वैदेशिक रोजगारीबाट आउने पैसाको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च : राष्ट्र बैंक

 असार ३, २०७५ आइतबार १७:१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – वैदेशिक रोजगारीमा गएकाहरुले पठाउने रकममध्ये ठूलो परिमाणको रकम दैनिक प्रयोजन तथा ऋण तिर्नका लागि खर्च हुने गरेको पाइएको छ । 
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको एक अध्ययन अनुसार विप्रेषण आयको २५ दशमलव ३ प्रतिशत ऋण तिर्नका लागि प्रयोग हुने गरेको पाइएको छ भने २३ दशमलव ९ प्रतिशत खाद्यान्न तथा लत्ताकपडा लगायतका दैनिक उपभोग्य वस्तुमा खर्च हुने गरेको हो । 

यस्तै ९ दशमलव ७ प्रतिशत शिक्षा तथा स्वास्थ्यमा, ३ दशमलव ५ प्रतिशत विवाह, व्रतबन्धलगायतका सामाजिक कार्यमा र ३ प्रतिशत घरायसी सम्पत्तिको खरिदमा प्रयोग भएको देखाएको छ । 

विप्रेषण रकमको २८ प्रतिशत भने बचत र १ दशमलव १ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी भएको देखिएको छ । उत्पादनमूलक क्षेत्रमा रकम खर्च नहुँदा विदेशमा कमाएको रकम जताबाट आयो उतै जाने अवस्था देखिएको हो । 
वैदेशिक रोजगारीमा गएका कामदारमध्ये ९० दशमलव ९ प्रतिशतले बैंक तथा वित्तीय संस्थाबाट विप्रेषण पठाउने गरेका छन् । अध्ययन अनुसार ५ दशमलव ९ प्रतिशतले हुण्डीमार्फत र एक प्रतिशतले साथी,आफन्त तथा परिवारमार्फत विप्रेषण पठाउने गरेका छन् । यसबाहेक २ दशमलव २ प्रतिशतले भने औपचारिक तथा अनौपचारिक दुवै माध्यमको उपयोग गर्ने गरेको पाइएको छ । 

विप्रेषणबाट प्राप्त भएको रकममध्ये १८ दशमलव ८ प्रतिशतको घर खर्चको स्रोत विप्रेषण आय मात्र छ । यस्तै ८१ दशमलव २ प्रतिशतले घरायसी खर्चका लागि विप्रेषण आयको अतिरिक्त अन्य घरायसी स्रोतसमेत उपयोग गरेको पाइएको छ । 

विप्रेषणबाट प्राप्त रकम बचत गर्ने घरपरिवारमध्ये ४८ दशमलव ८ प्रतिशतले बचत गर्नुको मुख्य उद्देश्य घरजग्गा खरिद गर्नु रहेको पाइएको छ । 

यस्तै ३६ दशमलव ६ प्रतिशतले बचत गर्नुको उद्देश्य घर मर्मत गर्नु देखिएको छ । यसबाहेक ३४ दशमलव ३ प्रतिशतले बालबालिकाको शिक्षा तथा स्वास्थ्यमा खर्च गरेका छन् । उक्त रकममध्ये १२ दशमलप २ प्रतिशतले दैनिक उपभोग र सामाजिक कार्यमा खर्च गरेका छन् । 

यसैगरी १५ प्रतिशतले ऋण लगानी गरेका छन भने व्यापार व्यवसाय सञ्चालन गर्नेहरु ८ दशमलव ४ प्रतिशत छन् ।  
वैदेशिक रोजगारीमा गएका कामदारले वार्षिक औसतमा ६ पटक विप्रेषण पठाउने गरेका छन् । अध्ययन अनुसार वार्षिक औसत  पाँच लाख ३२ हजार रुपैयाँ घरमा पठाउने गरेको पाइएको छ । 

विप्रेषण पठाउँदाको लागत कूल विप्रेषण आप्रवाहको १ दशमलव ७ प्रतिशतको हाराहारीमा रहेको पाइएको छ । 

गत वैशाख मसान्तसम्म विप्रेषण आप्रवाह सात प्रतिशतले वृद्धि भएको छ । बैंकका अनुसार यो अवधिसम्म छ खर्ब छ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । 

अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह ५ दशमलव २ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आप्रवाहमा भने ० दशमलव १ प्रतिशतले कमी आएर ६ खर्ब ९२ अर्ब २३ करोडमा सीमित भएको छ । 

अघिल्लो वर्षको यही अवधिमा यस्तो आय १० दशमलव ३ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या छ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३ दशमलव ९ प्रतिशतले घटेको थियो । 

सन् १९८० को दशकपछि आर्थिक उदारीकरण तथा विश्वव्यापीकरणको प्रभावले विकासोन्मुख देशबाट विकसित देशहरूमा रोजगारीका लागि जाने श्रम शक्तिमा वृद्धि भएको हो । 
कामदार निर्यात गर्ने मुलुकमा विप्रेषण आप्रवाह पनि उल्लेख्य वृद्धि हुँदै आएको छ । नेपालमा विगत दुई दशक यता वैदेशिक रोजगारीमा जानेको संख्या बढेको हो । 

वैदेशिक रोजगारीमा गएका कामदारले पठाउने विप्रेषण आयमा वृद्धि भएर अहिले विप्रेषण रकम नेपाली घरपरिवारको आम्दानीको एक प्रमुख स्रोतका रूपमा स्थापित भएको छ । 

त्यस्तो रकम उपभोगमा खर्च हुने तर आन्तरिक उत्पादन नबढ्ने अवस्थामा आयात बढ्न गई व्यापार घाटामा समेत चाप परेको छ । त्यस्तो आय लगानीमा परिणत भएमात्रै उत्पादन र रोजगारीमा सकारात्मक प्रभाव पर्ने देखिन्छ तर विप्रेषणबाट प्राप्त हुने रकम अनुत्पादक क्षेत्रमा बढी खर्च हुने गरेको छ । 

वैदेशिक रोजगारीमा ७३ दशमलव १ प्रतिशत कामदार म्यानपावर कम्पनीको माध्यमबाट गएका छन् भने १६ दशमलव ६ प्रतिशत आफन्त तथा साथीका माध्यमबाट विदेश पुगेका छन् । 

यस्तै १० दशमलव ३ प्रतिशत कामदार अन्य माध्यमबाट जाने गरेको देखिन्छ । यसरी रोजगारीमा गएकामध्ये ३३ दशमलव ५ प्रतिशत कामदार अदक्ष रहेका छन् । १३ दशमलव ६ प्रतिशत सुरक्षा गार्ड, २ दशमलव ३ प्रतिशत कृषि मजदूर, १ दशमलव ५ प्रतिशत घरेलु कामदारका रूपमा र बाँकी अन्य पेसा तथा क्षेत्रमा कार्यरत रहेको पाइएको छ । वैदेशिक रोजगारीमा गएकामध्ये ४४ दशमलव १ प्रतिशतको शैक्षिक योग्यता प्रवेशिका परीक्षा समेत उत्तीर्ण नगरेको र २ दशमलव ८ प्रतिशत निरक्षर रहेको पाइएको छ ।
 

तपाईको प्रतिक्रिया