कोलम्बो प्रोसेसको बैठकले साझा घोषणापत्र जारी गर्दै

 कात्तिक ३०, २०७५ शुक्रबार १४:१२:१ | उज्यालो सहकर्मी

काठमाडौं – वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका राष्ट्रहरूको साझा मञ्च कोलम्बो प्रोसेसको छैटौं मन्त्रीस्तरीय बैठक काठमाडौंमा सुरु भएको छ । 

बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तालिका रहेपनि उहाँ उपस्थित नभएपछि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बैठककाे उद्घाटन गर्नुभयो । कार्यक्रमकाे उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले कामदार पठाउने देशबिच साझा धारण हुनुपर्ने बताउनुभयो । 

नेपालले कामदार पठाउने र काम दिने दुवै काम गरेको भन्दै युवालाई दक्ष बनाएर वैदेशिक रोजगारीमा पठाउने कि स्वदेशमै रोजगारी दिने भन्ने फरक धारणा रहेको उहाँले बताउनुभयो ।

लामो समयपछि देशमा राजनीतिक स्थिरता भएको र देशमा नै रोजगारीका अवसर सिर्जना गर्ने केही काम अहिलेको सरकारले सुरु गरिसकेको जानकारी दिनुभयो । 
परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउनुपर्ने बताउनुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले  कामदारको सुरक्षा सदस्य राष्ट्र सबैको साझा चासो भएको धारणा राख्नुभयो । 

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीको विभिन्न प्रक्रियामा कामदार समस्या र शोषणमा पर्ने गरेको भन्दै श्रमिकका यस्ता समस्या समाधानमा सदस्य राष्ट्र एकजुट हुनुपर्ने धारण राख्नुभयो ।  मन्त्री विष्टले कामदारलाई शन्य लागतमा रोजगारीमा पठाउन द्विपक्षीय श्रम सम्झौता गरिने पनि बताउनुभयो । 

मन्त्रीस्तरीय बैठकको अध्यक्षता श्रम मन्त्री गोकर्ण विष्टले गर्नुभएको छ ।  दुई दिने सम्मेलन अन्तर्गत पहिलो दिन बिहीबारको बैठकमा सदस्य राष्ट्रका उच्च अधिकारीहरुले सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीका विषयमा छलफल गरेका थिए । 

बैठकमा अन्तर्राष्ट्रिय आप्रवासन र सम्झौतामा आधारित श्रमका विषयमा सम्बन्धित देशकबीच छलफल हुँदै आएको छ ।

कोलम्बो प्रोेसेसमा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, इन्डोनेशिया, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम गरी १२ देश र ८ पर्यवेक्षक राष्ट्र आवद्ध छन् ।  सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै शुक्रबार सकिँदैछ ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया