यूईएफए नेसन्स लिग : विश्वविजेता फ्रान्स नेदरल्याण्ड्ससँग पराजित, जर्मनी रेलिगेसनमा

 मंसिर १, २०७५ शनिबार ६:५५:० | उज्यालो सहकर्मी
unn.prixa.net

यूईएफए नेसन्स लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा नेदरल्याण्ड्सले विश्वविजेता फ्रान्सलाई हराएको छ । 

नेदरल्याण्ड्सले फ्रान्सलाई २–० ले हरायो । यो जितसँगै डच टिमले विश्व विजेताको १५ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लगाएको छ । यतिमात्र होइन यो जितका कारण जर्मनी ए लिगबाट रेलिगेसनमा परेको छ । 

नेदरल्याण्ड्सको जितमा जर्जिन्हो विनाल्डम र मेम्फिस डिपेले एक–एक गोल गरे । 

खेलको ४४औं मिनेटमा विनाल्डमले गोल गरे । रायन बाबेलको सट फ्रान्सका गोलकिपर ह्युगो लोरिसले बचाएर आएको बललाई विनाल्डमले गोलमा परिणत गरे । 
इन्ज्युरी समयको अन्तिम मिनेटमा नेदरल्याण्ड्सले पेनाल्टी पायो । पेनाल्टीलाई डिपेले गोलमा परिणत गर्दै टिमलाई जित दिलाए । 

जितसँगै नेदरल्याड्सले ६ अंक बनाएको छ भने फ्रान्स ७ अंकसहित शीर्ष स्थानमा छ । जर्मनीको भने तीन खेलबाट एक अंकमात्र छ ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया