनुभयो । 

सानो ठाउँमा थोरै लगानी गरेर दिनमा एक जनाले बढीमा तीन घण्टा समय दिँदा खरायो पाल्न सकिने अनुभव सुनाउनुहुन्छ उहाँ । खरायो पाल्दा सामान्य आधारभूत जानकारी लिएर व्यावसायिक रुपमा पालन गर्न सकिने बताउदै उहाँले सहज रुपमा घाँस पाइने क्षेत्र भए सजिलो हुने बताउनुभयो ।

उहाँले अहिले खरायोको लागि ५ कठ्ठा जग्गामा घाँस खेती गर्नुभएको छ ।  खरायोको आहाराका लागि गाउँघरमा उपलब्ध हुने ढुटो, पिठो, कनिका चोकर प्रभावकारी हुने उहाँले जानकारी दिनुभयो । 

खरायोको मासु निकै पौष्टिक हुने भएकाले पनि विस्तारै यसको माग बढिरहेको उहाँ बताउनुहुन्छ । खरायोको मासुमा प्रोटिनको मात्रा बाख्रा, कुखुरा र बंगुरको भन्दा बढी हुने र क्यालोरी र कोलेस्ट्रोलको मात्रा अन्यको भन्दा कम हुने भएकाले यसको माग बढी छ ।

बजार राम्रो रहेकाले व्यवसायीक रुपमा खरायो पालन गर्न सके राम्रो हुने बताउदै उहाँले नयाँ काम सुरु गर्न चाहनेलाई सहयोग गर्न आफू तयार रहेको पनि बताउनुभयो । र्‍याबिट  नेपाल भन्ने संस्थाले सहयोग गरिरहेकाले रविलाई बजारको पनि समस्या छैन । 

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया