राजश्वबाट तलब खाने सबै कर्मचारी कर संकलनको सवालमा इमान्दार हुनुपर्छ: अर्थमन्त्री

 मंसिर १, २०७५ शनिबार १५:२४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सम्मानको हकदार हुने गरी कार्य सम्पादन गर्न कर अधिकृतहरुलाई निर्देशन दिनुभएको छ । 

आन्तरिक राजश्व विभागले सातौं कर दिवसको अवसरमा शनिबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले इमान्दार भएर कार्यसम्पादन गर्न कर अधिकृतहरुलाई निर्देशन दिनुभएको हो ।

करदातासँग सम्मानपूर्वक प्रस्तुत हुनुको साथै न्यून करका लागि उनीहरुसँग मोलाहिज्जा नगर्न पनि उहाँले सचेत गराउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरु सम्मान लिन तयार हुनुहोस् कारवाही भोग्न तयार नहुनुहोस् । त्यो राम्रो हुदैन । यो मेरो अनुरोध पनि हो । राज्यका आँखामा कोही पनि छुट्दैन ।’

उहाँले राजश्वबाट तलब भत्ता खाने सबै कर्मचारी कर संकलनको सवालमा सजग र इमान्दार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले राजश्ववाटै तलबभत्ता सुविधा खाने हो, यहाँ हामीले मोलाहिज्जा गर्यौ भने भोली हाम्रो तलब खाने स्थिति बन्दैन भन्ने कुरा सरकारी राजश्वबाट तलब भत्ता खाने हामी सबैले बुझ्नुपर्छ ।’

उहाँले कारोबार अर्थात् आम्दानीकै आधारमा कर तिर्ने कुराको करदातालाई जानकारी गराउनुको साथै डर धम्कीको भाषा नभई सम्मानपुर्वक व्यवहार गर्न पनि कर्मचारीहरुलाई सुझाउनुभयो ।

कर प्रणालीलाई निजी क्षेत्र लगानी मैत्री बनाउने लक्ष्य अनुसार सरकारले उपभोक्ताको हितलाई प्रतिकूल असर नपर्ने गरि आधारभुत उद्योगहरुको संरक्षण गर्ने किसिमले कर प्रणालीलाई पुर्नसंरचना गरिने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

आन्तरिक पुँजी निर्माण लगायतका लागि पनि सरकारले छनौटपूर्ण ढंगले सीमित समय सम्मका लागि केही आधारभूत उद्योगहरुलाई संरक्षण गर्ने नीति लिएको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा अर्थ सचिव डाक्टर राजन खनालले कर प्रणालीलाई छिटै नै अनलाईन प्रणालीमा लैजाने बताउनुभयो । कर प्रणाली पूर्ण रुपमा अनलाइन प्रविधिमा गएपछि करमा दर्ता हुने प्रक्रिया सजिलो भएपनि कर तिर्ने, कर गणना र नोक्सानीमा पर्दा करप्रणालीबाट बाहिर निस्कने प्रक्रिया जटिल भएको भन्दै करदाताबाट आउने सबै गुनासोहरुको सम्बोधन हुने दाबी उहाँले गर्नुभयो ।

करको विवरण अनलाइनबाट भर्ने व्यवस्था भएपनि कर तिर्न, कर चुक्ता लिन तथा करमा दर्ताका लागि करदाता स्वयम् कार्यालयमा उपस्थित हुनुपर्ने अवस्था छ ।

साथै अनलाइन कर विवरण बुझाउने सम्बन्धमा पनि करदातालाई पर्याप्त जानकारी गराउन नसक्दा विभिन्न किसिमको झन्झट व्यहोर्नु परेको गुनासो करदाताबाट हुँदै आएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया