यो वर्ष सबैभन्दा बढी कर तिर्ने कम्पनी बन्यो सूर्य नेपाल, व्यक्तिमा सिद्धार्थ राणा

 मंसिर १, २०७५ शनिबार १३:२२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सूर्य नेपाल प्रालिले यस वर्ष सबैभन्दा बढी आयकर तिरेको छ । 

आन्तरिक राजश्व विभागले सातौँ कर दिवसको अवसरमा शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सूर्य नेपाल प्रालिलाई सबैभन्दा बढी कर तिर्ने कम्पनी घोषणा गरेको हो । कार्यक्रममा आर्थिक वर्ष २०७४-७५ मा देशभरबाट कर तिर्ने कम्पनीहरुमध्येमा सबैभन्दा बढी आय कर तिरेको कम्पनी सूर्य नेपालका उपाध्यक्ष रवि केसीलाई सम्मानित गरियो । सूर्य नेपालले २०७२ -७३ मा पनि सबै भन्दा बढी आयकर तिरेको थियो । सूर्य नेपालले आर्थिक वर्ष २०७२ -७३ मा आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्क कर गरी ११ अर्ब २५ करोड ८९ लाख रुपैयाँ कर बुझाएको थियो ।

त्यसैगरी व्यक्तिगततर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा उद्योगी सिद्धार्थ राणा हुनुभएको छ । उहाँलाई पनि कार्यक्रममा सम्मान गरियो । विभागले क्षेत्रगत रुपमा सबैभन्दा बढी आय कर तिर्ने अन्यलाई पनि सम्मान गरेको छ । 

निर्यात उद्योगतर्फ सबैभन्दा धेरै कर तिर्ने डाबर नेपाल, उद्योग तर्फ हिमाल पावर कम्पनी ,कृषि तथा व्यापारमा प्रो बायोटेक प्रालि, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त, बैंक तथा वित्तीय संस्थातर्फ नबिल बैंक, बीमा व्यवसायतर्फ नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्य तथा शिक्षातर्फ नोबेल मेडिकल कलेज, सूचना प्रविधितर्फ एफ वान सफ्ट इन्टरनेशनल, पर्यटनतर्फ तारागाँउ रिजेन्सी होटल, व्यापारमा सिप्रदी ट्रेडिङ सम्मानित भएका छन् ।

त्यसैगरी ४० करोड रुपैयाँसम्म व्यवसाय गर्नेबाट सबैभन्दा बढी आय कर तिर्ने नेपाल इन्भेष्टमेन्ट लिमिटेड र ४० देखि ८० करोड रुपैयाँ कारोबार गर्नेमध्येबाट नेपाल धितोपत्र विनिमय बजार सम्मानित भएका छन् ।

त्यसैगरी पछिल्लो १० वर्षमा मूल्य अभिवृद्धिकर विवरण समायमा पेस गरी कर चुक्ता गर्ने कम्पनीमध्येबाट घोराही सिमेण्ट सम्मानित भएको छ ।

आन्तरिक राजश्व विभागले सबैभन्दा बढी कर तिर्ने विभिन्न क्षेत्रका १५ संस्थालाई तथा व्यक्तिलाई कर दिवसको अवसरमा सम्मान गरेको हो । ‘कर तिर्नुपर्छ’ भन्ने जनचेतना फैलाउने उद्देश्य साथ हरेक वर्ष कर दिवसका दिन विभिन्न क्षेत्रबाट सबै भन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ । 

सम्मानित सबैलाई अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया