ओराही खोलाको एक सय ६० मिटर लामो पुल असारभित्रै बन्ने

 कात्तिक ३०, २०७५ शुक्रबार १४:५६:४३ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालयमा रहेको ओराही खोलाको पुल असारभित्रै बन्ने भएको छ ।

गएको वर्षदेखि आम्बासा नजिक ओराही खोलामा निर्माणाधीन अवस्थामा रहेको पक्की पुल तीव्र गतिमा बन्न थालेपछि स्थानीयवासी तथा पर्यटकहरुले सहज यात्रा गर्न सक्ने भएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्धारा क्षेत्र ओहोरदोहोरका लागि आम्बासा नजिक ओराही खोलामा पुल नबन्दा ठाकुरबाबा नगरपालिका क्षेत्रका स्थानीयवासीसँगै बर्दिया निकुञ्ज अवलोकनमा आउने पर्यटकहरु समस्यामा परेका थिए ।

ओराही खोलामा निर्माणाधीन पक्की पुल निर्माणको काम अहिले धमाधम अगाडि बढिरहेको छ । ठाकुरबाबा नगरपालिका २ को ओराही खोलाको पक्की पुल निर्माण कार्य अगाडि बढेपछि यस क्षेत्रका स्थानीयवासीहरु खुशी भएका छन् ।

सडक डिभिजन कार्यालय नेपालगञ्ज अन्तर्गत सपना गाल्वा जेवी ज्वाइन्ट भेन्चरले २०७४ साउन महिनामा झण्डै १० करोड रकममा पाएको ठेक्का २०७७ साल असार मसान्तभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो । सम्झौता भन्दा एक वर्षअघि नै पुल निर्माणको काम सकिने जनाइएको छ ।

सपना गाल्वा जेवी ज्वाइन्ट भेन्चर मार्फत ठाकुरबाबा नगरपालिका ४ बगनाहाको मेनका निर्माण सेवाका प्रोप्राइटर तिलक लम्सालले २०७४ माघ महिनादेखि पुल निर्माणको काम सुरु गर्नु भएको हो ।

पुल निर्माणको काम सुरु गरेको झण्डै साढे १ वर्षभित्रमा अर्थात २०७६ साल असार मसान्तभित्रै सम्पन्न गर्ने लक्ष्यसहित पुल निर्माणको काम धमाधम अगाडि बढाएको मेनका निर्माण सेवा बगनाहाका प्रोप्राइटर तिलक लम्सालले जानकारी दिनुभयो ।

निर्माणाधीन अवस्थामा रहेको ओराही खोलामा बनेको पुलको काम अहिलेसम्म झण्डै ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको मेनका निर्माण सेवा बगनाहाका प्रोप्राइटर तिलक लम्सालले बताउनुभयो ।

पुलका लागि चाहिने ढुंगा, गिट्टी, बालुवा निकासीका लागि स्थानीय सरकार, बर्दिया निकुञ्जले सहज बनाएमा र नेपाल सरकारले समयमै बजेट विनियोजन गरेमा आउँदो वर्ष असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहेको मेनका निर्माण सेवा बगनाहाका प्रोपाइटर तिलक लम्सालले बताउनुभयो ।

पुल निर्माणको काममा कुनै बाधा अवरोध नआएमा आउँदो वर्ष २०७६ असार मसान्तसम्ममा पुल निर्माणको काम सकिने लम्सालले बताउनु भएको छ । एक सय ६० मिटर लम्बाइ, ११ मिटर चौडाइ रहेको ओराही खोलाको पक्की पुल नेपाल सरकारको १० करोड लागतमा निर्माण कार्य भइरहेको छ । पुलको पाँचवटा मुख्य पिलर मध्ये ४ वटा पिलर बनिसकेको र अर्को पिलरको स्ल्यापको काम पनि सकिसकेको आयोजनाले जनाएको छ ।

यस क्षेत्रकै नमूनाका रुपमा रहेको आम्बासा नजिकको ओराही खोलाको पुल तीव्र गतिमा निर्माण कार्य अगाडि बढेको स्थानीयवासीले पनि बताएका छन् । ओराही खोलामा पुल निर्माणको काम सम्पन्न भएपछि बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्धारा क्षेत्र ओहोरदोहोर गर्ने स्थानीयवासीसँगै पर्यटकहरुलाई पनि निक्कै सहज हुनेछ ।

बर्दिया निकुञ्ज मुख्यालय  जोड्ने ओराही खोलाको पुल बनेपछि ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ६, ७, ८, ९ र मधुवन नगरपालिकाको वडा नम्बर १ टंडुवा, सूर्यपटुवा लगायतका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

पुलबाट ओहोरदोहोर गर्न पाएपछि आकस्मिक बिरामीलाई औषधि उपचारका लागि बाहिर लैजान सहज हुने तथा गाउँ–घरमा उत्पादित कृषिजन्य सामग्रीहरु पनि गाडीमा ओसारपसार गर्न सहज हुनेछ ।

यस्तै बर्दिया निकुञ्ज अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पनि घण्टौँसम्म खोलाको ढिलमा कुरेर बस्ने समस्या हट्नेछ । ओराही खोलाको पुल निर्माणमा ठेकेदार कम्पनीले तीव्रता दिएकोमा उदारणीय काम गरेको भन्दै ठेकेदारको चौतर्फी प्रशंसा भएको छ ।

तोकिएको समयभन्दा अगाडि आम्बासा नजिकको ओराही खोलाको पुल निर्माण हुने भएपछि यस क्षेत्रका स्थानीयवासी र पर्यटन व्यवसायीहरु पनि खुशी भएका छन् । तर ठाकुरबाबा नगरपालिकाको वडा नम्बर २ पेरहनी तथा वडा नम्बर ६ कालिगौडी गाउँ नजिक निर्माणाधीन ओराही खोलाको पुल भने सुस्त गतिमा निर्माण भइरहेकाले स्थानीयवासी चिन्तित बनेका छन् ।

अन्तिम अपडेट: फागुन २८, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया