द्वन्द्व कालमा निर्माण सुरु भएको झोलुंगे पुल अहिलेसम्म पूरा भएन

 कात्तिक ३०, २०७५ शुक्रबार १६:१४:४४ | विमल बिष्ट
unn.prixa.net

डोटी – शिखर नगरपालिका–११, तल्लीसातमा डेढ दशकअघि निर्माण सुरु भएको झोलुंगे पुल अझै सम्पन्न हुन सकेको छैन ।

२०६१ सालमा निर्माण सुरु भएको पुल अहिले अलपत्र छ ।  पुल निर्माण गर्न साविकको जिल्ला विकास समितिले २०६१ सालमा निर्माण व्यवसायी दावा शेर्पासँग ठेक्का सम्झौता गरेको थियोे । तर उहाँले बीचमै काम छाडेपछि पुल निर्माणको काम अलपत्र भएको हो ।

उनीसँगको ठेक्का रद्द भयो । त्यसपछि पुल निर्माणको ठेक्का डोटीका निर्माण व्यवसायी छत्र कठायतले लिनुभयो । तर तोकिएको समयमा काम पूरा भएन । स्थानीयवासी रमेश सिंहका अनुसार पुलको साइडमा जालीको बार राखिएको छैन भने केबल पनि कस्सिएका छैनन् । पुलको केबल र अन्य सामग्री निर्माण स्थलमा अलपत्र छन् ।

निर्माण पूरा नहुँदै यात्रुहरूले पुलबाटै आउजाउ गर्न थालेपछि २०६८ सालमा पुल बांगियो । त्यसपछि पुल बनाउनुपर्ने माग राखेर स्थानीयले आन्दोलन गर्ने चेतावनी दिएपछि पुल सोझ्याइएको अर्का स्थानीयवासी भरत मल्लले बताउनुभयो ।

‘ठेकेदारले आफ्नो काम पूरा गरिसकेको भन्छन् । तर पुल निर्माण पूरा हुन सकेको छैन,’ मल्लले भन्नुभयो, ‘पुलको बाँकी काम कसले गर्ने हो थाहा छैन ।’ ठेकेदारले पुल निर्माण सम्पन्न नगर्न विभिन्न बहानाबाजी गरेको स्थानीयको आरोप छ । पुलका केबलहरू कस्सिएका छन् । यात्रु ओहोरदोहोर गर्दा पुल हल्लिने गरेको स्थानीयवासी बताउँछन् ।

पुलका केबल नकस्सिएकाले बाँगिएको शिखर नगरपालिका–११ का देवबहादुर किमाडी बताउँछन् । ‘पुल निर्माण सुरु हुँदा द्वन्द्व काल थियो, अहिले देशमा गणतन्त्र आइसक्यो, हाम्रो बारपाटा गाउँ विकास समिति नगरपालिकामा परिणत भइसक्यो’, उहाँ भन्नुहुन्छ, ‘१४ वर्षमा धेरै विकास भयो, तर, यो पुल बनेन ।’

पुल निर्माण सम्पन्न गर्न पटक–पटक माग गर्दा पनि सुनुवाइ हुन नसकेको उनको गुनासो छ । यस क्षेत्रबाट चुनाव जितेका नेताले पनि पुल निर्माण पूरा गर्न पहल नगरेको स्थानीय गुनासो पोख्छन् । पुल निर्माणको विषयमा ठेकेदार छत्र कठायतसँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया