सिन्धुलीमा आठ करोड मूल्य बराबरको गाँजा खेती नष्ट

 कात्तिक ३०, २०७५ शुक्रबार २०:१५:५२ | रासस
unn.prixa.net

सिन्धुली – प्रहरीले शुक्रबार २५ बिघामा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।

प्रहरीले मरिण गाउँपालिका–१ को टुँडिखेल, बेदपानी र वडा नम्बर ३ को बरुण भलाइमा लगाइएको गाँजा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाको नेतृत्वमा खटिएको टोलीले शुक्रबारबाट गाँजा खेती नष्ट गर्ने अभियान सुरु गरेको छ ।

अहिलेसम्म वडा नम्बर १ को टुँडिखेल र भलायो बरुणमा लगाइएको चार बिघा तथा वडा नम्बर ३ मा २१ बिघामा लगाइएको गाँजा खेती नष्ट गरिएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो ।

यस क्षेत्रमा ठूलो परिमाणमा लगाइएको १५ बिघाभन्दा बढी क्षेत्रफलको गाँजा खेती शनिबार नष्ट गर्ने र विस्तारै कम परिमाणमा लगाइएको गाँजा खेती नष्ट गर्ने अभियान चलाइएको समेत उहाँले बताउनुभयो ।

सिन्धुलीको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा गरी अन्दाजी ४० बिघाको क्षेत्रफलमा व्यावसायिक गाँजा खेती नष्ट गरेको प्रहरीको अनुमान छ ।

प्रहरी नायव महानिरीक्षक दीपक थापाको विशेष निर्देशनमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियानको सुरुआत गरेको छ । प्रहरीले आठ करोड मूल्य बराबरको गाँजा खेती नष्ट गरेको दाबी गरेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया