पहिरोबाट विस्थापित परिवारको स्थानान्तरण प्रकृया सुरु

 जेठ २७, २०७५ आइतबार १९:१२:१४ | शिव ढुंगाना

ओखलढुंगा – भूकम्प्पछि गएको पहिरोबाट विस्थापित ओखलढुंगाको मोलुंग गाउँपालिका ४ मा रहेका हर्कपुरका १९ परिवारको स्थानान्तरण प्रकृया सुरु भएको छ ।

साविकको हर्कपुर गाविस वडा नम्बर ९ केराबारीका १९ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विस्थापितलाई घडेरी किन्न अनुदान दिने प्रकृया थालेको हो ।

पहिलरोले विस्थापित १९ परिवारमध्ये १२ परिवारलाई प्राधिकरणमार्फत जग्गा खरिदका लागि प्रति परिवार २ लाख रुपैयाँ रकम उपलब्ध गराएइको छ ।
नेपाल सरकारको आर्थिक सहयोग र दिगो समाधान परियोजनाको सहजिकरणमा हर्कपुरका विस्थापितलाई मोलुङ्ग गाउँपालिका ३ फुयाँल गाउँमा स्थानान्तरण गर्ने तयारी थालिएको दिगो परियोजनाका भोला बस्नेतले बताउनुभयो ।

‘असुरक्षित बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्ने काम सुरु भइसकेको छ’, बस्नेतले भन्नुभयो, ‘सुरक्षित ठाँउमा एकिकृत नमुना बस्ती बसाउने गरी प्रभावितहरुका नाममा जग्गा पास गरिसकिएको छ ।’

नमुना बस्ती बसाउन मोलुङ्ग गाउँपालिका ३ फुयाँल गाउँमा ५ रोपनी जग्गा खरिद गरिएको छ  । २०७२ वैशाखमा गएको भूकम्पपछि बस्तीभन्दा माथिको जमिन धाँजा फाटेर पहिरो झर्न थालेपछि केराबारीको बस्ती विस्थापित भएको थियो ।

केही भूकम्प पीडित आफन्तको जग्गामा पनि  बसिरहेका छन्, भने केही पहिरोमुनिको आफ्नै पुरानो बस्तीमा बसोबास गरिरहेका छन्  । हर्कपुरसहित भूकम्पपछि बस्ती माथिको जमिन चर्किएका कारण जिल्लाका दर्जन भन्दा बढी बस्ती जोखिमा छन् ।त्यहाँका स्थानीय भने जग्गा पाएपछि खुशी भएका छन् । 

विस्थापित स्थान्तरण गरिएको ठाउँमा एकीकृत नमुना बस्ती बसाइने वडा अध्यक्ष रामकुमार कार्कीले बताउनुभभयो । एकीकृत बस्तीमा बस्न नचाहने अरु दुई जनाले पनि नेपाल सरकारबाट जग्गा प्राप्त गरिसकेका छन् ।

बाँकी ५ परिवारमध्ये दुई परिवारले जग्गा प्राप्त गर्ने प्रक्रियामा छन् । अन्य तीन परिवारको भने अभिलेख फरक परेकाले समस्या आएको छ । अन्य जोखिममा परेका स्थानमा रहेका पीडितहरुलाई स्थानान्तरण गर्ने प्रकृया पनि सँगसँगै लगिने प्राधिकरणको जिल्ला आयोजना कार्यन्वयन ईकाईले जनाएको छ । 

जग्गा प्राप्त गर्ने भूकम्प पीडितहरुले १० वर्षसम्म त्यो जग्गा बेचबिखन गर्न पाउने छैनन् । सरकारले सुरक्षित स्थानमा जग्गा व्यवस्था गरेको तीन महिनाभित्र पीडित परिवारले भूकम्प प्रतिरोधि घर बनाई सक्नुपर्ने प्रावधान छ । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया