सार्वजनिक अपराधको मुद्दा खेपिरहेको थुनुवा भगाउने दुई प्रहरी निलम्बित

 कात्तिक ३०, २०७५ शुक्रबार १६:३४:४५ | हेमराज शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ – पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङले प्रहरी सहायक निरीक्षक र प्रहरी जवानलाई निलम्बन गरेको जनाएको छ ।

प्रदेश प्रहरीले इलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत थुनुवा कमाण्डर प्रहरी सहायक निरीक्षक सुनिलजंग शाह र प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई निलम्बन गरेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभएको छ ।

कार्तिक २५ गते सारर्वजनिक अपराधको मुद्दामा संलग्न थुनुवा बिष्णु बुढाथोकी गुडिरहेको गाडीबाट हाम फालेर भागेपछि प्रदेश प्रहरीले दुवै जना प्रहरीलाई निलम्बन गरेको हो । पदमा रहिरहँदा प्रमाण नष्ट र मुद्दालाई समेत प्रभावित पार्न सक्ने भन्दै प्रहरी साहयक निरीक्षक शाहलाई निलम्बन गरेको प्रवक्ता मल्लले बताउनुभयो ।

यसअघि प्रहरी जवान बुढाथोकीलाई म्याद थप गरेर हिरासतमा राखिएको छ भने शाहको विषयमा थप अनुसन्धान भइरहेको छ । यस्तै त्यस समयमा रहेका अन्य ९ जना प्रहरी जवानमाथि पनि अनुसन्धान हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

थुनुवासँगसँगै बसेका प्रहरी जवान शेरबहादुर बुढाथोकीले लापर्वाही गरेको र अर्का थुनुवा बसन्त बस्नेतले अपराधी भाग्न सघाएको भन्दै दुवै जनालाई सारर्वजनिक न्यायविरुद्धको कसुर सम्बन्धी मुद्दा चलाएको प्रवक्ता मल्लले जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया