जाडो छल्न उपल्लो मुस्ताङका विद्यालय पोखरामा !

 मंसिर १, २०७५ शनिबार १७:३९:१ | सन्तोष थापा
unn.prixa.net

पर्वत – हिमालपारिको जिल्ला मुस्ताङमा चिसो बढ्न थालेपछि उपल्लो मुस्ताङका अधिकांश विद्यालयहरु जाडो छल्नकै लागि पोखरातर्फ सरेका छन् ।

तीन हजार आठ सयदेखि चार हजार पाँच सय मिटर उचाइमा रहेका मुस्ताङका लोमाङथाङ गाउँपालिका, लो घेकर दामोदरकुण्ड गाउँपालिका र बाराजुङ मुक्तिक्षेत्र गाउँपालिकामा सञ्चालित अधिकांश विद्यालयहरु पोखरामा घुम्ती विद्यालयका रुपमा सरेका हुन् ।

उपल्लो मुस्ताङ क्षेत्रमा रहेका सामुदायिक, निजी र गुम्बा विद्यालयहरु जाडोको मौसममा पोखरामा सर्ने गरेका लोमाङथाङ गाउँपालिका शिक्षा समन्वय इकाई स्रोत व्यक्ति गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

उपल्लो मुस्ताङबाट सर्ने अधिकांश विद्यालयहरुले पोखरामा घुम्ती कक्षाको रुपमा पढाउने गरेको उहाँले बताउनुभयो । ‘हिमाली भेग भएकाले अत्याधीक चिसो हुँदा यहाँ पढाउन शिक्षकहरु समेत बस्न नसक्ने तथा बालबालिकाहरु समेत विद्यालय जान नसक्ने अवस्था सिर्जना हुने भएकाले उनीहरुलाई प्रायः पोखरामै लगेर पढाउने गरिन्छ’, दिव्यदीप मावि लोमाङथाङका प्रधानध्यापक राम श्रेष्ठले बताउनुभयो ।

नेपाल–चीन सीमा कोरल्ला नाकासँग जोडिएको एकमात्र दिव्यदीप माध्यामिक विद्यालय छोसेर, लोमाङथान गाउँपालिकामा रहेका १० आधारभूत विद्यालय, लोमाङथान गाउँपालिकामै रहेका दुई गुम्बा विद्यालय र दुई निजी विद्यालयले कात्तिक दोस्रो हप्ताबाटै पोखरामै विद्यालय लगेर पठनपाठन गर्न थालेको स्रोत व्यक्ति गोविन्द श्रेष्ठले बताउनुभयो ।

स्रोत व्यक्ति श्रेष्ठका अनुसार लोमाङथान गाउँपालिकालगायत लोघेकर दामोदर कुण्ड गाउँपालिकामा रहेका आठ आधारभूत विद्यालय मध्ये ६ वटा विद्यालय घुम्ती विद्यालयको रुपमा कात्तिक दोस्रो साता पोखरा गइसकेको र दुई वटा विद्यालय घुम्ती कक्षाका लागि जाने तयारीमा रहेको र त्यहाँ रहेका दुईवटा गुम्बा, मध्य मुस्ताङको बारागुङ मुक्तिक्षेत्रका दुई वटा आधारभूत विद्यालय पनि पोखरा सरेका छन् ।

उपल्लो मुस्ताङबाट पोखरा झरेका अधिकांश विद्यालयहरु पोखराको पृथ्वीचोक, लेकसाइड, हेम्जा, लेखनाथ, विरौटालगायतका ठाउँमा घुम्ती विद्यालयको रुपमा सञ्चालित हुन्छन् भने गुम्बा विद्यालयहरुमा अध्ययन गर्नेहरु पोखराकै विभिन्न गुम्बाहरुमा अध्ययन गर्ने गरेको स्रोत व्यक्ति श्रेष्ठले बताउनुभयो ।

उपल्लो मुस्ताङका २६ भन्दा बढी विद्यालयहरु जाडोको समयमा घुम्ती पढाईका लागि बेसी झर्ने तथा अन्य ३० वटा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको मंसिर अन्तिम साता चालु शैक्षिक सत्र अन्त्य गरी बिदा दिने गरिएको छ ।

उपल्लो मुस्ताङवासीले लामो समयदेखि यही प्रक्रिया अनुसार विद्यालय सञ्चालन गर्दै आइरहेका छन् । विद्यालयले पोखरामा घर तथा कोठा भाडामा लिएर विद्यालय सञ्चालन गर्ने गरेको छन् ।

छोसेरको दिव्यदीप माविको भने लेखनाथमा आफ्नै भवन छ । केही दिनअघि घुम्ती विद्यालय अनुगमनका लागि पोखरा पुगेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले दिव्यदीपले आफ्न्े भवनलाई सदुपयोग र व्यवस्थित तबरबाट सञ्चालन गर्न नसकेको पाइएको बताउनुभयो ।

अन्य विद्यालयहरु पनि अनुगमन गरिएको र शैक्षिक गुणस्तर तथा अन्य व्यवस्थापन सन्तोषजनक नै देखिएको प्रजिअ क्षेत्रीले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया