रसुवाको राम्चेमा भौगर्भिक अध्ययन सुरु

 कात्तिक ३०, २०७५ शुक्रबार १२:५४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – पासाङल्हामु राजमार्गको राम्चे–धुन्चे सडक खण्डमा भौगर्भिक अध्ययन सुरु गरिएको छ । 

पहिरो गएको डेढ दशकपछि जिल्लाको राम्चेमा भौगर्भिक अध्ययन सुरु गरिएको हो । सिँचाई विभाग पहिरो महाशाखा अन्तर्गत जीओसी नेपालले अध्ययन सुरु गरेको भूगर्भविद् अशोक सिग्देलले बताउनुभयो ।

यो ठाउँको भित्री भागको अवस्थाको बारेमा अध्ययन गरिने र इन्जिनियरिङ डिजाइन तयार गरी विभागलाई बुझाइने उहाँको भनाइ छ । यहाँ वर्षात्को समयमा पहिरो गएर सडक अवरुद्घ हुने गरेको छ । २०७१ मंसिरदेखि रसुवागढी नाकाबाट सामग्री आयात सुरु भएपछि यो सडक खण्डमा चासो बढेको हो । 

जिल्लामा भूकम्पअघि र पछि धेरै स्थानमा पहिरो गएर धनजनको क्षति भएकाले जिल्लाको ग्राङ र मुलखर्कसँगै अन्य स्थानमा पनि भौगर्भिक अध्ययनका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो ।

समयमै भौगर्भिक अध्ययन नहुनु र पहिरो नियन्त्रण नभएकै कारण सात वर्ष एसियाली विकास बैंकको सहयोगमा करिब आठ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य समेत रोकिएको थियो । सडक डिभिजन कार्यालयले यस स्थानमा बर्सेनि लाखौं लगानी गर्दै आएको छ । 

जिल्लामा गरिने यस खालका अध्ययनले समयमै सार्थकता पाउने हो भने भौगर्भिक अध्ययन बिना नै गरिने गरिएको कार्यको खर्च बालुवामा पानी राखेझैँ नहुने विज्ञहरू बताउँछन् । 

भूगर्भविद्का अनुसार रोल्पाको फगाम, स्याङ्जाको भन्ज्याङ, कास्कीको सिन्धुल जुरे र रसुवाको राम्चेको पहिरोसहित देशका चार स्थानमा अध्ययन भइरहेको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया